तीस महिनामा निर्माण पूरा गर्ने गरी २०७१ माघ १५ गते ठेक्का सम्झौता गरिएको बुटवल सम्मेलन केन्द्रको काम ४० महिना पूरा हुँदा पनि ६५ प्रतिशत मात्र पूरा भएको छ।
बुटवल-१०, रामनगरमा निर्माणाधीन बुटवल सम्मेलन केन्द्रको काम तीनपटक म्याद थप गर्दा समेत पूरा नहुने देखिएको छ।
रविना समानान्तर चन्द्रसूर्य जेभी कम्पनीले निर्माणको ठेक्का लिएको सम्मेलन केन्द्रको काम नसकेपछि आयोजनाले पटक–पटक विभिन्न कारण देखाई म्याद थप गरिरहेको छ।
सभाहल निर्माणका लागि बुटवल मण्डपमा रहेका रूखहरु काट्ने अनुमतीमा ढिलाई, भूकम्प, नाकाबन्दी र निर्माण सामाग्रीको अभावका कारण तोकिएको समय सिमामा काम नसकिएको आयोजनाले दावी गरेको छ ।
निर्माण सम्पन्न गर्नुपर्ने समय पुरा भए पनि पहिलो चरणको काम अहिले जम्मा ६५ प्रतिशत मात्र पुरा भएको छ। ठेकेदार कम्पनीले १५ करोड २२ लाख रकम भुक्तानी लगिसकेको छ।
एक हजार व्यक्ति अट्नसक्ने वातानुकुलित मुख्य सभाहल निर्माणको लागि पहिलो चरणमा करसहित २८ करोडमा ठेक्का सम्झौता भएको हो ।
बुटवल सभाहल कार्यान्वयन ईकाईका ईञ्जिनियर आनन्द शाहले ६५ प्रतिशत आर्थिक र भौतिक प्रगति सम्पन्न भईसकेको र थपिएको २० महिनाको अवधिमा सबै काम सम्पन्न हुने बताए।
‘ठेक्का सम्झौता गरेको शुरुवाती समयमा विभिन्न समस्या आए पनि अहिले २० महिना म्याद थप गरेको र थपिएको म्याद भित्र काम सम्पन्न गर्न प्रयत्न गरेका छौं,’ उनले भने।
पहिलो चरण अन्तर्गत सूर्य आकारमा मुख्य सभाहलको पहिलो तलाको फाउण्डेशनको काम, पिल्लरको ढलाई, बिम कस्ने तथा चुरी उठाउने काम भईसकेको छ।
पहिलो चरण अन्तर्गतको काम जारी भए पनि दोस्रो चरणमा चन्द्रमा आकारको संरचनाको निर्माण प्रक्रिया सुरु भएको छ। दोस्रो चरणमा ५०/५० र १/१ सय अटाउने विभिन्न प्रयोजनका ४ वटा हल निर्माण हुनेछन्।
करबाहेक ८० करोडको लागतमा निर्माण हुने चन्द्रमा आकारको दोस्रो चरणको निर्माण ठेक्का आशिस निर्माण सेवाले पाएको छ।
ईञ्जिनियर शाहले दोस्रो चरणको काम पनि रूखहरूको कटानको कारणले सुरू हुन नसकेको बताए। ‘केही दिन अघिमात्रै ईआईएको टोलीले अध्ययन गरी फर्किएको छ, अब त्यसको रिपोर्ट आएपछि बल्ल रूख कटानको काम शुरू गरे पनि अरु संरचना निर्माणको काम शुरु हुनेछ,’ उनले भने।
पहिलो र दोस्रो चरणमा बुटवल सम्मेलन केन्द्रको काम पुरा भएपछि तेस्रो चरणमा बुटवल प्रदर्शनी केन्द्रको निर्माण गरिने ईञ्जिनियर शाहले बताए। प्रदर्शनी केन्द्रको अझै टेण्डर प्रकृया भएको छैन। प्रदर्शनी केन्द्रको लागत करिब डेढ अर्ब हुने अनुमान गरिएको छ।
सम्मेलन केन्द्र सतहबाट हेर्दा ब्लक अनुसार फरक फरक संरचना देखिए पनि माथिल्लो तहमा पुगेपछि तीन वटै ब्लकहरु एकआपसमा जोडेर नेपालको झण्डा आकारको बन्नेछ।
निर्माणको शुरुवाती चरणमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको नामाकरण दिईए पनि अहिले भने भवन विभागबाट अन्तर्राष्ट्रिय शव्द हटाई बुटवल सम्मेलन केन्द्र नाम दिईएको हो।
बुटवल मण्डपमा रहेको साढे १६ बिघा जग्गा मध्ये १० विगाह क्षेत्रफलमा निर्माण हुने सम्मेलन केन्द्रमा दुई तले व्यवसायीक भवन, चार वटा प्रवेश द्धार, १ हजार व्यक्ति क्षमताको खुल्ला मञ्च, सूचना प्रविधि, हरियालीको लागि आकर्षक बगैंचा लगायत रहने छन्।
सहरी विकास तथा भवन निर्माण विभागले तयार गरेको गुरूयोजना अनुरुप सम्मेलन केन्द्रको निर्माणको काम शुरु भएको हो। सम्मेलन केन्द्र स्थलमा रहेका विभिन्न प्रजातीका १ सय ३६ वटा रूखहरु हटाएर निर्माणको काम शुरु भएको हो।
लुम्बिनी क्षेत्रमा पूर्वाधार विकास गरी पर्यटन प्रवर्धन गर्ने भन्दै तत्कालिन सरकारले ग्रेटर लुम्बिनीको अवधारणा अनुरुप देशकै ठूलो सम्मेलन केन्द्र निर्माणको योजना अघि सारेको थियो ।
योजना निर्माण गर्दा दोश्रो प्राथमिकता (U$) मा परेको सम्मेलन केन्द्र निर्माणको योजनालाई योजना आयोगबाट पहिलो प्राथमिकतामा पारी निर्माण प्रकृयाको काम अघि बढाइएको थियो।