लगनखेलस्थित लिच्छविकालीन बटुक भैरव मन्दिरको पर्खाल भत्काउन गत बिहीबार डोजर चलाइयो। काठमाडौं उपत्यका विकास प्राधिकरण मन्दिर क्षेत्र मिचेर सडक विस्तार गर्दैछ। सम्पदा मास्न खोजेको भन्दै स्थानीय एवं अभियन्ता विरोधमा छन्।
सरकारले उपेक्षा गरेको, तर स्थानीयले जोगाउन खोजेको यो मन्दिरको महत्व के हो? के मन्दिर क्षेत्र मासेर सडक फराक पार्दा काठमाडौं सभ्यता जोगिन्छ?
नेवार सभ्यतासँग जोडिएको यो मन्दिर बटुक भैरव भनेर चिनिए पनि वास्तविक नाम ‘मतिक्व भैलः’ हो।
बटुक भैरव क्षेत्र विकास समितिका अध्यक्ष विनोद रञ्जितकारका अनुसार नेवारी भाषामा बटुक भनेको सानो हो। यहाँको मूर्ति सानो छ। बुझ्न सजिलो होस् भनेर बटुक भैरव भनिएको हुन सक्छ। पुरानो नामभन्दा सहज भएकाले जनजिब्रोमा यही बस्यो।
मन्दिरको नामसँग बटुक कसरी जोडियो भन्ने प्रस्ट जानकारी रञ्जितकारलाई छैन। वास्तविक नाम ‘मतिक्व भैलः’ सँग भने किम्बदन्ती जोडिएको छ।
नेवारी भाषामा माटोको थुप्रोलाई ‘मतिक्व’ भनिन्छ। कुनै समय हरिसिद्धिदेखि माटो बग्दै लगनखेल आइपुग्ने रहेछ। बगेर आएको माटोको थुप्रो जम्मा हुने यो ठाउँलाई मतिक्व भन्न थालिएछ।
‘त्यही थुप्रोमा भैरव विराजमान भएकाले ‘मतिक्व भैलः’ भनिएको हो,’ रञ्जितकारले भने।
काठमाडौंको साँस्कृतिक सभ्यतासँग यो मन्दिरको सम्बन्ध रहेको उनी बताउँछन्।
मच्छिन्द्रनाथ जात्रासँग यसको प्रत्यक्ष सम्बन्ध छ। मछिन्द्रनाथ जात्रा सुरुआत र समापनमा तान्त्रिक विधिबाट गरिने विशेष पूजा यही मन्दिरमा हुन्छ। त्यसैले यो मन्दिर जात्रा जत्तिकै पुरानो भएको रञ्जितकार बताउँछन्।
‘अहिले मन्दिरमा भैरव विराजमान भए पनि पहिले मीननाथ देवता हुनुहुन्थ्यो भन्ने जनविश्वास छ,’ उनले भने, ‘मीननाथ भँगेरा भएर उडेपछि मतिक्व भैरव विराजमान भएको मानिन्छ।’
त्यही भएर मच्छिन्द्रनाथ जात्रामा मीननाथ देवताको पनि सानो रथ यात्रा हुन्छ।
जात्रा सकिएको सन्देश स्वर्गलोकका इन्द्र र पाताललोकका नाग देउतालाई पठाइन्छ। यसपालि बौद्ध तान्त्रिक विधिअनुसार जेठ १९ गते साइत जुरेको थियो। त्यस दिन एकजोडी भँगेरा उडाएर इन्द्र देउतालाई सन्देश पठाइयो। नागदेउताकहाँ सन्देश बटुक भैरव अगाडिको सप्तपाताल पोखरीमा एक जोडी हिले माछा छाड्ने चलन थियो। अहिले सप्तपातालको नामनिसान छैन। स्थानीयले फोहोरको डंगुरबीच सानो खाल्डो खनेर पानी भरे र त्यसैमा माछा छाडे।
कुनै बेला अशोक स्तुपसँगै जोडिएको १४ रोपनीभन्दा ठूलो पोखरी चारैतिरबाट मिचेर डेढ–दुई रोपनी बचेको छ। त्यही पनि टोलभरिको फोहोर फाल्ने ‘डम्पिङ साइट’ बनेको छ। यसलाई ब्युँताउन स्थानीय लागिपरेको दस वर्ष नाघिसक्यो। स्थानीय लगनखेलवासी र नमूना मच्छिन्द्र माध्यमिक विद्यालयबीच जग्गाको स्वामित्वलाई लिएर मुद्दा चल्दै आएको छ।
यो पनि हेर्नुहोस् :
‘हामीले हेर्दाहेर्दै पोखरी मासियो, त्यसलाई ब्युँताउने प्रयास हुँदैछ,’ रञ्जितकारले भने, ‘अब बटुक भैरवको जग्गा पनि सडक विस्तारका नाममा मिच्न खोजिँदैछ। हामी अब कुनै सम्पदा मास्न दिँदैनौं।’
बटुक भैरव मन्दिरसँग अर्को किम्बदन्ती पनि जोडिएको छ।
यहाँको भैरवले काठमाडौंका महांकाल, संकटा र पशुपति गरी दिनमा तीन रूप लिने मान्यता छ। यही विशेषताका कारण काठमाडौंका मारवाडी समुदाय पनि मन्दिरमा पूजा गर्न आउँछन्। व्यापारका देवता मानिने भैरवको शनिबार मारवाडी समुदायले विशेष पूजा गर्ने स्थानीय मनोज अवालेले जानकारी दिए।
‘आइतबार यहाँ भजन हुन्छ। भक्तजनको भिड हुन्छ,’ उनले भने, ‘दसैंमा त महिनौंसम्म भजन चल्छ,’ उनले भने।
बाह्र पीठमध्ये एक मानिने बटुक भैरवको सम्बन्ध बुङमतीका साथै ललितपुरका अन्य विभिन्न मन्दिरसँग जोडिएको छ।
अवालेका अनुसार सबभन्दा लामो साँस्कृतिक यात्रा ‘दिपंखा’ पनि यही मन्दिरमा समापन हुन्छ। यो यात्रा पाटनको नागबहालबाट सुरु भई हरिसिद्धि, बुङमती लगायत ठाउँका विभिन्न मन्दिर परिक्रमा गर्दै मतिक्व भैरवमा पुगेर सकिन्छ।
दिपंखा यात्रामा एक पाइला हिँड्दा एक तोला सुन दान गरे बराबर पूण्य पाइने विश्वास छ। हजारौं मान्छे सहभागी हुन्छन्। असोज शुक्ल पूर्णिमा, रेवती नक्षत्र, हर्षण योग, आइतबार वा सोमबार र संक्रान्ति लगायत ५ योग मिलेपछि मात्र यात्रा सुरु हुन्छ। यी सबै मिल्न वर्षौं लाग्छ। पछिल्लोपटक ३८ वर्षपछि २०७० सालमा यो यात्रा भएको थियो।
‘यस्तो महत्व बोकेको मन्दिरलाई सडक विस्तारका नाममा बेवास्ता गर्नु भनेको काठमाडौं सभ्यताको महत्व नबुझ्नु हो,’ अध्यक्ष रञ्जितकारले भने, ‘जता पनि सडकै मात्र बनाउने हो भने काठमाडौंको अस्तित्व रहँदैन। विकासका नाममा अन्धाधुन्ध डोजर चलाउने काम रोकिनुपर्छ।’
उनका अनुसार मन्दिर परिसर ५ रोपनी ४ आना जग्गामा फैलिएको छ। धार्मिक मात्र नभएर यसले खुला सार्वजनिक स्थलको काम गर्छ। बिहान–बेलुकी टहलिन आउनेले मन्दिर परिसरमा खुला सास फेर्न पाउँछन्। स्थानीयले विवाह, ब्रतबन्ध लगायत गुठी पूजा, भोजजस्ता सामाजिक जीवनसँग जोडिएका समारोह पनि यहीँ आयोजना गर्दै आएका छन्।
मन्दिर परिसरसँग जोडिएको अर्को महत्व भनेको, यहाँ कतिपय घरबारविहीनहरूले आश्रय लिएका छन्। २०७२ वैशाखको भुइँचालोमा यहाँका केही पाटीपौवा भत्किएका थिए। समिति त्यसको पुनर्निर्माणमा जुटेको छ। मन्दिर अगाडि पनि एउटा पाटी बनाउने योजना रहेको रञ्जितकार बताउँछन्।
‘विवाह, व्रतबन्धका भोज पार्टी प्यालेसतिर गर्न नसक्ने साधारण जनताका लागि पाटी बनाउने योजना छ,’ उनले भने, ‘चाहना हुनेले भैरवको आँगनमा आएर यस्ता समारोह गर्न सक्छन्।’
यति महत्वको मन्दिर क्षेत्र मास्ने प्रयास पहिलोपटक भएको होइन।
सडक विस्तार गर्न मन्दिरका भाग भत्काउने योजना चार वर्षअघि नै सुरु भएको रञ्जितकार बताउँछन्। योजना सार्वजनिक भएदेखि नै मन्दिर जोगाउन विभिन्न सरकारी निकाय धाइरहेको उनले बताए।
‘सेनाले चलाइरहेको पेट्रोल पम्पको खाली भाग जोगाउने, अनि मन्दिरको पर्खाल भत्काउने? आफ्नो पहिचानै मासेर कस्तो विकास ल्याउने हो?’ रञ्जितकारले भने, ‘मन्दिरले हामीलाई विश्वमा चिनाएको छ। हाम्रो सभ्यता र इतिहास जोगाएको छ। सेनाको पेट्रोल पम्प त जहाँ सार्दा पनि हुन्छ। मन्दिर सार्न र भत्काउन मिल्दैन। सम्पदाको अस्तित्व यसको उद्गम थलोसँगै हुन्छ।’
मन्दिरसँगै आसपासका मौलिक घर पनि संरक्षण होओस् भन्ने स्थानीय चाहन्छन्। लामो समयदेखि अतिक्रमणमा परेको लगनखेलको धेरै भाग मासिएकाले अबका दिनमा अतिक्रमण हुन नदिने उनी बताउँछन्।
;सबै तस्बिरहरू : निशा भण्डारी / सेतोपाटी