अपहरणमा परेका बालकलाई हत्या गरेको खबर फैलिएपछि सोमबार बिहानैबाट पीडितको घरमा छिमेकीहरू भेला भएका थिए। छिमेकी रूदै पीडितको घरमा पुगेका थिए।
आमा बविता साह हत्याको खबर पाउनासाथ बेहोस् भईन्। साँझसम्म उनी घरी घरी होसमा आउने र फेरि बेहोस हुन्थिन्। उनलाई छिमेकी र आफन्तले सान्त्वना दिइरहेका थिए।
‘एक्लो छोरा गुमाउँदाको पीडा सहनै नसक्ने हुन्छ,’ पीडितका आफन्त अस्विनी साहले भनिन्,‘कहिलै नसोचेको घट्ना भयो। अपराध गर्नेलाई हदैसम्मको सजाय दिनुपर्छ।’
युवराज साह स्थानीय बोर्डिङको कक्षा ४ मा अध्ययनरत थिए। घट्ना पछि डुमरिया गाउँ शोकमग्न छ। अहेब दिलिपका युवराज एक्लो छोरा थिए। अपहरण पछि गाउँका अधिकांश मानिस खोजीमा लागेका थिए। हत्या गर्ने समूह मध्ये केही छिमेकी भएकाले सबै आक्रोशित थिए।
पीडितको घरमा जम्मा भएका केहीले स्थानीय वडा अध्यक्ष रामाज्ञा यादवको घरमा ढुंगा प्रहार गरेका थिए। उनलाई हत्यामा संलग्न भएको भन्दै प्रहरीले पक्राउ गरेको छ।
स्थिति नियन्त्रणमा लिन गाउँमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। बालकको शव गौरबाट पोष्टमार्टम गरि घर ल्याउने क्रममा कुनै अप्रिय घट्ना नहोस भन्नका लागि सशस्त्र र नेपाल प्रहरीको बाक्लो उपस्थिति गराईएको हो। चुनावको रिसिबी साध्न घट्ना गराईएको भन्ने पीडितको आरोप छ ।
कसरी भयो घटना
रौतहटको कटहरीया नगरपालिका– ९ बाट शनिबार रातिदेखि हराएका १२ वर्षीय बालक युवराज साह घरमा सुतिरहेको अवस्थामा शनिबार रातिदेखि हराएका थिए।
हराएदेखिनै खोजी गरिरहेको प्रहरीले साहको शव गढीमाइ नगरपालिकाको बागमती नदी किनारमा सोमबार बिहान फेला परेको थियो।
टाउकोमा गोली हानेर हत्या गरिएको अवस्थामा साहको शव फेला परेको प्ररहीले जनाएको छ।
घरमा सुतिरहेको युवराजलाई अपहराणकारीहरुले ओछ्यानबाटै अपहरण गरेको परिवारका सदस्यहरुको अनुमान छ। शनिबार राति खाना खाएर युवराज आफ्नो कोठामा सुत्न गएका थिए। बिहान कोठामा फेला नपरेपछि अपहरणमा परेको हुनसक्ने भन्दै परिवारले प्रहरीलाई खबर गरेको थियो।
घर भन्दा करिब १५ किलोमिटर टाढा गढीमाई नपा ५ को बागमती नदीको किनारमा हत्या गरी शव फालेको भेटिएको हो। अपहरणकारीले अपहरित बालकका बाबु दिलिप साहको मोबाइलमा फोन गरेर एक करोड रूपैया फिरौती माग गरेका थिए।
‘अपहरणकारीले फोन गरेर एक करोड फिरौती रकम मागेको भन्ने जानकारी आएको छ अनुसन्धान गर्दैछौ’ इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक चर्तुभुज ओझाले भने। मृतकका बुवा दिलिप साह अहेव हुन्।
घटनामा संलग्न भएको आशंकामा प्रहरीले ५ जनालाई पक्राउ समेत गरेको छ। वृन्दावन नगरपालिकाका विनोद कुमार पटेल, रवी कुमार पटेल, यस्तै कटहरीया ९ डुमरियाका प्रविण राय यादव, शक्ति राय यादव र सुनिल कुमार यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मनोज यादवले जानकारी दिए।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
***
जिल्लामा तीन दिनको अवधिमा ४ जनाको मृत्यु भएको छ। बालक हत्या अघि गढीमाई नगरपालिका ६ धर्मपुरमा दम्पत्ति टइटराय यादव र उनकी श्रीमती फुलवति देवी यादवले १३ बर्षिया छोरी उर्मिला कुमारी राय यादवको हत्या गरेको स्थानीयले बताएका छन्।
बालिकाको हत्या गरी शवसमेत वेपत्ता पारिएको स्थानीयको भनाई छ। बालिका यादवको शव र फरार दम्पत्तिको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। गरूडाका प्रहरी निरीक्षक चतुर्भुज ओझाले घट्नाको अनुसन्धन भईरहेको जानकारी दिए।
यस्तै माधवनारायाण नगरपालिका १ दिपहीका ३० वर्षीया श्रीमती मरिता यादव र उनका ४ वर्षीय छोरा रामन यादवको शुक्रबार साँझ रहस्यमय तरिकाले मृत्यु भएको छ।
दुबैले बिष सेवन गरि मृत्यु भएको भनिए पनि घट्ना रहस्यमय बनेको प्रहरीको भनाई छ। घट्ना पछि परिवारका सदस्य फरार भएकाले मृत्यु रहस्यमय बनेको हो ।
मृतकका श्रीमान नागेन्द्र यादव वैदेशिक रोजगारीका मलेसिया गएको बेला घट्ना भएको हो। श्रीमानले विदेशबाट पठाएको रकम मरिताले खोजविन गरेपछि देवर र देवरानीले उनीलाई विभिन्न किसिमको यातना दिँदै आएको मृतकका आफन्तले बताएका छन्।
त्यही पीडा सहन नसकेर मरिता आफू र नाबालक छोरालाई विष सेवन गराउन लगाई आत्महत्याको लागि बाध्य पारेको मृतकका भाई जयप्रकाश यादवले बताए।
घट्ना पछि ईलाका प्रहरी गरुडाका प्रहरी निरिक्षक चतर्भुज ओझा सहितको टोली पुगेको थियो। प्रहरी घर पुग्दा मृतकका देवर दिपेन्द्र यादव घरमा थिएनन्। उनी समान किन्न भारतको बैरगनिया बजार गएको उनकी श्रीमतीले प्रहरीलाई जानकारी दिएकी थिइन्।