सुरुमा एकछिनसम्म सारंगी बज्थ्यो।
त्यसपछि गीतले भन्थ्यो, ‘सारंगीको तारले मेरो मनको गीत गाउँछ, लेकदेखि बेसीसम्म गाइने मित लाउँछ।’
बीचमा थियो, ‘मेरै स्वरमा मेरै गाउँ र वस्तीको कथा, सुनाइ हिँड्छु लडाइँ र पिरतीको व्यथा।’
र, अन्त्यमा कतैतिर टुंगिने बेलामा भन्थ्यो, ‘नेपालीले नेपालीलाई नचिने झैं गर्छ।’
त्यो ‘नेपालीले नेपालीलाई’ भन्ने अन्तिम वाक्य पछि रेकर्ड गर्ने बेलामा परिवर्तन गरियो र ‘आफ्नै दाजुभाइले मलाई नचिने झैं गर्छ’ बनाइयो।
यसरी २०३२ सालतिर दार्जिलिङबाट आएका कलाकार दाजुभाइले काठमाडौंमा ठूलै हंगामा गरे।
त्यसो त कमलादीमा एकेडेमीको हल २०२६ सालमै तयार भएको थियो। त्यो हलसँग यहाँका बुढापाकादेखि केटाकेटीसम्मलाई जोड्न भने छ वर्ष पर्खनुपर्यो।
हेर्ने मान्छेको मन केले पगाल्छ भन्ने कुरा कहिलेकाहिँ ठम्याउन गाह्रो पर्छ।
त्यही ठम्याउन नसक्दा मुलुककै सबभन्दा ठूलो र आधुनिक नाचघर भइकन पनि प्रज्ञाभवन राम्ररी भरिन सकेको थिएन।
त्यो भवनमा स्टेजदेखि लिएर प्रकाश व्यवस्था हुँदै अर्केष्ट्रा पिट (वाद्यवादक बस्ने मञ्च अगाडिको खाल्डो)सम्म थियो। झन्डै चौध सय दर्शक अटाउने बालकोनीसहितको त्यो भव्य हलमा के सुविधा थिएन? पियानोदेखि बाँसुरीसम्म विदेशबाटै झिकाइएका थिए। दर्शक बस्ने मखमलले मोडिएका कुर्सीसमेत बेलायतबाट ल्याइएको थियो।
त्योताका आउने विशिष्ट भारतीय अतिथिहरूसमेत ‘ओहो तिमीहरूकहाँ कस्तो राम्रो हल’ भनेर चकित खान्थे।
यत्रो सम्पत्ति प्राप्त भयो। दुर्भाग्य के भने, बालकृष्ण समजी आफैं त्यहाँ हुँदाहुँदै पनि कहिल्यै आफ्नो नाटक त्यो मञ्चमा प्रस्तुत गरेनन्। त्यसको कारण मैले आजसम्म पनि थाहा पाएको छैन।
सुरुमा राजा महेन्द्र कुलपति र बालचन्द्र शर्मा उपकुलपति थिए। लगत्तै महेन्द्रले छाडेपछि र शर्माको निधन भएपछि समजी नै उपकुलपति बनाइए। हालीमुहाली नै उनको थियो। तै पनि आफ्नै नाटक देखाएनन्।
२०२६ सालमा जब आठ जना सहप्राज्ञ भर्ना गरियो त्यसमा एकजना म पनि परेँ। त्यो बेला नाट्य क्षेत्रमा कहलिएका विजयबहादुर मल्ल र श्यामदास बैष्णव पनि हाम्रो टोलीमा थिए।
त्यसपछि उनीहरूले नै त्यो हल ‘कन्ट्रोल’ गरे।
उनीहरूका प्रस्तुतीमध्ये ‘कुमारी’ ब्याले ज्यादै प्रसिद्ध भयो। त्यो विजय मल्लको थियो।
त्यतिबेला नर्वेका हेनरिक इब्सेनबाट प्रभावित नाटक पनि त्यहाँ आए। ती सामाजिक विषयवस्तुमै उभिए पनि उच्च वौद्धिक दर्शकनिम्ति केन्द्रित थिए।
‘पत्थरको मान्छे’ जस्तो शिर्षकका नाटक चल्थ्यो। त्यसले बौद्धिक दर्शकलाई प्रभाव परेको थियो। मासमा जनतालाई भने आकर्षित गरेन।
हलको क्षमता त्यति धेरै छ। ब्यालेसम्म त राम्रै चल्थे। नाटक चाहिँ फुस्सा। पहिलो दुई दिन जसोतसो चल्ने। त्यसपछि फाट्टफुट्ट मात्रै मान्छे आउने।
त्यहाँ पालो बस्ने र ओभरटाइम गर्नेलाई तिर्ने पैसा पनि पुग्दैन थियो। उल्टो नोक्सानीमा जाने।
यस्तोमा के देखाउने? कसरी देखाउने?
यसैक्रममा एकेडेमीमा हाम्रो दोश्रो कार्यकाल थपियो। सूर्यविक्रम ज्ञवाली कुलपति भए। म सदस्यसचिव। अर्थात् सारा एकेडेमी चलाउने प्रशासकीय अधिकार मेरो भयो।
एकदिन कुलपति ज्ञवालीजीले मलाई बोलाए।
‘जोशी जी, साराले तारिफ गर्ने यति राम्रो हल छ,’ कुलपतिको भनाइ थियो, ‘तर, यस हलको महत्व बढाउने गरी हामीले केही गर्न सकिरहेका छैनौं।’
इब्सेन शैलीका नाटकको विकल्प के कसो हुन्छ, विचार गर्ने कुरा उनले राखे।
त्यतिबेलै दार्जिलिङस्थित साहित्य सम्मेलनले एउटा नाटक देखाएर उतातिर निकै हल्लीखल्ली मच्चाइरहेको थियो। मनबहादुर मुखियाले लेखेको त्यो ‘अनि देउराली रुन्छ’ नाटकको चर्चा बाछिटाजस्तो यता आइरहेको थियो।
मैले सूर्यविक्रमजीसँग त्यसलाई काठमाडौं ल्याउने प्रस्ताव राखेँ। उनी राजी भए।
त्यसपछि मैले नै लेखापढी गरेर त्यो नाटक यहाँ भित्र्याएँ।
त्योबेला अहिलेको जस्तो सञ्चार विकास भइसकेको थिएन। मान्छेको दार्जिलिङ आवतजावत चलिरहन्थ्यो। त्यही हिसाबले त्यो टोलीलाई बोलाउने काम गरियो।
हामीले साहित्य सम्मेलनसँगै सोझो सम्पर्क गर्यौं।
लगत्तै नाटक प्रस्तुत गर्ने ठूलै टोली काठमाडौं आइपुग्यो। उनीहरूलाई धरहरामा बसोबास व्यवस्था गर्यौं।
त्योबेला धरहरा पनि अहिलेको जस्तो होटलले भरिभराउ थिएन। एकजना ‘धरहरा माइला’ नामका चियापसले थिए। उनैले भर्खर होटलका रुपमा निर्माण गरेको त्यो सिंगै घर बुक गरेर दार्जिलिङबाट आएको टोलीलाई बसोबास र खानपिन व्यवस्था मिलायौं।
त्यो नाटक देखाउन सुरुगरेपछि त अचम्मै भयो।
‘यत्तिका दिनसम्म काठमाडौंका यत्राविधि दर्शक कहाँ हराएका थिए?’ भन्ने जस्तो भान पार्नेगरी मान्छे ओइरिए।
त्योबेला कमलादीको एकेडेमीमा टिकट बेच्न नसकेर समस्या भयो। यत्रो भिडलाई टिकट उपलब्ध गराउने कसरी? तोकिएका मान्छेका हात–हातमा टिकटका मुठा थमाएर बाहिरै बेच्न लगाउनुपर्ने अवस्थासमेत आयो। त्यसले पनि समस्या समाधान भएन।
थामिनसक्नुको भिडले साह्रै दुःख पाएपछि अन्तिममा एउटा उपाय लगाइयो।
त्योबेला भृकुटी मण्डपमा टिकट विक्री गर्न काउन्टर नै बनेको थियो। बकायदा बार लगाएर बनाइएको त्यो संरचना अहिले पनि त्यहाँ देखिन्छ। यसरी व्यवस्थित काउन्टर भएकाले त्यहाँ हुलमुल हुन पाउँदैन थियो।
हामीले एकेडेमीमा देखाउने नाटक ‘अनि देउराली रुन्छ’को टिकट त्यही भृकुटी मण्डपको काउन्टरबाट बेच्न सुरु गर्यौं। त्यहाँ पनि टिकट बेच्दा परैसम्म मान्छेको लाम हुन्थ्यो।
त्यस्तरी चलिदियो त्यो नाटक।
दार्जिलिङका कलाकारले तयार पारेको त्यो नाटकको प्लट हाम्रै गाउँघरको थियो। दुःख पाएर मुग्लान जानेहरू, गाउँका शोषक–सामन्तीहरू र विषमताका बीचमा बाँचिरहेका छोरीबेटीहरूको मन पगाल्ने कथा सरल किसिमले व्यक्त थियो।
त्यतिले नपुगेर त्यो नाटकमा रहेका केही गीत पनि अचम्मै राम्रा थिए। त्यसैमध्येको एउटा थियो, ‘सारंगीको तारले’।
त्यसैगरी छोरीलाई विदाइ गरेर पठाउँदा माइतीको भावना बोकेर पृष्ठभूमिमा बज्ने ‘हे फूल चुँडेर लाने हो, यहाँ माली रोएको देख्यौ कि?’ भन्ने गीत पनि मन पगाल्ने थियो। त्यसमा अरु पनि धेरै राम्रा गीत थिए। समूहमा नाचगानका प्रस्तुती पनि समेटिएको थियो।
यी सब कुराले काठमाडौंका दर्शकको मन पग्लियो।
नाटक त चिताएभन्दा कता हो कता ‘हिट’ भइदियो। सबै खालका दर्शकको मन छोएपछि यस्तो हुँदोरहेछ।
झन्डै दुई सातासम्म त्यो नाटक चल्यो। त्योताका असाध्यै राम्रो नाटक छ भने राजपरिवारका सदस्य पनि हेर्न आउँथे। त्यतिबेला राजारानी आफैं नाटक हेर्न आएपछि असाध्यै प्रभावित भएर एक लाख कम्पनी (भारतीय) रुपैयाँ उपहारै दिए। त्यतिबेला त्यो धेरै ठूलो पैसा थियो।
राजाले दिएको पैसा त छँदै थियो। त्यसबाहेक हामीले पनि उठेको पैसामा खर्च कटाएर बाँकी उनीहरूलाई दियौं। दार्जिलिङका कलाका। खुशीसाथ विदा भए।
त्यसपछि हामीले ‘नाटक चल्छ’ र ‘नाटकले पैसा कमाउँदो रहेछ’ भन्ने ठूलो ज्ञान पायौं।
ज्ञान त पाइयो। तर, नाटक खै?
त्यो ‘अनि देउराली रुन्छ’ फर्किएर जानेबित्तिकै यहाँ सामसुम भयो।
त्यसपछि फेरि कुलपतिजीले मलाई आफ्नो कक्षमा डाके।
‘जोशी जी, यो अनुभवबाट नाटक चल्छ भन्ने जानियो,’ उनले भने, ‘अब तपाईं आफैंले एउटा नाटक लेख्नुपर्यो।’
विजयजीले लेख्ने किसिमका नाटक त छँदैछ। त्यसबाहेक अलि सामाजिक र सम्प्रेषण गर्ने किसिमको केही लेखिनुपर्यो भन्ने कुलपतिजीको जोड थियो।
‘अनि देउराली रुन्छ’ले एउटा ‘प्याटर्न’ प्रस्तुत गरिदियो। त्यो मोडलमा अघि बढ्ने हो भने घर परिवारका नातिनातिनादेखि बाजेबज्यैसम्म नाटक हेर्न आउँछन् भन्ने भयो।
कुलपतिजीले मलाई नाटक लेख्न त भने। तर, म सदस्यसचिव भएको मान्छे प्रशासन चलाउँ कि नाटक लेखेर बसौं?
‘तपाईंले यो सब कुरामा टाउको दुखाउनु पर्दैन,’ सूर्यविक्रमजीले भने, ‘घरैमा बस्नुस् र नाटक लेख्ने काम गर्नुस्।’
घरैमा बसेर नाटक तयार गरेमा काम पनि हुने र एकेडेमीलाई पैसा पनि हुने हिसाबले त्यस्तो सल्लाह थियो।
यसरी मैले पहिलो नाटक लेखेँ– ‘फर्केर हेर्दा’। यो ०३३ सालको कुरा हो।
यो पनि हेर्नुहोस्
कुलपतिजीले घरैमा बसेर लेख्नु भने पनि म त्यसरी के बस्न सक्थेँ? एकेडेमी पनि आइरहेँ–नाटक पनि लेखिरहेँ। त्यसैले अलि समय लाग्यो। जे होस्, केही महिनामै देखाउन मिल्नेगरी नाटक तयार भयो।
नाटक सामाजिक विषयवस्तुमा आधारित थियो। सासूले एउटा युवकलाई घरज्वाइँ राख्न खोज्दाका नतिजा नाटकमा देखाइएको थियो। अर्को कुनै मान्छेले ज्यादै दुःख गरेर हुर्काएको त्यो युवक अर्काको घरज्वाइँ बस्न खोज्दाको प्लट थियो। मानिसले विगत विर्सिए ऊ अगाडि बढ्न सक्दैन भन्ने सन्देश यसले दिन्थ्यो।
यो नाटकलाई पनि त्योबेलाको प्रचलित स्वादअनुसार सांगीतिक हिसाबले तयार पारियो। अम्बर गुरुङले यसका गीत उनको टोली लगाएरै तयार पारे।
यसरी मेरो नाटक ‘फर्केर हेर्दा’ एकेडेमीमा चल्यो।
सुरुमा त के होला–कस्तो होला भन्ने लाग्यो। तर, हेर्दाहेर्दै मेरो नाटक पनि हिट भयो। त्यसले पनि एकेडेमीमा भिड तान्यो। राम्रो पैसा कमायो।
त्योताका एकेडेमीसँग भएको सवारी साधन भनेकै एउटा पिकअप भ्यान थियो। त्यसैले सबै सदस्यलाई घरदेखि एकेडेमी ल्याउने–लैजाने गथ्र्यो।
कुलपति चढ्ने चाहिँ एउटा मोटर थियो। त्यो पनि पूर्व कुलपति केदारमान व्यथितजीले चार वर्ष चढेपछि थोत्रो भइसकेको। जहिले पनि बनाइरहनुपर्ने। सूर्यविक्रमजीलाई हरेक सात दिनमा त्यो मोटर वर्कशप लैजाने सास्ती थियो।
एकदिन दिक्क भएर उनले त्यो मोटरै चढ्न छाडे।
घट्टेकुलोमा डेरा थियो। त्यहाँबाट हिँडेरै आउजाउ गर्न थाले।
त्यतिबेलै बजारमा निकै राम्रो मोडलको एउटा कोरियन कार आयो। हामीले ‘फर्केर हेर्दा’ नाटकबाट कमाएको पैसाबाटै त्यो कोरियन कार किनेर कुलपतिलाई उपहार दिने निधो गर्यौं।
‘यो हाम्रो नाटकको कमाइबाट तपाईंलाई उपहार भयो,’ टोली नै पुगेर साँचो दिँदै भन्यौं, ‘ल चढ्नुस्।’
बुढा मख्ख परे।
यसरी लगालग दुइटा नाटकले उदाहरण पेश गरेपछि अब नाटकबाट एकेडेमीलाई आम्दानी पनि हुने र कलाकार लाई पनि अलिअलि पैसा हुने स्थिति बन्यो।
मेरो नाटक हेर्न आएकै बेलामा राजा वीरेन्द्रले राष्ट्र विकास निम्ति नाटकको पनि महत्वपूर्ण भूमिका हुन्छ भनेर सन्देश दिएका थिए। उनी बेलायतबाट पढेर आएका मान्छे, यस्ता कुराले समाजलाई अघि बढाउन कसरी मद्दत गर्छ भन्ने राम्ररी बुझ्थे।
तर, राजाको सन्देशलाई सबैले त्यही रुपमा लिइदिएनन्।
यो पनि हेर्नुहोस्
त्योबेला उत्तम कुँवरले ‘रुपरेखा’ नामको मासिक पत्रिका निकाल्थे। त्यो पत्रिकामा उनले राजालाई व्यंग्य गर्दै ‘यो कसरी सम्भव छ?’ भनेर प्रश्न उठाए।
‘काठमाडौंमा त एकेडेमीको आफ्नो मञ्च छ र नाटक गर्यो,’ उनको सोधाइ थियो, ‘अन्त कतै मञ्च नै नभएको अवस्थामा कसरी नाटक देखाएर विकास हुन्छ भनिएको हो?’
पाँच–छवटा बुँदा राखेरै कुँवरले ‘यो सम्भव छैन र यदि छ भने सरकारबाट जानकारी पाउँ’ भनेर लेखिएको आलेख दरबारमै पठाएछन्।
त्यसपछि दरबारका सचिव नारायणप्रसादले मलाई भेटेर ‘कुँवरले यस्तो कुरा लेखेर पठाए’ भनेर सुनाए।
मैले त्यतिबेला नाटक र सभागृहबारे आफूले जानेसम्मको उत्तर दिएँ। ‘एकेडेमीको सभागृह त भर्खरको कुरा हो। हाम्रो इतिहास त डबलीको छ, खप्याखँको छ। त्यसैले सभागृह नहुँदैमा अन्त नाटक मञ्चन हुन सक्दैन भन्ने कुराको अर्थ छैन।’
यी परम्परागत नाट्य केन्द्रका बारेमा मैले यो श्रृंखलाको अघिल्लो भागमै विस्तारमा लेखिसकेको छु।
हामी प्रकृतिले जे दिएको छ त्यसैमा रमाएर अघि बढेको समाज हौं। हामीलाई त प्रकाश व्यवस्था नै आवश्यक थिएन। यी सब धेरै पछि आएका कुरा हुन्। हिजोआज बत्ती आए पनि कात्तिक नाचका बेलामा छेउमा तेलबत्ती बालेरै प्रदर्शन हुन्छ।
मैले त्यति भनेर पठाएपछि दरबारबाट त्यही जवाफ उत्तम कुँवरलाई बाह्रवटा बुँदा राखेर दिइएको थियो।
पछि सडक नाटक आयो। त्यसले पनि मेरो कुरालाई पुष्टि गरिदियो।
यही तर्क पुष्टि गर्नेगरी त उतिबेलै पनि मेरो यही नाटक देखाइएको थियो। यो पनि २०३३ सालकै कुरा हो।
त्यतिबेला राजा वीरेन्द्रको सवारी क्याम्प धनकुटा पुगेको थियो।
यो पनि हेर्नुहोस्
‘फर्केर हेर्दा’ काठमाडौंमा असाध्यै चलेपछि त्यो नाटक धनकुटामा देखाउने प्रस्ताव आयो।
धनकुटामा मसहित लैनसिंह बाङ्देल, चुडानाथ भट्टरायहुँदै विजय मल्लसम्म पुगेर सम्पूर्ण बन्दोबस्त मिलायौं। यहाँजस्तै मञ्च तयार पार्ने भनेर सारा मालसामान बोकाएर धनकुटा लग्यौं।
त्यहाँ पुगेपछि थाहा भयो, स्टेज बनाउने ठाउँ नै छैन। आपत आइलाग्यो।
फेरि एकपटक कुँवरलाई राजाले दिएको जवाफ सम्झियौं। नाटक त जहाँ पनि देखाउन सकिन्छ भनिएको थियो। यस्तो अवस्थामा स्टेज नै किन चाहियो?
स्टेज नबनाएर प्राकृतिक सेटिङमै देखाउने कुरा भयो। एउटा त्यहीँको घरलाई मञ्चका रुपमा प्रयोग गर्ने टुंगो लगायौं। यसरी प्राकृतिक परिवेशमै मञ्च तयार भयो।
छेउको एउटा घरलाई नै मञ्च बनाउँदा धनकुटाको टुँडिखेलभरी अटाउने हजारौं मान्छेले पनि हेर्न पाउने भए। माइक चाहिँ प्रयोग गरियो।
यसरी बिना मञ्च नाटक देखाउँदा विजय र बाङ्देल पनि प्रभावित भए।
यो ठूलै चर्चाको विषय बन्यो। धेरै लेख–रचना आए। मसँग अहिले पनि त्यसको संकलन छ।
यो पनि पढ्नुहोस्:
एउटा लोक नाटक यसरी प्राकृतिक परिवेशमै प्रस्तुत भएको कुरालाई विस्तारमा व्याख्या गर्दै मोहनहिमांशु थापाले गोरखापत्रमा लेखे। चूडानाथ भट्टरायले आफ्नो लेखमा यसलाई ‘एउटा नयाँ प्रयोग’ भन्दै प्रशंसा गरे। त्यो नाटकलाई संगीतका हिसाबले कसरी उभ्याइयो भनेर अम्बर गुरुङले लेखे। नाटकमा प्रस्तुत नृत्यको पनि चर्चा गरेर बेग्लै लेख आएको थियो।
‘फर्केर हेर्दा’ नाटकको मुख्य भूमिकामा उतिबेलाकी चर्चित दोहोरी गायिका यदुकुमारी थिइन्। अभिनयमा भने उनले पारा ल्याइनन्। त्यो अवस्थामा तुलसी दिवसले धरानतिरकी एकजना सिपालु अभिनेतृ ल्याइदिए।
उनी थिइन्, शान्ति मास्के। पछि शान्ति मास्के नेपालकै नामी कलाकार भइन्। सिनेमा खेलिन्। नेपाली कला क्षेत्रमा चरित्र अभिनेतृका हिसाबले सर्वाधिक चिनिने मध्येकी शान्तिको अभिनय प्रारम्भिक समयमा यसरी मेरो नाटकबाट भएको थियो।
उनी मेरो नाटकमा मुख्यपात्रकी आमाको भूमिकामा थिइन्। हरिहर शर्मा हिरोका बाबु। शकुन्तला गुरुङ नायिका थिइन्। त्यही नाटकबाट नजिकिएका हरिहर र शकुन्तलाले पछि बिहे नै गरे। त्यसका नायक हरिबहादुर थापा थिए।
यसरी ‘फर्केर हेर्दा’को सफलता पछि नाटकलाई अझ अघि बढाउन मैले एकेडेमीमा ‘नाटक महोत्सव’को प्रस्ताव ल्याएँ।
हरेक मुलुकमा नयाँ वर्ष पारेर कुनै न कुनै सिर्जनात्मक काम हुन्थ्यो। सबैले आफ्ना परम्परा अनुसार केही न केही गर्थे।
हामीकहाँ भने केही थिएन।
यो पनि हेर्नुहोस्:
त्यसैले नयाँ वर्षका दिन नाटक महोत्सव चलाऔं भनेर मैले प्रस्ताव गरेँ।
त्यस्तो महोत्सवमा उपत्यका भित्रका मात्र नभई बाहिरका सर्जकलाई पनि निम्त्याउने कुरा अघि बढाएँ। यसका लागि ज–जसले जे–जस्ता सिर्जना लिएर आए पनि एकेडेमीमै आवश्यक परिमार्जन गरिदिन सकिन्थ्यो।
बाहिरबाट आउनेलाई आतेजाते खर्चबाहेक उनीहरूको नाटक जति दिन चल्छ त्यही हिसाबले पैसा दिने पनि बन्दोबस्त मिलाएँ।
मेरो प्रस्तावमा छलफल चल्यो। सबै सहमत भएपछि पास भयो। यसरी नाटक महोत्सव परम्परा सुरु भयो। यो पनि २०३३ सालताकाकै कुरा हो।
यो परम्पराले काठमाडौं बाहिरका थुप्रै कलाकारलाई एकेडेमीको भव्य मञ्च उपलब्ध गरायो। ‘सर्वनाम’का अशेष मल्लले त्यतिबेलै धनकुटादेखि नाटक ल्याएको म अहिले पनि सम्झन्छु।
‘तुवाँलोले ढाकेको बस्ती’ नामको त्यो नाटक असाध्यै राम्रो थियो र निकै चल्यो पनि। त्यतिबेला उनीहरू भर्खरकै थिए। यस्ता सिर्जना गर्ने मान्छे अन्तबाट पनि धेरै आए।
यसरी त्यो नाटक महोत्सवले परम्परा रुप लियो–राष्ट्रिय दिवसको महत्वका रुपमा।
त्यो परम्परा पछिसम्म पनि चलेको थियो।
र, यो पनि:
त्यसैगरी गाइजात्रा अवसरमा एकेडेमीमा हास्यव्यंग्य सिर्जनाहरू प्रस्तुत गर्ने काम पनि मेरै प्रयासमा सुरु भएको हो।
एकेडेमीमा रहँदै ‘फर्केर हेर्दा’ बाहेक ‘सपना ब्यूँझन्छ’ र ‘जब घाम लाग्छ’ जस्ता मेरा अन्य नाटक क्रमैसँग चले। यी तीनवटै नाटक प्रत्येकमा चार चारवटाका हिसाबले बाह्रवटा गीत अटाएका थिए। ती बाह्रवटै गीतमा मेरो शब्द थियो भने संगीत अम्बर गुरुङको। यी तीनवटैको निर्देशन प्रचण्ड मल्लले गरेका थिए।
यति सबै गर्दागर्दै एकेडेमीमा मेरो अवधि सकियो। तेश्रो कार्यकाल निम्ति नियुक्तीमा परिनँ। म फेरि चीन गएँ।
यसअघि चीनबाट फर्केपछि नै २०२६ सालमा म प्राज्ञ बनाइएको थिएँ। एकेडेमीबाट विदा भएपछि फेरि मेरा निम्ति चीनको ढोका खुल्यो। मैले नै सुरु गरेको यो काम निरन्तरता दिने मान्छे चीनलाई सदैव चाहिन्थ्यो।
काम उही थियो। बेइजिङका रेडियोकर्मीलाई नेपाली भाषा सिकाउने। भाषा त सिकाइ सकिएको थियो। पछिल्लो भ्रमणको उद्देश्य चाहिँ त्यसैलाई परिमार्जनसहित सिकाउने।
यसरी चीन पुगेपछि म बेग्लै खोजीको काममा पनि लागिरहेँ। त्यहाँ बसेकै बेलामा अरनिको सम्बन्धि शोधकार्य गरेँ। किताबै तयार पारेँ।
राजा वीरेन्द्रले २०४४ सालमा चीनको औपचारिक भ्रमण गर्दा त्यही पुस्तक आफूसँग लिएर गएका थिए। अरनिकोबारे लेखिएको मेरो पुस्तक राजाले उक्त भ्रमणमा राष्ट्रपति ली सियन नियनलाई उपहारस्वरुप प्रदान गरे।
यता नाटक क्षेत्रमा भने लामो अन्तराल बित्यो।
उता एकेडेमीमा पनि नाटक एउटा अस्ताइसकेको घामजस्तै भइसकेको थियो। पूरै सामसुम। अन्त पनि नाटकको चर्चा थिएन। यस्तो बेलामा नाट्यकर्मी सुनिल पोखरेलले ‘गुरुकुल’ स्थापना गरे। उनीहरूले नै नाटक परम्परा फेरि अघि बढाए।
त्यसैक्रममा सुनिलले मेरो दुइटा नाटक त्यहाँ देखाए। एउटा ‘बाघभैरव’। त्यो पूर्णांकी नाटक थियो। लामो समयसम्म त्यो नाटक मञ्चित भयो।
मलाई त्यसका कलाकारहरूले भेटघाटका बेलामा ‘तपाईंको नाटक गर्दा मुनाफा कमाएका छौं’ भनेर सुनाएका थिए। यसरी ‘बाघभैरव’ चलेपछि फेरि अर्को नेवारी नाटक ‘ध्वँचोलेचा’ देखाइयो। यो नेवारी लोककथामा आधारित थियो। नेपालीमा ‘बुद्धिमती बाख्री’ अर्थ लाग्ने त्यो नाटक पनि गुरुकुलमा चल्यो।
यसरी केही गर्ने कोशिश गरिरहँदै आरोहणलाई त्यहाँको जग्गाधनीले हटाइदिए। उनीहरूको उठिवास भयो। त्यहाँका कलाकार विचल्लीमा परे।
पछि त्यहीँ तालिम पाएका कलाकार को एउटा समूहले ‘मण्डला थिएटर’ भनेर अनामनगरमा काम सुरु गरे। उनीहरूले आफ्नै किसिमको सानो नाचघर पनि बनाए।
त्यसैगरी अर्को समूहले ‘शिल्पी थिएटर’ भनेर बत्तीसपुतलीमा बेग्लै नाचघर तयार पारे।
मण्डलामा राजन खतिवडाको नेतृत्व थियो भने शिल्पीमा घिमिरे युवराजको।
यीबाहेक अर्का एकजना विमल सुवेदीले राजदरवारको पछिल्तिर ‘थिएटर भिलेज’ भनेर अर्को संस्था उभ्याए। विमल पनि दिल्लीको प्रसिद्ध ‘नेशनल स्कुल अफ ड्रामा’का उत्पादन हुन्।
नयाँ पुस्ताका यी तीनैजनाले फेरि मेरा नाटक देखाउने इच्छा राखे। त्यसैक्रममा युवराजले शिल्पीमा ‘मजिपा लाखे’को छनौट गरे। इन्द्रजात्राको दिन आउने लाखेलाई पात्रका रुपमा राखेर लोककथामा आधारित नाटक थियो त्यो।
त्यो नाटकलाई उनीहरूले नेपाल मात्र नभई कोलकातामा पनि लगेर देखाए। त्यहाँ आयोजित ‘मालिन्दी व्रत्याजन अन्तर्राष्ट्रिय नाटक महोत्सव’मा यसलाई प्रस्तुत गरियो।
यता राजनले मेरै अर्को कृति नाटकमा उतारे। उतिबेलै कर्णाली सभ्यताको खोजी गर्दै जुम्ला पुग्दा लोककथामा आधारित ‘सुनकेशरी मैयाँको कथा’ लेखेको थिएँ। मण्डला थिएटरले त्यो ‘सुनकेशरी’ नाटक पनि काठमाडौंमा मात्र नभएर बंगलादेशमा आयोजित एक अन्तर्राष्ट्रिय नाटक महोत्सवमा समेत देखायो।
त्यसैगरी अर्को नाटक सम्राट अशोककी छोरी चारुमतिको नेपाल आगमनका सन्दर्भमा थियो। त्यसलाई थिएटर भिलेजमा विमलले तयार पारेर देखाए। त्यो नाटक तत्कालीन राष्ट्रपति रामवरण यादवले पनि हेरेका थिए।
यसरी पछिल्लो समय नयाँ पुस्ताका नाटककारहरूले मेरा तीनवटा नाटक झन्डै एकसाथ देखाएका छन्। एकैजना नाटककारको तीन फरक नाटकलाई तीन फरक संस्थाले यसरी लगातार देखाएर ‘ह्याट्रिक’ गरिदिए।
बुढानिलकण्ठमा पढ्ने विद्यार्थीले आन्तरिक प्रदर्शनका हिसाबले मेरै अर्को नाटक ‘मृत्यु एक प्रश्न’ पनि देखाए। यो अलि आध्यात्मिक किसिमको छ।
नेपाल भाषा एकेडेमीको चान्सलरका हैसियतमा रहँदा यहाँ पनि दुइटा नाटक प्रस्तुत भएका छन्। एउटा ‘लाखे कोठैगु’ (राक्षसलाई परास्त गर्ने), अर्को ‘बाघ भैरव’ कै नेवारी संस्करण।
नाटक क्षेत्रमा यसरी लामो समयदेखि अघि बढ्दै जाँदा केही महिनाअघिको घटनाले भने मलाई नराम्ररी बिथोलिदियो।
साँस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले मेरो एउटा पूर्णांकी नाटक देखाउने योजना बनाए। ‘महर्षि याज्ञवल्क्य’ को कथामा आधारित त्यो नाटक मैले अलि पहिले नै लेखेर राखेको थिएँ। त्यसलाई खारिएका पुराना निर्देशक बद्री अधिकारीले पाँच–छ महिना लगाएर तयार पारे।
पुस १८ गतेबाट यसलाई नाचघरमा देखाउन सुरु गरियो।
त्यसको मूलपात्र राजा जनकको भूमिका थियो। नाटक सुरु भएको दोश्रो दिन पनि दृश्यमा ब्रम्हसभा चलिरहेको थियो। त्यस सभामा राजा जनकले महर्षि याज्ञवल्क्यलाई सुनको पाताले सिंग सिँगारिएका हजारवटा गाई पुरस्कार दिँदै थिए। त्योबेला याज्ञवल्क्यलाई जनकले सर्वश्रेष्ठ ब्रम्हज्ञानी, ब्रम्हनिष्ठ तथा ब्रम्हबेत्ता ठहर गर्नुपर्ने थियो।
राजा जनक अर्थात् मुख्य भुमिकामा रहेका विष्णुभक्त फुयाँल उत्तिकै कुशलताका साथ अभिनय गरिरहेका थिए। उनी २०१९ सालदेखि रंगमञ्चको अनुभव बोकेका माझिएका कलाकार थिए।
अचानक नाटकमा लेखिएको भन्दा बेग्लै दृश्य त्यहाँ मञ्चित भयो। राजा जनक हेर्दाहेर्दै सह–अभिनेताको काँधमा ढले। फुँयालको शरीर चलमलाउन छाडेको आभाष भएपछि नाटक रोकेर दौडादौड उनलाई अस्पताल लगियो। त्यहीँ डाक्टरले उनलाई मृत घोषित गरे।
धेरैजसो कलाकर्मीको रहर अभिनय गर्दागर्दै मृत्युवरण गर्ने हुन्छ। यो कस्तो संयोग!
अघिल्लो दिनमात्र नाटकको पहिलो प्रदर्शनक्रममा फुँयालजीले मलाई जीवनमुक्तिको कामना सुनाएका थिए। भोलिपल्टै उनको रंगमञ्चमै प्राण गयो।
आजीवन अभिनयमै आफूलाई उत्सर्ग गरेका उनले मञ्चमै प्रस्तुत हुँदाहुँदै देह त्यागे। इच्छ्याएको हिसाबले नै जीवनबाट मुक्ति पाए।
यस्तो घटना विरलै होला!
मञ्चमै त्यो घटना घटेपछि त्यो नाटक फेरि दोहोर्याएर आजसम्म देखाइएको छैन। फुयाँलको निधनकै क्षणदेखि मेरो नाटक पनि आजसम्म रोकिएकै छ।
२००८ सालमा घरछेउमै कृषक परिवारका केटाकेटीलाई पढाउन ‘श्रीशान्ति विद्याश्रम’ खोल्नेबेला मेरो नाट्ययात्रा सुरु भएको थियो। मास्टर हेमलाल जोशी लिखित ‘खड्गसिद्धि’ नाटकमा मैले मूख्य पात्र अर्थात् जयप्रकाश मल्लको भूमिका निभाएको थिएँ। त्यहाँबाट सुरु भएको नेपाली नाटकसँगको मेरो यात्रा थुप्रै आरोह–अवरोहबीच आजसम्म जारी छ।