अधिग्रहणमा परेका जग्गाधनीहरूको आन्दोलनका कारण तीन दिनदेखि रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सूचारू भएको छ।
जग्गाधनीले मुआब्जा वितरणमा ढिलाई गरेको भन्दै विमानस्थलको धावनमार्गमै बसेर सोमबारदेखि निर्माणमा अवरोध गरेका थिए।
पाँच नम्बर प्रदेशका प्रदेशसभा सदस्य सन्तोष कुमार पाण्डेयको नेतृत्वमा स्थानीयले विमानस्थलमा धर्ना दिएका थिए ।
मुआब्जा वितरणको लागि अर्थ मन्त्रालयबाट निकासा भएको ५ अर्ब रुपैयाँ मध्ये २ अर्ब रूपैया विमानस्थल आयोजनाको बैंक खातामा आएपछि स्थानीयले आन्दोलन स्थगित गरेको आयोजना प्रमुख ओम शर्माले बताए।
‘अर्थ मन्त्रालयबाट मुआब्जा वितरणको लागि नेपाल नागरिक उड्डयन प्राधिकरणमा रकम निकासा भए पनि विमानस्थल आयोजनामा आउन सकेको थिएन। जसले गर्दा आयोजनाले तीन/चार महिनादेखि मुआब्जा वापतको रकम वितरण गर्न सकेको छैन,’ शर्माले भने।
मुआब्जा वितरणको लागि अर्थ मन्त्रालयबाट केही हप्ता अघि नै ५ अर्ब रुपैया निकासा भए पनि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट आयोजनालाई नपठाईएको भन्दै जग्गाधनीहरुले प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएका थिए ।
आयोजनाका प्रमुख ओम शर्माले मुआब्जा वापतको २ अर्ब रुपैयाँ बुधवार आयोजनाको बैंक खातामा आएकोले विहिबारदेखि वितरण गर्ने बताए। उनले बाँकी ३ अर्ब रुपैयाँ पनि केही दिनभित्रै वितरण गर्ने जानकारी दिए।
प्रदेशसभा सदस्य सन्तोष पाण्डेले संघीय सरकारका पर्यटन राज्यमन्त्री धन बहादुर बुढाले निकासा भएको बाँकी ३ अर्ब रूपैयाँ पनि २ दिन भित्र पठाउने आश्वासन दिएको भन्दै रकम नआए आन्दोलनलाई थप सशक्त रुपमा अगाडी बढाउने चेतावनी दिए।
अधिग्रहणमा परेका जग्गाधनीहरुले आगामी साउन महिनादेखि १० लाख रुपैयाँबाट लाभकर तिर्नुपर्ने व्यवस्थाको विरोध गर्दै खारेज गर्नुपर्ने माग गरेका छन्।
कुनै लाभको लागि जग्गा विक्री नगरिएको र सरकारले अधिग्रहण गरेको कारण लाभकर लिनु जायज नरहेको उनीहरुको भनाई छ ।
आयोजनाले मुआब्जा वापत करिब २३ अर्ब रकम वितरण गर्नुपर्नेमा हालसम्म जम्मा ६ अर्ब रुपैयाँ वितरण गरेको छ ।
आयोजनाका अनुसार जग्गा अधिग्रहणमा परेका करिब २ हजार ३ सय परिवारमध्ये हालसम्म करिब ८ सय परिवारलाई मुआब्जा वितरण गरिएको छ।
विभिन्न कारणले पटकपटक अवरोध हुँदै आएको विमानस्थलको निर्माण कार्यमा पछिल्लो समय तिव्रता आएको छ।
सन् २०१९ को जुनबाट सञ्चालनमा ल्याउने तयारी साथ कामलाई तिव्रता दिईएको विमानस्थलको हालसम्म करिब ५० प्रतिशत काम सम्पन्न भएको आयोजना प्रमुख शर्माले बताए।
एशियाली विकास बैंकको ६ अर्ब २२ करोड ५१ लाख २० हजार रुपैयाँ ऋण तथा अनुदान सहयोगमा चिनियाँ ठेकेदार कम्पनी नर्थ वेष्ट सिभिल एभिएसनले विमानस्थल निर्माणको काम गरिरहेको छ।