सुर्खेतको वीरेन्द्रनगर छेउमा पर्ने झुप्रा खोलाबाट स्काभेटरद्वारा ढुंगा, बालुवा तथा गिट्टी निकालिएपछि बस्ती जोखिममा परेको छ।
निर्माण कम्पनीका स्काभेटरले उत्खनन् गरेपछि बस्ती जोखिममा पर्नुका साथै छेउतर्फका जंगलसमेत क्षति हुने जोखिम बढेको छ।
नदीजन्य पदार्थ उत्खननको जिम्मा पाएको ठेकेदार कम्पनीले सम्झौताविपरीत खोलामा काम गरेपछि अहिले झुप्राखोला छेउमा बसिरहेको वादी बस्ती जोखिममा परेको छ।
उत्खनन् गरिएको ठाउँको छेउको जंगल समेत भासिने अवस्थामा पुगिसकेको छ। एक्साभेटरले उत्खनन् गरेको ठाउँमा रुखका जरा यत्रतत्र देख्न सकिन्छ।
जिल्ला समन्वय समिति सुर्खेत र ठेकेदार कम्पनी नवराज कन्स्ट्रक्सनबीच खोलाको सतहबाट ७५ सेन्टिमिटरभन्दा गहिरो खन्न नपाइने गरी सम्झौता भएको थियो । तर कम्पनीबाट एक्साभेटरले भने १० मिटरसम्म गहिरो खाल्डो खनेर उत्खनन् गर्यो। यस्तै, बस्तीदेखि ५ सय मिटर टाढामात्र उत्खनन् गर्नुपर्ने सम्झौता ५ मिटर नजिकै ठूलो भ्वाङ पारेको छ।
एक्साभेटरले उत्खनन् गर्दा झुप्राखोलाको माथिल्लो बस्तीको छेउमा करिब १५ मिटर चौडा र ५० मिटर लामो पोखरी बनेको छ। त्यसै किनारमा बस्तीका २० घर छन्।
समन्वय समितिले दुइटा एक्साभेटरले खन्न पाउनेगरी जेठ मसान्तसम्मका लागि अनुमति दिएको थियो । तर, त्यसविपरीत पाँचवटा एक्साभेटरले खोलामा उत्खनन् गरेका थिए।
खोलामा उत्खनन् गर्न गएका एक्साभेटर अहिले भने फर्काएका छन्। जोखिमलाई ध्यान नदिइ उत्खनन् भैरहेको पाइएपछि जिल्ला समन्वय समितिले ठेकेदार कम्पनीलाई भनेर एक्साभेटर फिर्ता गराएको हो। समन्वय समिति र ठेकेदार कम्पनीबीच भ्वाङ पारिएका ठाउँहरूमा पुर्ने समेत सम्झौता भएको छ। जेठ २२ गतेबाट त्यहाँ एक्साभेटर गएका छैनन्। तर, ती भ्वाङहरू भने अझ पनि जस्ताको तस्तै छन्।