नेवार परम्परामा सिथी नखः भनेको पानीको स्रोत सफा गर्ने दिन हो। इनार, धारा, कुवा, पोखरी लगायत सफा गरेर यो पर्व मनाइन्छ।
काठमाडौं उपत्यकाका परम्परागत पोखरी मासिँदै गएका बेला संरक्षण अभियन्ताहरूले मंगलबार बेग्लै रूपमा सिथी नखः मनाए।
पुरातात्विक महत्वका पोखरी संरक्षण गर्न असफल काठमाडौं महानगरपालिका र पुरातत्व विभागमाथि व्यंग्य कस्दै उनीहरूले रानीपोखरीमा झांगिएको घाँस काटेर बुझाए।
२०७२ को भुइँचालोपछि भत्किएको रानीपोखरी घाँसे मैदानमा परिणत भएको छ। यो मल्लकालीन सम्पदा जोगाउन काठमाडौं महानगरपालिका र पुरातत्व विभाग दुवैले चासो देखाएका छैनन्।
मेयर विद्यासुन्दर शाक्यले रानीपोखरीको भित्ता र पिँधमा कंक्रिट पर्खाल लगाएर ‘स्विमिङ पुल’ जस्तै बनाउन खोजेका थिए। पोखरीको छेउमा क्याफे चलाउने उनको धोको थियो।
महानगरले संरक्षणका नाममा पोखरीको पानी सुकाएर कंक्रिट पर्खाल उठाउँदासमेत पुरातत्व विभाग हेरेको हेर्यै बस्यो।
पुरातत्वका अधिकारी त्यतिबेला मात्र जागे, जब रानीपोखरी संरक्षण अभियन्ताको आवाज उठ्यो। स्थानीयको विरोधपछि महानगर आफ्नो ‘स्विमिङ पुल’ योजनाबाट पछि हट्यो। मल्लकालीन शैली र सामग्री प्रयोग गरेर पुनर्निर्माण गर्ने बाचा गर्यो। तर, अहिलेसम्म सिन्को भाँचेको छैन।
‘रानीपोखरीको अवस्था पहिलेभन्दा बिग्रेको छ। कंक्रिट पर्खाल भत्काइएको छैन। यसको विनाश देखेर दुःख नमान्ने कोही छैनन्, महानगर र पुरातत्वले भने बेवास्ता गर्दै आएको छ,’ संरक्षण अभियन्ता गणपतिलाल श्रेष्ठले भने, ‘उहाँहरूका आँखामा परेन भनेर रानीपोखरीमा उम्रिएको घाँस काटेर उपहार लगिदिएका हौं।’
सिथी नखः वातावरण संरक्षणसँग जोडिएको पर्व भएकाले अभियन्ताहरूले यो दिन रोजेका हुन्। यो पर्वले काठमाडौं उपत्यकासँग जोडिएको पोखरी संस्कृति पनि उजागर गर्छ।
काठमाडौं उपत्यकामा पानी आपूर्तिका लागि परम्परागत रूपले नै पोखरी बनाउने चलन थियो। सहरको बाहिरी भागमा हुने रानीपोखरी जस्तोलाई ‘सिरान पोखरी’ भनिन्थ्यो। यस्ता पोखरीले जमिनमा पानी ‘रिचार्ज’ भई भित्री सहरका इनार र ढुंगेधारा रसाउँथे।
यी पोखरीले बर्खा बेला पानीको भेल बस्तीभित्र छिर्न रोक्थ्यो। बर्खाको त्यही पानी जम्मा गरेर टोल–टोलमा बाँड्न ‘रिजर्भोयर’ को काम पनि गर्थ्यो।
हाँडीगाउँको गहनापोखरी, क्षेत्रपाटीको इखापुखु, कमलपोखरी, ललितपुरको लगनखेल र जावलाखेल पोखरी, भक्तपुरको सिद्धपोखरी यही खालका पोखरी हुन्। यीमध्ये कमलपोखरी र सिद्धपोखरी मात्र आफ्नो स्वरूपमा छन्।
सिरान पोखरीभन्दा तल बस्तीभित्र पनि स–साना पोखरी हामी देख्छौं। ती धेरैजसो लिच्छविकालका हुन्। यी पोखरी सामुदायिक काममा बढी प्रयोग हुन्थे। यसले बर्खा बेला बस्तीमा पानी जम्न दिन्थेन। बस्ती धोइपखाली गर्थ्यो। स्थानीयले यहाँ हाँस पाल्थे।
काठमाडौंका पाको र खिचापोखरी, ललितपुरको पिम्बहाल, पूर्णचण्डी, खपिन्छेँ पुखु, सौगल पुखु, भक्तपुरको ब्यासी पुखु दोस्रो तहका हुन्। यी पोखरी पनि धेरै मासिइसके।
बस्तीको पुछारमा तेस्रो तहको पोखरी बनाउने चलन थियो। ओरालो परेको यस्तो भू–भाग बर्खेभेलले पहिरो जाने डर थियो। त्यही पहिरो रोक्न पोखरी बनाउने गरिन्थ्यो। यसको अर्को उद्देश्य सिँचाइ गर्न पानी जम्मा गर्नु हो।
ललितपुरको च्यासल पुखु, गुइटा पुखु, लिगन पुखु यसका उदाहरण हुन्। पाटनढोकामा जहाँ बसपार्क र सार्वजनिक शौचालय छ, त्यहाँ पनि यस्तै पोखरी थियो।
काठमाडौं उपत्यकाको यो पोखरी संस्कृति आधुनिक युगमा आइपुग्दा अवशेष मात्र छ। बचेखुचेका एकाध पनि रानीपोखरीजस्तो जानाजान नाश भइरहेको संरक्षण अभियन्ता आलोकसिद्धि तुलाधर बताउँछन्।
‘हाम्रा पुर्खाले सयौं वर्षअघि चलाएको सिथि नख: परम्परा धान्ने बाटो पनि हामीले राखेनौं,’ उनले भने, ‘भएका पोखरी मासिए, ढुंगेधाराहरूमा पानी आउन छाडे, अब कहाँको स्रोत सफा गर्नु?’
विनाशोन्मुख रानीपोखरीमा उम्रिएको घाँस काटेर सांकेतिक विरोध गरेको उनले बताए।
रानीपोखरी आजभन्दा ३ सय ५० वर्षअघि बनेको सम्पदा हो। पोखरीको बीचमा बालगोपालेश्वर मन्दिर छ। मन्दिरको वास्तविक स्वरूप अहिलेजस्तो थिएन। यो ‘ग्रन्थकुट’ शैलीमा बनेको थियो। यसलाई ‘शिखर’ शैली पनि भनिन्छ। पछि राणाकालमा यसलाई गुम्बज स्वरूप दिइएको हो।
त्यतिबेला सबैजसो पोखरीको पिँध र डिल कालो माटोले बनेको थियो। ठाउँ–ठाउँमा इँटा वा ढुंगाको खुड्किलोले घाटजस्तो संरचना बनाइन्थ्यो। यसले स्थानीयलाई पोखरीसम्म गएर पानी भर्न, लुगा धुन वा नुहाउन सजिलो हुन्थ्यो।
संरक्षण अभियन्ताहरूले रानीपोखरीलाई त्यही स्वरूपमा पुनर्निर्माण गर्न माग गर्दै आएका छन्।
महानगरपालिकाले विज्ञ समितिको सल्लाहअनुसार मौलिक स्वरुपमै बनाउने निर्णय गरेको छ। यसै वर्ष जेठ १५ बाट काम सुरु हुने भनिएको थियो, तर भएन।
उपमेयर हरिप्रभा खड्गी ठेकेदारले महानगरविरुद्ध मुद्दा हालेकाले काम अवरुद्ध भएको बताउँछिन्।
‘मलाई प्रत्येक दिन रानीपोखरीले कहिले पुनर्निर्माण गर्ने भनेर प्रश्न गरेझैँ लाग्छ,’ उनले भनिन्, ‘यसमा भएका कंक्रिटका पर्खाल चाँडोभन्दा चाँडो भत्काएर काम सुरु गर्नेछौं।’
घाँस बुझाउन आएका अभियन्तालाई छुट्टिने बेला उनले हाँस्दै भनिन्, ‘रानीपोखरी बनिसक्दा घाँस सुकिसक्छन् होला। चाँडोभन्दा चाँडो निर्माण गरेर तपाईंहरुलाई फिर्ता दिन पाऊँ।’
यो पनि हेर्नुहोस्