चितवनको मुग्लिन–नारायणगढ सडकखण्ड कालोपत्रेले जोडिएसँगै बुधबारदेखि यस सडकखण्डका यात्रुले हिलो, धूलो र खाल्डाखुल्डीको समस्याबाट मुक्ति पाएका छन्।
३३.२ किलोमिटर सडक भत्काएर नयाँ सडक बनाइएको हो।
२०७४ माघ १३ देखि दिनहुँ बिहान १० देखि ४ बजेसम्म यातायात बन्द गरेर सडक निर्माणलाई तीव्रता दिइएको थियो। सडक कालोपत्रे गरेसँगै बुधबारबाट २४ सै घण्टा यो सडकमा सवारी चल्ने भएको छ।
मुग्लिन–नारायणगढ सडक आयोजनाका ईञ्जिनियर शिव खनालले अब सडक बन्द गरेर काम गर्नुपर्ने अवस्था नरहेको र दिनहुँ ६ घण्टा हुने गरेको सडक बन्द बुधबारदेखि हटाएको बताए।
'२० किमी सडकमा माथिल्लो तहको कालोपत्रे गर्न बाँकी नै छ। तल्लो तह कालोपत्रे गर्ने काम भने सिध्यायौं' ईञ्जिनियर खनालले सेतोपाटीसँग भने, 'तल्लो तहमा ५ इन्च कालोपत्रे गरिएको छ। अब त्यसमाथि छिट्टै डेढ इन्च कालोपत्रे बिछ्याउँछौं।'
पुरानो सडकको भित्ता तासेर तथा छेउ उकासेर फराकिलो बनाइएको छ। अड्मिल्दा र अनावश्यक घुमेका घुम्तीलाई सिधा सडकमा रुपान्तरण गरिएको छ।
घुमेका सडक सिधा बनाउँदा पहिलेभन्दा ३५० मिटर सडकको दूरी घटेको खनालले जानकारी दिए।
'घुमाउँरा पहाड फोडेर सकेसम्म सिधा सडक बनाएका छौं। सडक सिधा बनाउँदा ३५० मिटर दूरी घट्यो' उनले भने, 'पुलले गर्दा पनि सडकको दूरी पहिलेभन्दा कम भयो।'
सडकखण्डका खोल्सीहरूमा १८ वटा पुल निर्माण गर्नुपर्ने भए पनि अहिले ४ वटा मात्रै पुल निर्माणाधीन छ। जलविरे, खानी पुल, मौरी पुल र दासढुंगामा पुल निर्माण भएको हो।
अरु ठाउँमा पुरानै पुलबाट सवारी चलाउनुपर्छ। १४ वटा नयाँ पुल निर्माण गर्नुपर्ने भए पनि ठेक्का नै लगाइएको छैन। पुल निर्माणमा ढिलाइ हुँदा यस्ता असर देखा पर्छन्।
दुई लेनको सडकमा तीव्र गतिमा सवारी गुड्छन्। तर पुल एक लेनको मात्रै छ। यसले गर्दा सवारी जाम हुने समस्या रहने ईञ्जिनियर खनालले बताए।
'१४ वटा पुल बनाउने काम नयाँ ठेक्का हो। यो पुल बनाउन कम्तिमा डेढ वर्ष लाग्छ। डेढ वर्षसम्म फेरि यात्रु सवारी जामको समस्यामा पर्न सक्छन्' खनालले भने।
दुइटा सवारी राम्रोसँग पास हुन नसक्ने पुराना प्रकृतिका पुल छ। पुललाई पनि सडककै स्तर दुई लेनको नबनाएसम्म पुल छेउमा सवारी जाम हुने समस्या रहन सक्छ।
'पुराना जीर्ण पुल ६ मिटरका हुन्। अब बन्ने पुल ११ मिटर चौडा हुन्छ। पुलको डिजाइन गर्ने काम सिध्याएका छौं' खनालले भने।
पुराना पुललाई मर्मत गरी सवारी आउजाउ गर्न मिल्ने बनाइने र बटुवा हिँड्न मिल्ने फुटपाथसमेत रहेको नयाँ पुल निर्माणको योजना रहेको छ। यी पुल निर्माणमा करिब १ अर्ब लागत लाग्नेछ।
तीन तह गरी सडक निर्माण कार्य अघि बढाइएको हो। आव ०७५/०७६ भित्रमा सडक निर्माण कार्यलाई सम्पन्न गरिसक्ने उनले बताए। यो सडक निर्माण १४ महिना अघि नै सकिनुपर्ने थियो।
निर्माण व्यवसायीहरूले भूकम्प, नाकाबन्दी अवधिमा इन्धन अभावजस्ता कारण देखाएर सडक निर्माणको समयावधि लम्ब्याएका थिए। सडक निर्माणमा ढिलाइ भएको भन्दै प्रधानमन्त्रीदेखि मुख्यमन्त्रीले स्थलगत अनुगमन गर्नुपरेको थियो।
लागत कति?
रामराजाप्रसाद सिंह राजमार्ग पनि भनेर चिनिने मुग्लिन–नारायणगढ सडकखण्ड २ अर्ब ९० करोडको बजेट लागतमा निर्माण गरिएको हो। विश्व बैंकको ऋण सहयोगमा सडक निर्माण गरिएको हो। यो सडक निर्माण भएसँगै अब कालीखोलालगायत क्षेत्रमा पहिरो जोखिम तथा तीव्र गतिका कारण हुने दुर्घटनाको जोखिम रहेको छ।