बिहीबार रातिदेखि परेको पानीसँगै आएको पहिरोले बुटवल-पाल्पा सडकखण्ड अवरुद्ध भएको छ।
रूपन्देही र पाल्पाको सीमाक्षेत्रमा रहेको माथिल्लो सिद्धबाबा मन्दिर नजिकै माथिबाट ढुंगा झरेको छ भने मदनपोखरा गाउँपालिका भालेबासमा सडकमाथिबाट पहिरो झरेको छ।
सिद्धबाबामा अहिले ५ बजे र भालेबासमा ४ बजे पहिरो खसेको प्रहरीले जनाएको छ।
गतवर्ष ढुंगे पहिरो नियन्त्रण गर्ने भन्दै रकनेट र रकसेट प्रयोग गरिएको माथिल्लो सिद्धबाबा मन्दिर नजिकै छहरादेखि माथिबाट ठूलो ढुंगा झरेर सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । भालेबासमा भने ढुंगामाटो सहितको पहिरो झरेको छ।
सडक अवरुद्ध भएपछि सिद्धार्थ राजमार्ग हुँदै बुटवलबाट पाल्पा, स्याङजा, पोखरा, गुल्मी, अर्घाखाँचीलगायतका स्थानमा जाने र आउने सवारी साधन बिच बाटोमा रोकिएको पश्चिम क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ।
अहिले पनि लगातार पानी परेका कारण पहिरो हटाउन नसकिएको प्रहरीले जनाएको छ।
जेठ महिना लागेपछि मात्रै दैनिक जसो पहिरो झर्ने र सडक अवरुद्ध हुन थालेपछि बुधबार मात्रै भौतिक पुर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुवीर महासेठ र सडक विभागका महानिर्देशक रविन्द्रनाथ श्रेष्ठ लगायतको टोलीले पहिरो गईरहने क्षेत्रको स्थलगत निरीक्षण गरेका थिए।