सरकारले कक्षा ११ र १२ को पाठ्यक्रम परिवर्तन गर्न लागेको छ। शिक्षा मन्त्रालय अन्तर्गतको राष्ट्रिय विकास तथा मूल्याङ्कन परिषदले ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७५’ पारित गरी मन्त्रालयमा पठाएको छ।
परिषद्ले पारित गरेको प्रारूप स्वीकृतिका लागि मन्त्रिपरिषद् जाने प्रक्रियामा छ।
परिषदले जेठ तेस्रो साता पारित गरेको नयाँ पाठ्यक्रममा नेपाली,अंग्रेजी, सामाजिक अध्ययन र जीवन उपयोगी विषयलाई अनिवार्य बनाएको छ भने गणितलाई ऐच्छिकमा राखिदिएको छ।
कक्षा ११ र १२ मा विज्ञान विषय पढ्ने विद्यार्थीले पनि गणित नपढे पनि हुने गरी आउन लागेको पाठ्यक्रमले विद्यार्थीको भविष्य अन्यौल बनाउने भन्दै सरोकारवालाहरूले विरोध गरेका छन्।
त्रिभुवन विश्वविद्यालयका नेपाल गणित समाज र गणित केन्द्रीय विभागले कक्षा ११ र १२ मा गणित विषयलाई अनिवार्य बनाउन माग गर्दै २५ जेठमा पाठ्यक्रम विकास केन्द्रमा ज्ञापन पत्र बुझाएका छन्।
गणित समाजका अध्यक्ष टंकनाथ धमला गणित अनिवार्य नगर्दा मुलुकलाई चाहिने दक्ष जनशक्ति उत्पादनमा बाधा हुने बताउँछन्। गणितले विद्यार्थीको तार्किक क्षमता वृद्धि गर्न सघाउँछ। गणितले तार्किक क्षमता वृद्धि गर्दा अरु विषय पढ्न सजिलो हुने उनको तर्क छ।
कक्षा ११ मा विज्ञानअन्तर्गत जीव विज्ञान (बायलोजी) पढ्ने विद्यार्थीसमेत गणित पढ्न नपर्ने भएपछि उसले गुणस्तरियतामा पनि असर पार्ने भन्दै उनीहरूले विरोध गरेका हुन्।
बायलोजी पढ्ने विद्यार्थीले गणित नपढ्दा के असर पर्छ?
त्रिवि कम्प्युटर विज्ञान केन्द्रीय विभाग प्रमुख नवराज पौडेलको तर्क छ-बिएससी पढ्ने हो भने जीवविज्ञान र १०० पूर्णाङ्कको गणित पढेकालाई योग्य मानिन्छ। अहिलेको पाठ्यक्रमअनुसार गणित नपढाउँदा विद्यार्थीले जान्नुपर्ने कुरा नै जान्दैनन्। यो व्यवस्था हटाउनुपर्छ।
व्यवस्थापन संकायमा पनि नयाँ पाठ्यक्रमले समस्या सिर्जना गरेको छ। विद्यार्थीले अर्थशास्त्र र वाणिज्यमध्ये एक विषयमात्रै पढ्न पाउने बनाइएको छ। जबकी व्यवस्थापन संकाय पढ्ने विद्यार्थीलाई यी दुबै विषयको ज्ञान नभई हुँदैन।
पाठ्यक्रम विकास केन्द्र र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको अगुवाइमा समयानुकूल शिक्षा दिने भन्दै पाठ्यक्रमको प्रारूप बनाइएको हो।
नयाँ पाठ्यक्रममा गणितलाई किन अनिवार्यबाट ऐच्छिक बनाइएको हो? भन्ने प्रश्नमा शिक्षामन्त्री पोखरेलले विद्यार्थीलाई जीवन उपयोगी व्यवसायिक शिक्षा दिन नयाँ पाठ्यक्रम चाहिएको जवाफ दिए।
म यो विषयमा अहिले धेरै बोल्दिनँ,' पोखरेलले भने, ‘जे बोल्नुपर्ने हो हाउस (संसद) मै बोल्छु।'
विद्यार्थीलाई गणित, विज्ञान पढ्न नदिने खालका हल्ला चलाउनेका कुरा नसुन्न उनले आग्रह गर्दै उनले थपे,‘विद्यार्थीले चाहेको विषय पढ्न पाठ्यक्रमले रोक्दैन।’
पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीले गणित पढ्न चाहनेलाई पाठ्यक्रम बाधक नहुने बताए।
'कक्षा १० सम्म गणित विषय अनिवार्य नै छ। ११ र १२ मा पहिले पनि गणित अनिवार्य थिएन' काप्रीले भने,'गणित पढ्न चाहनेलाई ऐच्छिकतर्फ पाठ्यक्रम बाधक बन्दैन।'
शिक्षाविद् प्राध्यापक डाक्टर केदारभक्त माथेमाले गणितलाई नै जीवन उपयोगी शिक्षा दिने नयाँ विषय थप्नु राम्रो भए पनि गणितलाई ऐच्छिक बनाउन नहुने बताए।
‘गणित, विज्ञान, सामाजिकजस्ता विषयमै जीवन उपयोगी ज्ञान दिने गरी पाठ्यक्रम तयार गर्न सकिन्छ’, उनले भने।
अर्का शिक्षाविद् विद्यानाथ कोइरालाले नयाँ पाठ्यक्रम विरोधाभासपूर्ण भएको बताए। सैद्धान्तिक विषयमा प्रष्ट नभएकाले अहिले समस्या आएको उनको बुझाइ छ।
'११ र १२ कक्षालाई विश्वविद्यालयको प्रविणता प्रमाणपत्र तह मानेको हो कि माध्यामिक विद्यालयमा जोडेको भन्ने कुरा नै स्पष्ट नभएकाले गणित राख्नु र नराख्नुले के फरक पार्छ भन्न सकिएन,' कोइरालाले भने,'विश्वविद्यालको कोर्सको समानान्तर बनाएको हो भने गणित नभए पनि हुन्छ, विद्यालयकै निरन्तरता हो भने गणित अनिवार्य हुन्छ।'
उनले विवादमा आइएकाले नयाँ पाठ्यक्रम लागू गर्नुअघि मसिनो गरी थप छलफल गर्नुपर्ने उनको सुझाव छ।
पाठ्यक्रम प्रारुपमा कक्षा ११ र १२ लाई एकल पथिय बनाइएको छ। कक्षा ९ र १० मा ५ विषय अनिवार्य छ भने २ ऐच्छिक राखिएका छन्। यी दुई ऐच्छिक विषयमध्ये विद्यार्थीले एउटा पेशा तथा व्यवसायिक विषय रोज्नुपर्ने छ।
११ कक्षामा विद्यार्थीले नेपाली, अंग्रेजी, सामाजिक अध्ययन र जीवन उपयोगी विषय अनिवार्य पढ्नु पर्नेछ। यी विषय १०० पूर्णाङ्कका हुन्। ३ विषय भने ऐच्छिक छ। ११ कक्षाका विद्यार्थीले ७०० पूर्णाङ्कका विषय पढ्नुपर्नेछ।
यो वर्ष नमूनाका रूपमा निश्चित विद्यालयमा मात्र नयाँ पाठ्यक्रम लागू गरिनेछ।