विदेशीलाई नेपाल सम्झँदा सबभन्दा पहिले के सम्झिन्छौ? भनेर सोध्दा के जवाफ आउला?
सायद, गौतम बुद्ध। सगरमाथा!
सबै विदेशीले यही जवाफ देलान् भन्ने छैन।
विनोद कृष्ण श्रेष्ठलाई भने विश्वास छ।
त्यसैले उनी बुद्ध र हिमालका हुलाक टिकट संकलन गर्न लागिपरेका छन्।
विभिन्न देशमा छरिएर बसेका टिकट संकलकले नेपाल सम्झँदा त सायद विनोदलाई पनि सम्झेलान्!
‘सायद!’ उनले हास्ँदै भने, ‘सामाजिक संजालमा हाम्रो एउटा समूह छ। कसैले बुद्धको दुर्लभ टिकटबारे सोध्यो भने प्रायः मलाई नै इंगित गर्छन्। विनोदलाई थाहा छ भने त्यो टिकट छ, नत्र छैन भनेर मजाकसमेत हुन्छ।’
विनोद युनाइटेड नेसन (युएन) मा जागिरे थिए। जागिरकै सिलसिलामा उनलाई विभिन्न देश पुग्नुपथ्र्यो। जब उनलाई टिकट संकलन गर्ने सोच फुरेको थियो, त्योबेला उनी बंगलादेश थिए।
उमेरले ६० आसपास पुगेका उनको अवकाश समय नजिकिँदै थियो। अवकाशपछिको सोख (रिटायर्मेन्ट हबी) बनाउने सोचिरहेका थिए। उनकै उमेरका कोही ती दिनमा किताब पढ्ने सोख बनाउँछन्, कोही समाजसेवा त कोही के!
उनलाई भने टिकटको सोख चढ्यो– बुद्ध र हिमालको टिकट।
उनीसँग पुतली, चरा लगायत थुप्रैका टिकट विकल्प थिए। तर उनले जे रोजे त्यसले नेपालको प्रतिनिधित्व गर्थ्यो।
‘बुद्ध वाज बर्न इन नेपाल’ भनेको धेरै सुनियो। त्यसैले होला बुद्धकै टिकटमा मन बसेको,’ उनले भने, ‘बुद्ध नै मेरो प्राथमिकतामा पर्छन्। त्योसँगै हिमालको देश भनेर चिनिएकाले हिमालको पनि संकलन गरम् न त भनेर लागियो। नेपालका हिमालकै टिकट संख्या धेरै छ। बुद्धको भने सिमित छ।’
बंगलादेशबाट फर्किएलगत्तै टिकट संकलक मधुसुदन राजभण्डारीलाई भेटेर उनले योजना सुनाए।
भेटमा मधुसुधनले मुस्कुराउँदै भने, ‘बधाइ छ। हामी चार संकलकबाट अब पाँच हुने भयौं।’
त्योबेला नेपालमा बुद्धकै मात्र टिकट संकलन गर्ने पाँच जना थिए। विनोदसँगै नेपालका रामेश्वर कर्माचार्य र हिरारत्न तुलाधर यसमा लागिरहेका छन्। पाँचमध्येका मधुसुदन राजभण्डारी र शुभरत्न शाक्यको निधन भइसकेको छ।
बुद्धको देश भनेर चिनिने नेपालमा यति थोरै संकलक! यही कुराले उनी टिकट संकलनमा हौसिए। सुरूवातमा नेपालमा भएका टिकटहरू संकलन गरे। त्यसपश्चात अन्य देशमा भएका पनि खोज्न थाले।
‘टिकट संकलन गर्नु भनेको त्यसलाई थुपार्नु मात्र होइन,’ विनोद भन्छन्, ‘टिकटले त्यसभित्रको कथा, विभिन्न देशको परिवेश पनि बताउँछ।’
तर उनले भेटेका प्राय संकलक थरिथरिका टिकट थुपार्नमै समय खर्चन्थे। धेरैले टिकटका कथा वेवास्ता गरेको उनी बताउँछन्।
विनोदलाई भने टिकटभित्रका कथा उधिन्न मन लाग्यो। अनि कथा खोतल्न धार्मिक किताब पढ्न थाले।
उनका अनुसार धार्मिक ग्रन्थमा अहिलेसम्म २५ वटा बुद्ध जन्मिसकेको उल्लेख छ। सबभन्दा पहिलो दिपांकरा बुद्ध मानिन्छ। उनीसँगै विपासी, सिखी, कासप्पा लगायत अरु बुद्ध भएको विभिन्न गन्थले बताएका छन्।
तर जुन बुद्धको अभिलेख एवं तथ्य फेला परेको छ, त्यो सिद्धार्थ गौतम अर्थात अन्तिमका शाक्यमुनी बुद्ध हुन्। बौद्ध धर्मावलम्वीका अनुसार २६ औं अर्थात मैत्रिय बुद्धको पनि जन्म हुने विश्वास छ।
नेपालमा मात्रै तीमध्ये तीन बुद्ध जन्मिएको पुस्तकमा उल्लेख भएको विनोद बताउँछन्। सम्राट अशोक कपिलवस्तुसँगै निग्लिहवा र गोटिहवा भन्ने ठाउँ पनि पुगेका थिए। त्यहाँ उनले दुइटा थप स्तम्भ बनाए। ती स्तम्भले नेपालमा कणकमणी र कर्कोचन्द बुद्ध जन्मिएको बताउँदा रहेछन्। ती स्तम्भ अहिले भाँचिइसके। एउटालाई स्थानीयले शिवलिंग भन्दै पूजा गर्छन्, अर्कोलाई भने सुताएर लथालिंग छाडिएको छ।
यसरी अस्तित्वविहिन अवस्थामा रहेको स्तम्भ र त्यसले बताउने बुद्धको कथा मकाउले देशको टिकटमा विनोदले पाए।
‘यस्तो टिकट हामीले पनि निकाल्नु पर्यो भनेर सरकारी निकायमा कुरा गरिरहेको छु,’ उनले भने, ‘हाम्रो देशले बनाउनु पर्ने खालका टिकट अरु देशले निकालिरहेका छन्। बुद्ध नेपालमा जन्मिएको त भन्छौं तर यस्ता कुरामा निकै पछाडि छौं।’
विनोदका अनुसार हामीकहाँ बन्ने टिकट निकै साधारण छन्। तिनमा केवल बुद्धका प्रतिक हुन्छ, कथा हुँदैनन्। जस्तो कि अशोक स्तम्भ, मायादेवीको मन्दिर, बौद्धनाथ, नमोबुद्ध मात्र हुन्छन्।
विभिन्न देश भ्रमण गरेर उनले १७० देशका टिकट संकलन गरिसकेका छन्। तर उनी आफूसँग १५० देशको मात्र भएको बताउँछन्। किनकी केही देश आपसमा गाभिएर एक भएका छन्। उनीसँग सबैगरी ४ हजार २ सय टिकट छन्। यिनले बुद्धको संसारभर कति महत्व छ भनेर पनि बताउँछ।
‘५६३ वि.सिमा जन्मिएका बुद्धले २९ वर्ष नेपालमा बिताएका थिए। त्यो २९ वर्ष कति महत्वपूर्ण थियो भनेर जान्न जरुरी छ। हामी बुद्ध नेपालमा जन्मिएको भारतमा त ज्ञान हासिल गरेको मात्र भन्छौ,’ उनले भने, ‘त्यो ज्ञान पाउने सबै प्रक्रिया त नेपालमा भएको हो। ज्ञान पाएपछि पहिलो सय भिक्षु पनि त नेपालकै भएका हुन्। ती सबै टिकटमा उल्लेख छन्।’
करिब ८ वर्षदेखि टिकट संकलनमा लागेका विनोदसँग नयाँदेखि पुराना टिकट छन्। सबभन्दा पुरानो बुद्धको स्तुप भएको टिकट चीनले १८९३ मा निकालेको रहेछ। त्यसको नाम चिसौं पगोडा हो। बुद्धको मन्दिर राखेर पहिलो पटक बनाएको टिकट १९०५ मा थाइल्यान्डले निकालेको रहेछ। बुद्ध भएको टिकट (बामिन बुद्ध) भने १९३२ पश्चात अफ्गान्स्तिानले निकालेको विनोदले जानकारी दिए।
नेपालमा पहिलो हुलाक टिकट १९४९ मा निक्लेको थियो। त्यसमा स्वयम्भुको महाचैत्य र पाटनको महाबुद्ध विहारको चित्र छन्। यी सबै पुराना बुद्धका स्ट्याम्प विनोदको संकलनमा छन्।
त्योसँगै संसारकै सबभन्दा ठूलो मानिने ‘पिस मण्डला’ टिकट पनि उनीसँग भएको बताउँछन्। २००४ मा मंगोलियाले निकालेको यो टिकटमा गौतम बुद्धले गरेको ८ राम्रा काम उल्लेख छन्। यो करिब ५ इन्च चौडाइ र ७ इन्च लम्बाइको छ।
विभिन्न देश भ्रमण गरिरहनु पर्ने विनोदको जागिर टिकट संकलन काममा सहयोगी बन्यो। तिनै भ्रमण, अनुसन्धान र धेरै मान्छेसँगको कुराकानीले उनको काम सहज बन्थ्यो।
अहिले उनलाई चाहिएका टिकट ती मान्छेले यहाँ पठाइदिन्छन्। विनोद पनि उनीहरुलाई चाहिएका पठाइदिन्छन्।
उनी भन्छन्, ‘यसले विभिन्न देशका सभ्यता पनि बुझ्न मद्धत मिल्थ्यो।’
उनका अनुसार श्रीलंका बौद्ध धर्म प्रति निकै संवेदनशील छ। यसैले टिकटमा समेत मापदण्ड बनाएको छ।
‘श्रीलंकामा बुद्धको मूर्ति भएको टिकट बनाउन पाइँदैन। टिकट टाँस्दा केहीले पछाडि थुक लगाउने हुनाले बुद्धको अवहेलना हुन्छ भनेर बनाउन दिँदैनन्,’ उनले भने।
तर एकपटक त्यहाँ बुद्धको पैताला भएको टिकट बनाइछ। उक्त टिकट सार्वजनिक हुनु केही दिनअघि नै भिक्षुहरूले विरोध जनाएछन्।
‘अनि त टिकट सबै जलाइयो। सार्वजनिक हुन पाएन,’ विनोदले भने, ‘तीमध्ये करिब सयवटा भने बाहिरिएका थिए। एउटा मसँग छ।’
उनका अनुसार यस्ता टिकट दुर्लभ मानिन्छन्। दुर्लभ टिकट फेला पार्न कहिले भाग्य त कहिले मिहिनेत चाहिने उनी बताउँछन्।
टिकटलाई संकलकले कुन आधारमा दुर्लभ मान्ने भन्ने पनि अनौठो रहेछ।
टिकट जो–कोहीले प्रकाशन गर्न पाउँदैनन्। सरकारी निकायबाट मात्र प्रकाशित हुन्छन्। प्रकाशन क्रममा केही टिकटमा कमीकमजोरी हुन्छन्। कुनै प्वाल नपारिएका, चिन्ह फरक भएका, आधा वा दोहोरो छापिएका, फरक रङका, धमिला, खाली लगायत कमजोरी हुन्छन्।
यस्तै केही कमीकमजोरी भएका टिकट संकलकका लागि विषेश हुने रहेछन्।
‘बिग्रिएका टिकट कमै मात्र उत्पादन हुन्छन्। अनजानमा,’ उनले भने, ‘यसैले हाम्रा लागि महत्वपूर्ण।’
विनोदसँग त्यस्ता बिग्रिएका टिकट थुप्रै छन्।
उनले फेला पारेको एक दुर्लभ टिकटबारे सुनाउँदै भने, ‘एकपटक ¥यापिङ पेपरमाथि नै टिकट छापिएछ। त्यो आधा मात्र छापिएको टिकट संयोगवश मैले फेला पारेँ।’
‘तिमीले त गज्जब फेला पार्यौ नि भनेर साथीहरूले जिस्काए,’ उनले भने, ‘अरुलाई खासै महत्व नहुने यिनै टिकट हामी संकलकलाई विशेष हुन्छन्।’
अर्को यस्तै त्रुटिपूर्ण टिकट श्रीलंकाले निकालेको रहेछ। त्यसमा लुम्बिनीलाई भारतमा देखाइएको रहेछ। त्यसको विरोध हुने नै थियो। तर त्यसअघि नै उनले श्रीलंकाका साथीलाई फोन गरेर त्यो त्रुटिपूर्ण टिकट मगाए।
‘त्योबेला अर्का टिकट संकलक रामेश्वर कर्माचार्य गोरखापत्रमा काम गर्थे। उनैलाई भनेर पत्रिकामा त्यसको विरोधमा समाचार लेख्न लगाएँ। श्रीलंकाले पछि त्यो सबै टिकट बिक्रेताबाट फिर्ता लिएर जलायो। मसँग भने बाँकी रह्यो,’ उनले हाँस्दै भने, ‘संकलकको बुद्धि नि!’
उनले अर्को एक टिकट पनि संग्रहणीय मानेका छन्।
‘तिब्बतीयन क्यान्गुर’ नामक टिकट। यो टिकट उनले आफ्नो समूहका एक साथीलाई मगाएका थिए। गल्तीले थाइल्यान्ड पुगेछ। चिठीमा उल्लेखित ठाउँ फेला नपरेपछि फेरि तिनै साथीलाई नै फिर्ता गएछ। त्यसमा ‘मिस सेन्ट टु थाइल्याण्ड’ लेखेर आएछ।
‘त्यो टिकटको खामलाई पनि मैले संग्रहणीय मानेर राखेको छु,’ उनले भने।
त्यसो त यस्तै दुर्लभ अनि संग्रहणीय टिकट संकलन गर्ने लालचमा कहिलेकाँही धेरै मूल्यमा पनि किन्ने गरेको उनी बताउँछन्।
‘एकपटक मंगोलियन कलाकारले बनाएको सेतो ताराको टिकट तीन सय डलरमा किनेँ,’ उनले सुनाए, ‘छापाले कलाकारलाई डिजाइन ठीक भएको नभएको हेर्न पठाएको रहेछ। कलाकारले ठीक छ भनेर सही गरेर पठाएका थिए। त्यही सही भएको टिकट पछि लिलामी भयो। मैले किनेँ।’
यसरी नै देश—विदेश घुमेर संकलन गरेका टिकटका कथा बताउन उनी आतुर छन्।
यसनिम्ति उनले टिकट प्रदर्शनी गरिरहेका छन्।
शनिबारबाट पुलचोकस्थित अक्षेश्वर महाविहारमा चार दिने ‘बुद्ध टिकट प्रदर्शनी’ हुँदैछ।
उनले बुद्धकै किताब ‘अ स्टोरी अफ गौतम बुद्ध एज टोल्ड थ्रु पोस्टेज स्ट्याम्प’ पनि निकालेका छन्। यसले इन्डोनेशियामा भएको टिकट प्रदर्शनीमा दोस्रो पुरस्कार पाइसकेको छ।
टिकटभित्र उनिएका कथा हामी नेपालीले जान्न जरुरी भएको उनी ठान्छन्।
यसैले भन्छन्, ‘यदि यी कथा भनिएन, सुनिएन र लेखिएन भने हराएर जान्छ। बुद्ध नेपालमा जन्मिएको भनेर मात्र पुग्दैन। उनलाई चिन्न पनि जरुरी छ।’