सुर्खेतको चिङ्गाड गाउँपालिकामा आइतबार चट्याङ लागेर दुई बालबालिकाको मृत्यु भएको छ।
चिंगाड गाउँपालिका–४ को धारापानी प्राविमा अध्ययनरत दुई बालबालिकाको चट्याङ लागेर मृत्यु भएको हो।
कक्षा कोठामा अध्ययन गरिरहेका बेला बिहान ११ बजेतिर चट्याङ लागेर ७ वर्षीय अम्मरबहादुर चन्द र निर्मला चन्दको मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरू कक्षा दुईमा अध्ययनरत थिए।
त्यस्तै, चट्याङ लागेर ५ जना विद्यार्थी घाइते भएका छन्।
कक्षा १ मा अध्ययनरत ५ वर्षीय निर्मल चन्द र पवित्रा शाही घाइते भएका स्थानीय डोरप्रसाद शर्माले जानकारी दिए। अन्य तीनजनाको नाम खुलेको छैन। उनीहरूको मटेला स्वास्थ्य चौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ।