शनिबार रौतहटबाट अपहरणमा परेका एक बालकको हत्या भएको छ।
रौतहटको कटहरिया नगरपालिका–९ डुमरिया टोल निवासी चिकित्सक दीलिप साहको १२ वर्षीय छोरा शनिदेवल भन्ने युवराज साहको अपहरणकारीले घर भन्दा १५ किलोमिटर टाढा गढीमाई नगरपालिका– ५ स्थित बागमती किनारमा लगेर गोली हानी हत्या गरेका हुन्।
बालकको अपहरण भएदेखिनै प्रहरीले खोजी कार्य तीव्र पारेको थियो तर सोमबार उनको शव भेटिएको छ । अपहरण र हत्या गरेको आरोपमा ईलाका प्रहरी कार्यालय गरुडाले पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कटहरीया–९ डुमरियाका टोल निवासी १९ वर्षीय शक्तिराय यादव, २० वर्षीय प्रविण राय यादव, २० वर्षीय सुनील कुमार यादव र बृन्दावन नगरपालिका आखरपाथरका १८ वर्षीय विनोद कुमार पटेल, र २० वर्षीय रवी कुमार पटेल पक्राउ परेका छन्।
ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक चर्तुभुज ओझाको नेतृत्वको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ परेका अपहरणकारीले बालकको परिवारसँग एक करोड रुपैयाँ फिरौती माग गर्दै आएको र नदिएपछि उनको हत्या गरेको प्रहरी निरीक्षक ओझाले बताएका छन्।