संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शिक्षा मन्त्रालय/शिक्षा विभागअन्तरगत रहेका उपसचिवलाई प्रमुख प्रशासकीय अधिकृत बनाउने भएको छ।
काजमा रहेका उपसचिवलाई स्थानीय तह (गाउँपालिका र नगरपालिका) को प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर खटाउने तयारी गरिएको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले सेतोपाटीलाई जानकारी दिए।
'शिक्षाका उपसचिवलाई काजमा पठाइदिनू भनेका छौं' प्रवक्ता अधिकारीले भने, 'कति जना आउनुभयो भन्ने तथ्यांक हामीसँग छैन। उहाँहरू सम्पर्कमा आएपछि प्रशासकीय अधिकृतमा खटाउँछौं।'
गाउँपालिका र नगरपालिका गरी ७० ठाउँमा प्रशासकीय अधिकृत खाली छ। जिल्ला शिक्षा कार्यालय खारेज भएपछि त्यहाँका उपसचिवहरू (जिशिअ) काज सरुवा भइ शिक्षा विभाग आएका छन्।
शिक्षा मन्त्रालय अन्तरगत रहेको जिल्लाका कार्यालय खारेज गरी गृह मन्त्रालय अन्तरगत शिक्षा विकास तथा समन्वय इकाइ बनाइएको छ। मन्त्रालयले हालै ७७ इकाइमध्ये ४१ वटामा उपसचिव खटाएको हो भने ३६ इकाइमा अधिकृत खटाएका छन्।
अधिकृत खटिएका जिल्लाबाट काज सरुवा भइ उपसचिव शिक्षा विभाग आएका हुन्। ती उपसचिवहरू अहिले कामविहीन छन्। शिक्षा विभागका प्रवक्ता केशव दाहालका अनुसार अहिलेसम्म १९ उपसचिव विभाग आएका छन्। उनीहरू कामविहीन छन्। विभागमै हाजिर गर्ने व्यवस्था मिलाइएको छ।
विभागमा यसअघि नै २९ जना उपसचिव थिए। शिक्षाको संगठन संरचना स्वीकृत हुने चरणमा छ।