राजधानी काठमाडौंलगायत मुलुकका मध्यपहाडी र तराई भेगमा धमिलो वर्षा भएकाले दुई/चार दिन आकाशे पानीको प्रयोग नगर्न मौसमविद्ले आग्रह गरेका छन्।
आकाशबाट धूलोका कण मिसिएको धमिलो पानी परेकाले सफा पानी पर्न सुरू नहुञ्जेल आकाशे पानीको प्रयोग नगर्न मौसमविद्को आग्रह छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार खोलाकै बाढीजस्तो धमिलो पानी आकाशबाट बर्सेको हो। धूलो र धूँवा मिसावट भएको यस्तो पानीले नुहाउँदा शरीरमा एलर्जी हुनसक्छ।
‘धमिलो पानीले सरसफाई नगर्दै राम्रो हुन्छ। आकाशे पानी परेर राख्नुभएको छ भने फ्याँकिदिनुस्’ अर्यालले सेतोपाटीसँग भने, ‘धूलोसँगै उद्योगका हानिकारक धूँवा मिसिएको धमिलो पानीले असर गर्न सक्छ।’
कृषि क्षेत्रमा पनि यस्तो वर्षाले असर पर्ने भए पनि कस्तो असर पुर्याउँछ भनेर ठोकुवा गर्न नसकिने उनले बताए।
राजस्थान आसपास मरुभूमिमा धूलोसहितको हुरी चलिरहेको र पूर्वतिर सर्ने क्रम जारी रहेकाले धमिलो पानी पर्ने क्रम अझै दुई/चार दिन लम्बिन सक्ने अनुमान छ।
भारतको राजस्थानबाट धूलोका कणहरू पश्चिमी वायुले ल्याएको हो।
‘वायुमण्डलमा जलवाष्पयुक्त हावा पानी भएका कारण हल्काफुल्का पानी परेको हो’ उनले भने, ‘मनसुन सक्रिय भइसकेको छैन। धूलोका कण वायुमण्डलमा आइराखेका बेला पानी परेपछि धमिलो वर्षा भयो।’
राजस्थानबाट आएको धूलो पहेँलो रङको भएकाले धमिलो वर्षा भएको उनले बताए।
‘यस्तो वर्षा प्राकृतिक नै हो’ उनले भने, ‘भारतमा सामान्यजस्तै भइसकेको छ। हामीकहाँ नयाँ भयो।’ भारतमा कहिलेकाहीँ आकाशबाट कालो पानी बर्सन्छ। ‘इन्डियामा बजार नै कालै हुन्छ’ उनले भने।
यसअघि पनि नेपालमा यस्ता खालका वर्षा भएका थिए।
‘हिउँदमा अलिअलि धमिलो वर्षा हुने गरेको थियो’ अर्यालले भने, ‘मनसुन सुरू हुने समयमा धमिलो वर्षा भएको पहिलो पटक हो।’
सशक्त जलवाष्पयुक्त हावाले उडाएर ल्याएको धूलोमा पानी मिसिएर धमिलो वर्षा भएको उनले बताए।
प्रदुषणले पनि हिले वर्षा गर्न सहयोग पुर्याउँछ। ‘काठमाडौंको धूलोले पनी कहिलेकाहीँ कालो रङको पानी बर्सन्छ। तर हामीले याद गरेका थिएनौं’ उनले भने, ‘यसपटक धेरै भू-भागमा पर्यो, याद भयो।’
शुक्रबार साँझदेखि शनिबार बिहानसम्म नेपालका विभिन्न क्षेत्रमा धमिलो (हिले) वर्षा भएको थियो।