चैनपुरलाई दुनियाँले करुवाको निम्ति चिन्छ। चैनपुरेहरू भने करुवा बनाउन सिपालु मान्छेलाई गंगा शाक्य भनेर चिन्छन्।
समाजसेवा र राजनीतिमा लागेका उनै गंगा १४ वर्षअघि माओवादीका कारण चैनपुरबाट विस्थापित भए। यी ६८ वर्षीयका अनुभव सुन्न हामी गत सोमबार काठमाडौंस्थित उनको घर पुगेका थियौं।
कोठाभरि काँस र पित्तलले बनेका कलात्मक सामग्रीको रास थियो। तिनमा कुँदिएका बुट्टा हस्तकलाको मिहिन शिल्पका नमूना थिए। एउटै धातुबाट बनेको एकै सामग्री भइकन पनि फरक–फरक सतहले दिने बेग्लाबेग्लै प्रभाव। यस्ता कतिपय सतह त महिनौं लगाएर निखार्नुपर्ने गंगा सुनाउँदै थिए। तह–तहमा कतै टल्किरहेको चिल्लो त कतै खस्रो सतहमा दानेदार बुट्टा।
धातुमा चमत्कार गर्ने यस्ता चिज हत्तपत्त अन्त देख्न पाइँदैन। त्यसैले त चैनपुर!
मेरो ध्यान अचानक यी बहुमूल्य सामग्रीबाट हटे। चैनपुरको पुरानो वैभवका कथा सुनाइरहेका गंगा शाक्यको कुराबाट पनि हट्यो। सुनिँदै गरेको आवाज रेकर्डरको जिम्मामा छाडेर म ढोकातिर केन्द्रित भएँ।
एक वृद्ध महिला ढोकाछेउ उभिएकी थिइन्। उनी धेरै बेरसम्म त्यसरी नै उभिएर हाम्रा कुरा सुनिरहिन्। ती कुरासँग उनको के लगाव थियो? थाहा भएन। तर, निकै बेरसम्म उभिएरै सुनिरहँदा उनका आँखा टोलाइरहेका देखिन्थे।
मैले भित्तामा झुण्डिएको पुरानो तस्बिरकी आमासँग यी महिलालाई दाँजे। हो जस्तो पनि थियो, होइनजस्तो पनि।
त्यत्रो बेरसम्म ढोकैमा उभिँदा पनि उनलाई गंगाले भित्र बोलाएनन्। उभिँदा उभिँदै सायद थाकिन् र हराइन्।
हाम्रा कुराकानी जारी थिए।
अचानक ती वृद्धा फेरि देखापरिन्। यसपटक चाहिँ आफूलाई थाम्न सकिनन् र सरासर कोठैभित्र आइन्। छेवैमा बसिन् र चुपचाप अन्त्यसम्मै सुनिन्। उठ्ने बेला हाम्रा कुराकानी अन्तै मोडिएकै बखत उनी फेरि लुसुक्क बाहिरिइन्।
मैले गंगा शाक्यसँग उनीबारे जिज्ञासा राखेँ।
‘मेरी ८२ वर्षे दिदी हो,’ शाक्यले भने, ‘चैनपुरदेखि यहाँसम्मै आजीवन मसँगै बस्दै आउनुभएको छ।’
मैले दिदीसँग फेरि भेट्ने इच्छा गरेँ। मौका पनि पाएँ।
‘दिदी, चैनपुर जाने इच्छा छ?’
सायद यो उनको जीवनकै महत्वपूर्ण प्रश्न थियो।
मलाई हेर्दाहेर्दै उनका आँखा रसाए।
टाउको हल्लाइन्। र, भनिन्– ‘छ’।
...
८२ वर्षे दिलकुमारी शाक्यलाई भाइको घरमा भेट्नु एक साताअघि म दोस्रोपटक चैनपुर जाँदै थिएँ।
हाम्रो विमान उड्यो।
मेरो छेउकै सिटमा बसेका थिए संखुवासभाकै सांसद राजेन्द्र गौतम।
‘त्यतातिरको यात्रा पहिलोपटक हो?’ विमानले भुइँ छाड्नेबित्तिकै गौतमले सोधे।
‘छ वर्षपहिले चैनपुर पुगेको थिएँ,’ मैले भनेँ, ‘१४ दिन लगाएर पैदलै।’
‘किन पैदल?’ गौतमले अचम्म माने।
‘दुई सय वर्षअघि त्यहाँ पुगेका नेवारहरूको पाइला पछ्याउँदै,’ मैले भनेँ, ‘उनीहरूलाई बुझ्ने कोशिस गर्दै।’
मेरो जीवनकै सबैभन्दा रमाइलो पदयात्रा थियो त्यो। सुनकोशी कट्नेबित्तिकै माझीहरू, भोलिपल्टैदेखि वल्लो किराँतका राई, ओखलढुंगाका गुरुङ, दूधकोशी तरेपछि माझ किराँतका राई, अनि अरुण तरेपछि पल्लो किराँतका राई र लिम्बूहरू।
नेपाल एकीकरणसँगै सर्दै गएका खस अर्थात् बाहुन, क्षत्री र दलितहरू त सबै गाउँमा हुने नै भए। व्यापार चल्ने यो बाटोभरि धागो तानेजस्तो सबैभन्दा अटुट बसोबास भने उतिबेला काठमाडौंबाट फैलिँदै गएका नेवारको थियो, जसले हामीलाई बाटोभरि गाँसबासको समस्या परेन।
यस्तो मिठो समिश्रणको स्वादिलो मार्गले हामीलाई चैनपुर पुर्याएको थियो।
मैले हिँडेको यो बाटो नै दिलकुमारीको अग्रज पौने दुई सय वर्षअघि हिँडेका थिए। ललितपुर, नागबहालका चार शाक्य र बगलामुखीका दुई श्रेष्ठ परिवार त्यतिबेला व्यापारको अवसर खोज्दै उता पुगेका थिए। तामाङबहुल दाप्चा हुँदै चैनपुरसम्मको पदयात्रा तय गर्न उनीहरूलाई २२ दिन लागेको थियो। अरुणलगत्तैको सभाखोला तर्दै चैनपुर पुगेपछि उनीहरूले छाडेर आएको ठाउँको सम्झनामा एउटा ठूलो ढुंगामा लेखेका थिए– ‘हनुमानढोका ७५ कोस’।
यसरी ललितपुर र भक्तपुरबाट नेवारको लर्को पछिसम्मै लागिरह्यो। चार जना शाक्य परिवारबाट सुरु भएको त्यो यात्रा चैनपुरका रमाइला दिन जारी रहँदासम्म अस्सी परिवार पुगेको थियो। त्यसैगरी अन्य जातिका नेवारको पनि उपस्थिति बढ्दै गयो।
त्यो बेला उनीहरू किन त्यति टाढा पुगे?
यसको जवाफ छ, चैनपुरबाटै उदाएका इतिहासविद् रमेश ढुंगेलसँग।
ढुंगेलका अनुसार चैनपुर परम्परादेखि तिब्बत र भारतको बीचमा व्यापार केन्द्र रहँदै आएको थियो।
तिब्बती भाषामा ‘घो’ को अर्थ टाउको र ‘ला’ को अर्थ पास हुन्छ। शीर्षविन्दुमा रहेको पासलाई घोला भन्दाभन्दै गोला बन्न पुगेको ढुंगेल ठम्याउँछन्। एकातिर ओलाङचुङगोला र अर्कातिर तोप्केगोलाको बीचमा रहेको यो ठाउँलाई पहिले गोलाबजार भनिन्थ्यो।
माथिबाट नुन र तलबाट अन्य उपभोग्य वस्तु ओसारपसार र क्रयविक्रय गर्ने केन्द्र थियो यो भूमि।
चैनपुर नाम भने चन्द्रपुरसँग जोडिएको छ।
चार सय वर्षअघि नेवारी भाषामा लेखिएको पहिलो स्वस्थानीमा सतिदेवीको दाहिने आँखा चन्द्रपुरमा पतन भएको उल्लेख छ। स्वस्थानीमा उल्लिखित त्यो ठाउँ बजारको शीर्षमा रहेको सिद्धकाली मन्दिर हो भनी स्थानीय बताउँछन्।
यसरी चन्द्रपुर नै चैनपुर बन्नपुगेको हो।
पृथ्वीनारायण शाहको नेपाल एकीकरणभन्दा अघि यो लिम्बू याख्खाको ठाउँ थियो। दसहाङ राजाहरूले यहाँ शासन गरेका थिए। उनीहरूलाई तल विजयपुरका सेन वंशीयहरूको संरक्षण थियो।
यस्तो अवस्थामा पृथ्वीनारायणको काठमाडौं विजयपछि १८३१ मा अभिमानसिंह बस्नेत र जंगबहादुरका बाजे रामकृष्ण कुँवरको नेतृत्वमा गोर्खाली फौज पूर्वतिर बढेको थियो। उनीहरू अरुण तरे, सेनहरूले स्थापना गरेको देवीलाई मनकामना नाम दिएरै पुजे र पृथ्वीनारायणको आदेशबमोजिम रक्तपात नगरिकनै दसहाङ राजाहरूलाई मिलाए।
हाङ राजाले चैनपुरमै उनीहरूको स्वागत गरेका थिए। स्थानीय तवरमा किपट (भूमि व्यवस्था) र ठिंग्रो मुंग्रो (सजाय) को अधिकार आफ्नै हातमा रहँदा दसहाङ राजालाई खासै आपत्ति भएन।
यति गरेपछि पृथ्वीनारायणको फौज फर्कियो।
लगत्तै तिब्बत र सिक्किमका शासकले यी दसहाङलाई फेरि उचाले।
त्यसपछि पृथ्वीनारायणका सैनिक फेरि यहाँ आए। सुरुमा उनीहरूलाई हाङहरुले धपाए। भागेपछि अरुणपारिको हाल भोजपुर फालिकोटमा कोत बनाएर बसे।
यस्तो अवस्थामा अभिमानसिंह बस्नेतका छोरा तथा उतिबेलाका दोस्रा प्रधानमन्त्री अर्थात् मूलकाजी बख्तावरसिंह बस्नेतको नेतृत्वमा थप सेना काठमाडौंबाट आइपुग्यो।
गोर्खालीहरूले लिम्बूहरूलाई दुई भागमा वर्गीकरण गरे। एउटा थिए, उनीहरूको प्रभाव स्वीकार्ने ‘समरिति लिम्बू’ र अर्का नस्वीकार्ने ‘नीति लिम्बू’।
लडाइँ सुरु भयो। ठूलो रक्तपात मच्चियो। विजय गोर्खालीहरूकै भयो। तिब्बती र सिक्किमेहरूको साथ रहँदारहँदै नीति लिम्बूहरू भाग्न बाध्य भए।
यसरी विजय त भयो, तर यसपाला बख्तावर सिंह उनका पिताजस्तै लगत्तै काठमाडौं फर्किएनन्। उत्तर र दक्षिणबीच व्यापार केन्द्रका रूपमा रहेको यो हटियामण्डीलाई उनले आवाद गराउने योजना बुने।
ढुंगेलका अनुसार लिम्बूहरू सहरीकरणमा विश्वास गर्दैन थिए। त्यसैले, तत्कालीन गोलाबजार भनेकै हाट लाग्ने ठाउँ र एकाध भट्टी मात्र थिए।
गोर्खालीहरू भने विस्तारसँगै सहरीकरण गर्थे। पानीका मूल संरक्षण गर्थे, मन्दिर र चौतारा बनाउँथे अनि बजारै पनि बसाल्थे। यस्तो अवस्थामा बख्तावर सिंहले सुन्दर चैनपुरको परिकल्पना गरे।
उनले त्यतिबेलै बनाएको ‘मेजर पाटी’ अहिले पनि चैनपुरको केन्द्रका रूपमा बीच बजारमै उभिएकै छ। नेवार वास्तुकलाको नमूना यो भवन चैनपुरकै सबैभन्दा पुरानो ‘ल्यान्डमार्क’ पनि हो।
विजयपछि पनि बख्तावर छ महिनासम्मै यो स्थानमा बसे र ‘मेजरपाटी’ सहित सुन्दर चैनपुर तयार पारे। बख्तेश्वर शिवालय, बखतसुन्दर हिटी र मनराजी बगैंचा पनि बनाए, जसका फलफूल पछिल्लो पुस्तासम्मका चैनपुरेहरूले चाख्न पाएका थिए।
समुद्री सतहभन्दा करिब १२ सय मिटरमाथि पहाडी ढलोको समानान्तर डाँडामा जुरोजस्तो लमतन्न विस्तार भएको यो बजार हेर्दै मनमोहक देखिन्छ। न जाडोमा धेरै जाडो हुने, न गर्मीमा गर्मी।
लिम्बू र फाट्टफुट्ट राईहरू त थिए नै, अरुण पूर्वको यो भूमिमा गोर्खालीहरूसँगै खस पनि भित्रिए। त्यसपछि पृथ्वीनारायण शाहको लालमोहर दिएरै यो परम्परागत केन्द्रमा व्यापार गर्न काठमाडौंका नेवार पठाइए। यो थलोमा नेवारहरू पुग्नु भनेको काठमाडौंकै विस्तार हुनु र स्वयं त्यस ठाउँको व्यापारिक गतिविधिले तीव्रता पाउनु थियो। अर्को अर्थमा, नेवार व्यापारीहरूलाई तत्कालीन गोर्खाली शासकले विश्वास पनि गर्थे। उनीहरूका जात्रा, परम्परा सक्दो फैलियोस् र सबैले हेरून् भन्ने कामना पनि राखेको इतिहासविद् ढुंगेल बताउँछन्।
...
यो माथ्लो बजार हो। कसैकसैले सिरान बजार पनि भन्छन्। ढल्किँदै गरेको घामले दृश्य अझ नरम बनाइरहेको छ।
सिंगो चैनपुर देखिने गरी म जुन ठाउँमा उभिएको छु, त्यही विन्दुमा ५० वर्षअघि स्विस भूगोलविद् टोनी हागन उभिएका थिए। हागन नेपाललाई विश्वसँग नजिक्याउने पहिलो विदेशी हुन्, जसले पैदलै यस मुलुकका कुनाकाप्चा भ्याएका थिए।
अहिले उभिएकै विन्दुबाट हागनले खिचेको तस्बिर उनको बहुचर्चित पुस्तक ‘नेपाल’ मा अटाएको थियो। जसमा उनले भनेका थिए– ‘पोखरा लगायत मध्यपहाडी भागका धेरैजसो बजार र जिल्ला सदरमुकाम कुनै समय काठमाडौंबाटै फैलिएका नेवारहरूको बस्तीबाटै विकास भएका हुन्। पूर्वी नेपालको चैनपुर र मध्य नेपालको बन्दीपुर त्यस्ता सुन्दर नेवार बस्तीमध्ये पर्छन्, जसलाई मध्ययुगका जर्मन अथवा स्विस सहरहरूसित तुलना गर्न सकिन्छ।’
हागनले खिचेको तस्बिरमा यहाँका एक प्रसिद्ध नेवार व्यापारी घरानाको तीनमध्ये एक घर देखिन्छ। तल चिटिक्क ढुंगाले छापेको ओरालो बाटो, दुवै छेउमा लोभलाग्दा मौलिक घरहरू।
तीमध्ये भोलामान, शेरबहादुर र काजीमान गरी तीन दाजुभाइको लहरै उभिएको घरमा वास्तुकलाको अनुपम नमूना झल्किन्छ। बीचमा झिँगटीले छाएर चुली उठाइएको छानो र छेउमा युरोपेली शैलीको बुट्टेदार फराकिलो बार्दली। त्यसमा लिम्बू शैली र नेवार शैलीको मिश्रण त छ, सँगसँगै उतिबेला दार्जिलिङतिरबाट ल्याएको प्रभाव प्रस्ट देखिन्छ।
यसो भन्दैमा यो लमतन्न उक्लिएको बजारलाई नेवार र लिम्बू घरहरूले कम सिँगारेका छन् भन्न मिल्दैन। युगौंको घामपानी झेलेर कालो भइसकेका पुराना काठका बार्दलीमा फुलेका फूल नहुँदा हुन् त चैनपुरले यसरी मन हर्ने थिएन।
सय वर्षभन्दा पहिले बनेका यी घर अहिले पनि यो बाटो भएर उक्लनेहरूलाई उनीहरूका स्वप्नील दिनको कथा सुनाइरहेका छन्।
‘उन्नाइसौं शताब्दी चैनपुरको स्वर्णिम काल हो,’ इतिहासविद् ढुंगेल भन्छन्, ‘हावापानी, बसोबास, उत्पादन सबै हिसाबले यो स्वर्गको टुक्रा थियो।’
अरुणपारिबाट सुरु भएको राज्यविस्तार पूर्वमा टिस्टासम्म पुगेपछि त्यो सम्पूर्ण क्षेत्रको केन्द्र नै चैनपुर थियो।
‘अहिले टुँडिखेल भएको ठाउँमै उतिबेलाको जेल थियो, जहाँ सिक्किमदेखिका बन्दी ल्याइन्थे,’ ढुँगेल भन्छन्, ‘त्यो जेल निकैपछि वीरशमशेरका पालामा भत्केको थियो।’
जेल यहाँ हुनुको अर्थ न्याय निसाफको काम यसै ठाउँमा हुने गरेको ठहर ढुंगेलको छ।
जेल भत्केको खबर काठमाडौं पुगेपछि तत्कालीन दरबारबाट चासो व्यक्त गर्दै ‘अमालीदारहरूले जिम्मामा लिई जनता जनार्दन लगाएर त्यो जेलको जिर्णोद्धार गर्नू’ भनेर राजाकै हस्ताक्षरसहित पठाइएको चिठ्ठी अहिलेसम्म सुरक्षित रहेको ढुंगेल बताउँछन्।
निकै पछिसम्म चैनपुर अमालअन्तर्गत अहिलेको संखुवासभासहित ताप्लेजुङ, इलाम, तेह्रथुम, पाँचथर र धनकुटाका अधिकांश भाग पथ्र्यो।
तर, दिन सधैं उस्तै रहेन।
राणाकालको सुरुआतबाटै चैनपुरले अलिअलि गरेर प्रहार खेप्न सुरु गर्यो।
सबैभन्दा पहिले त जंगबहादुरले उनका ज्वाइँ गजराजसिंह थापालाई यस भेगको हाकिम बनाएर पठाउँदा चैनपुरसँगै इलामको पनि जिम्मा दिएका थिए। त्यसपछि इलाम बजार बनेको ढुंगेल बताउँछन्।
राणाकालमै चैनपुरकै छेउमा अर्को महत्वको स्थान बन्यो धनकुटा।
दोस्रो भोटयुद्ध बेला धरानबाट टिप्तावा भञ्ज्याङ (ओलाङचुङगोला) सम्म रसद पठाउन निकै लामो बाटो पर्ने भयो। त्यसैले बीचमा बस्ती चाहियो। १९११ तिर यसरी बनेको बस्तीमा पानीले चल्ने घट्ट राखिएको थियो। धान कुट्ने त्यस घट्टकै कारण यो ठाउँकै नाम धनकुटा बन्न पुगेको ढुंगेल सुनाउँछन्।
‘देवशमशेर निकालामा परेपछि उनलाई त्यत्रो सम्पन्न चैनपुर नपठाएर धनकुटा किन पठाइयो मैले अझै बुझेको छैन,’ ढुंगेल भन्छन्, ‘चैनपुरका लागि त्यो ठूलो प्रहार भयो।’
निकालामा परे पनि देवशमशेर श्री ३ भइसकेका व्यक्ति थिए। उनीहरू निकालिँदा पनि ओहोदै लिएर हिँड्थे। साथमा सेवक र सहयोगीको लर्को पनि।
यस्ता मानिस बसाइँ सर्दा उनीहरूसँगै दरबार पनि सथ्र्यो। यसरी धनकुटाले दरबार पायो। यहाँ बडाहाकिम बस्न थाले। यो गौंडाका रूपमा विकास भयो।
यसरी अरुणपारिको नेपालमा चैनपुरको भूमिका खुम्चिँदै गयो। धनकुटाले तल विजयपुर र माथि चैनपुर दुवैको महत्व आफूतिर तानिदिएको थियो।
नेपाल एकीकरण क्रममा चैनपुर आएर टुंगिएको नेवारहरूको यात्रा त्यसपछि अवसरसँगै इलाम र धनकुटा पनि फैलियो।
तैपनि चैनपुर आफ्नो सुन्दरतामा रमाएरै बसेको थियो।
राणाकाल अर्थात् १९९४ मै शेरबहादुर श्रेष्ठको लगानीमा खुलेको सरस्वती हाइस्कुल अहिलेसम्म शिक्षाको उज्यालो छरिरहेकै छ।
भीरबाट खसालेको ढुंगा जसरी तीव्र गतिमा ओरालो लाग्छ, त्यसरी चैनपुर ओरालो लाग्ने क्रम २०१५ सालपछि भयो। ओरालो लगाउने मानिस भइदिए त्यसपछि नेपालको राजनीतिमा अकन्टक प्रभाव जमाएका सूर्यबहादुर थापा।
थालनी यसरी भयो।
जिल्लाहरूको वर्गीकरण नभएकै समय त्यतिखेर सूर्यबहादुर थापाको घर अर्थात् धनकुटाको मुगा पनि चैनपुर अमालअन्तर्गत नै पर्थ्यो। २०१५ सालमा पहिलो संसदीय निर्वाचन घोषणा भयो। थापा महासभा पार्टीबाट उम्मेदवार भए। उनको चुनाव चिह्न थियो घोडा छाप।
चैनपुर केन्द्र हुने नै भयो। मतदान केन्द्र नै यहीँको लामाचौर थियो। उनी भोट माग्न आए। गाउँलेहरूले उनलाई बेवास्ता गरिदिए। त्यो बेला चैनपुरमा पूरै कांग्रेसको एकछत्र प्रभाव थियो। कतिपय पुराना मानिस त्यो बेला चैनपुरवासीले थापाको हुर्मत लिएको सम्झना गर्छन्। इतिहासविद् ढुंगेलका अनुसार त कालोमोसो नै दलिएको थियो। कतिसम्म भने थापालाई चैनपुरेहरूले बाससमेत दिएनन्।
थापाले निकै पर त्रिशूलेको ठाँटीगाउँस्थित जब्बरबहादुरको घरमा पुगेर मात्रै बास पाएका थिए।
त्यतिबेला सूर्यबहादुर थापाको एउटा भनाइ अहिलेसम्म चैनपुरवासीहरुको मुखमा कण्ठस्थ छ।
‘म क्षत्रीको छोरो हुँ। कुनै दिन यो देशको महत्वपूर्ण ठाउँमा पुगेँ र शक्ति प्रयोग गर्न पाएँ भने त्यो चैनपुरलाई दिउँसै स्याल कराउने पाखा बनाइदिनेछु।’
पहिलो झट्का लाग्यो २०१९ सालमा, जब मुलुकलाई ७५ वटा जिल्लामा विभाजन गरियो। जिल्लाको सदरमुकाम त चैनपुरै घोषित गरियो। तर, जुन नामले कुनै समय सिंगो भेग चिनाउँथ्यो, त्यो नाम अब एउटा बजारमा सीमित भइदियो।
‘सभासम्म त ठीकैको खोला छ,’ ढुंगेल भन्छन्, ‘एउटा खोल्सोजस्तो संखुवाको नाम जोडेर यस जिल्लालाई संखुवासभा नामाकरण गरियो।’
जबकि, यसैबाट टुक्रिएका वरपरका तेह्रथुम, धनकुटा, ताप्लेजुङ, पाँचथर आदिले परम्परागतै नाम पाए।
०१९ साल पुस २ गते प्रकाशित गजेटले चैनपुर सदरमुकाम बनेको संखुवासभालाई ‘संखुवा उत्तर, सभा उत्तर, पाँच खपन, पाँच मझिया, मेवाखोलाको पश्चिमी सानो हिस्सा, दस मझियाको भाग’ भनेर उल्लेख गरेको थियो।
त्यसलगत्तै २०२२ सालमा सूर्यबहादुर थापा पहिलोपटक मुलुकको प्रधानमन्त्री भए।
अब के चाहियो?
थापा प्रधानमन्त्री भएको दुई वर्षपछि संखुवासभा जिल्ला त जस्ताको त्यस्तै रहि नै रह्यो, सदरमुकाम भने बिनाकारण चैनपुरबाट सारेर उत्तर पश्चिमतर्फको सानो बजार खाँदबारी पुर्याइयो। भोट युद्धमा खाँडो पखालेको ठाउँ भएकाले ‘खाँडबारी’ बाट खाँदबारी बन्नपुगेको यो ठाउँ उतिबेला चैनपुरसँग तुलनासमेत नहुने गरी धेरै सानो रहेको ढुंगेल बताउँछन्।
अब भने चैनपुरको तीव्र पतनलाई कसैले रोक्नसक्ने अवस्था रहेन।
सदरमुकाम भइसकेपछि चैनपुरबाटै कतिपय साहु बसाइँ सरेर उता गइदिए। कार्यालयहरू त लगालग चैनपुरबाट बेपत्ता भए नै।
२०२९ सालमा काठमाडौं गएका ढुंगेलले सदरमुकाम सरेपछि सुनसान बनेको चैनपुरको मायालाग्दो अनुहार पाँच वर्षसम्म अनुभव गरेका थिए।
पञ्चायतकालभरि थापाले चैनपुरलाई लगातार सौतेनी व्यवहार गरेको यहाँका स्थानीय सुनाउँछन्।
यो बजारले एकपछि अर्को प्रहार सहँदै गयो। जतिबेला पूर्वाञ्चलको पहाडी भेगमै क्याम्पस थिएन, त्योबेला अर्थात् २०१७ सालमै यहाँ ‘भोलामान इन्टरमिडिएट कलेज’ खुलेको थियो। खर्च धान्न नसकेरै घिटिघिटिमा चलेको त्यो कलेज २०२६ सालमा बन्दै भइदियो।
त्यसको ११ वर्षपछि मात्र चैनपुरले सरकारी कलेज पायो। रमाइलो के भने, जिल्लाकै पहिलो त्यस सरकारी कलेजको उद्घाटन गर्न २०३७ सालमा स्वयं प्रधानमन्त्री सूर्यवहादुर थापा नै आए। चैनपुरमा थापाको लगानी त्यही कलेज रहेको स्थानीयवासी सम्झना गर्छन्।
पछि ०४६ सालमा प्रजातन्त्र आएपछि आफ्नो दलको चुनावी प्रचारमा सूर्यबहादुर थापा फेरि चैनपुर आएका थिए। त्यो बेला पनि थापा कुनै होटलमा बसेनन्, कसैको घरमा पनि बस्न मानेनन्। जीर्ण नै भए पनि बख्तावरसिंह बस्नेतले बनाएको मेजरपाटीमै थापा आफ्नो टोलीका साथ बसेको स्थानीय सुनाउँछन्। त्यो एउटा संकेत थियो। सूर्यबहादुर यस्ता संकेतबाट आफूलाई बुझाउँथे।
उनलाई स्वागत गर्न क्याम्पससँग सम्बद्ध समूह मेजरपाटीमा पुग्यो। उनीहरूले भेटघाटको प्रारम्भमै गुनासो राखे।
‘तपाईंलाई त चैनपुरको यस्तो हालत गराइदिएको दोष छ नि?’
‘हो, त्यो मलाई दोष छ,’ थापाले पनि जवाफ दिएछन्, ‘सदरमुकाम सार्ने भनेर तलैबाट पास गरेर ल्याएको कुरालाई म प्रधानमन्त्रीको नाताले ओके गरेको हुँ।’
यसभन्दा बढी थापाले यो विषयमा केही बोलेनन्। डेलिगेसन गएकाहरू चुप भए र कलेजका निम्ति आर्थिक सहयोगको विषयमा मोडिए।
ओरालो लागेको मृगलाई बाच्छोले पनि लखेट्छ।
सदरमुकाम सरेर गएपछि सुक्दै गएको चैनपुरलाई पछिल्लो र निर्णायक प्रहार माओवादीले गरिदिए।
‘चैनपुरको आजसम्मकै सबैभन्दा ठूलो दुर्भाग्य नै दसवर्षे द्वन्द्वकाल भइदियो,’ स्थानीय भन्छन्, ‘फेरि सोझिनै मुश्किल पर्ने गरी माओवादीले यस ठाउँको ढाडै फुस्काइदिए।’
यो अवधिमा यहाँ रहेसहेका सानाठूला व्यापारीदेखि बुद्धिजीवी, समाजसेवी सबैलाई माओवादीले डाँडा कटाइदिए। कुनै समय पूर्वी नेपालकै व्यापक भू–भागको केन्द्रका रूपमा रहेको सम्पन्न बजार जतिबेला प्रहरी नायब निरिक्षक (सइ) को नेतृत्वमा थियो, माओवादीलाई प्रहार गर्न यति सजिलो र प्राप्त गर्न यति धेरै लाभ अन्यत्र कतै थिएन।
मुलुकका सुगम भेगमा समेत शिक्षा नपुगेको बेला स्कुल (१९९४ साल) र कलेज (२०१७ साल) खोलिदिने शेरबहादुर र भोलामान साहुहरूका सन्तानजति सबै भाग्न बाध्य भए। माओवादीले उनीहरूका घरै कब्जामा लिइदिए।
शेरबहादुरको घर अहिले पनि विप्लव माओवादीको कब्जामा छ। गाउँलेहरूका अनुसार त्यो घर भाडामा लगाएर महिनाको पाँच हजार रुपैयाँ अहिले पनि विप्लव माओवादीले उठाउँदै आएका छन्। यो त्यही सुन्दर घर हो, जसको तस्बिर टोनी हागनले खिचेर आफ्नो पुस्तकमा राखेका थिए।
बाँकीको नेपाल निम्ति माओवादीले हत्या गरेका कृष्णमोहन श्रेष्ठ सशस्त्र प्रहरीका पूर्व आइजिपी मात्र हुन्। चैनपुरवासी भने उनको सन्दर्भ आउनेबित्तिकै आँखा रसिलो पार्छन्। यहाँको समाजमा त्यो परिवारको योगदान मात्र होइन, प्रहरीमा जानुअघि गाउँभरिका निम्ति कृष्णमोहन हाइस्कुल हेडमास्टरका रूपमा प्रिय थिए।
‘ओहोदामा त अरू पनि पुगे,’ गाउँले सम्झना गर्छन्, ‘चैनपुरको निम्ति केही माग्नेबित्तिकै तुरुन्त काम गराइदिने कृष्णमोहनजत्तिको भावना अरूमा थिएन।’
अहिले पनि शाक्यटोलबाट थोरै माथि उक्लेपछि माथ्लोबजार नपुग्दै कृष्णमोहन श्रेष्ठको माओवादीले भत्काइदिएको घर बाटैमा देब्रेतिर पर्छ। माटोको ढिस्को बनेको त्यस स्थानलाई श्रेष्ठ परिवारले आजसम्म चलाउँदै नचलाएर जस्ताको त्यस्तै छाडिदिएका छन्।
कुनैबेलाको जल्दोबल्दो र पछिल्लो समयको लगातार यो अभागी बजारमा यस्ता धेरै मन रुने सन्दर्भ र दृश्य जोडिएका देखिन्छन्।
‘म कांग्रेसको राजनीतिमा भएकैले माओवादीले असाध्यै गाह्रो पारेका थिए,’ चैनपुरे करुवाका निम्ति प्रसिद्ध शिल्पी गंगा भन्छन्, ‘जति गर्दा पनि ज्यानकै खतरा भएपछि २०६१ सालमा परिवारसहित थातथलो छाड्न बाध्य भएँ।’
हाम्रा गाउँघरमा एकै जना मानिस धेरै कुरामा संलग्न हुन्छन्। पौने दुई सय वर्षदेखि चैनपुरमा धातुको चामत्कारिक सामग्री तयार पार्दै आएको शाक्य खलकका प्रतिभाशाली गंगा राजनीति र समाजसेवामा पनि संलग्न थिए।
‘श्रम गरेर कमाएको पैसा र धानचामल पटकपटक दिँदा पनि सुखले बाँच्न दिएनन्,’ उनी भनिरहेका थिए, ‘जग्गाजमिन असाध्यै कम हुँदाहुँदै ती जग्गा कब्जा गरिदिए र मार्नेसमेत धम्की दिएपछि म काठमाडौं आएँ।’
अहिले त त्यतिबेलाजस्तो खतरा छैन। तैपनि अब एकपटक काठमाडौं आएर बसिसकेपछि यतै सहज लाग्न थालेको उनी सुनाउँछन्। गंगा पछिल्लो समय चुनाव बेला भोट दिन मात्र गाउँ पुगेका थिए।
गंगाले छाडेर आउनुभन्दा केही अगावैदेखि चैनपुरको करुवा उद्योग प्रभावित भइसकेको थियो। आफूजस्ता साना उद्यमीलाई चाहिने कोइलासमेत माओवादीले बन्द गराइदिएपछि करुवाको उत्पादनै ठप्प भएको अर्का व्यवसायी पदमकुमार शाक्य सुनाउँछन्। कुनै समय २५ वटा करुवा उद्योग तथा पसल रहेको चैनपुरमा अहिले आफूलगायत तीन जना मात्र बाँकी रहेको पदमले बताए।
पछिल्लो समय भारतीयहरूले धरानमा कारखानै राखेर सस्तोमा करुवा बनाउन थालेपछि त्यसको मार हस्तकलामा आधारित यी व्यवसायीलाई परेको छ। धराने करुवा प्रतिकिलो १५ सयमा उपलब्ध हुँदा आफूहरूले बनाएको करुवा ३८ सय पर्ने पदम सुनाउँछन्।
यी दुवै किसिमका करुवा आफ्नो पसलमा राखेर बेच्ने गरे पनि महत्व बुझेकाले चैनपुरकै करुवा खोज्ने गरेको उनले बताए।
...
के चैनपुर अब फेरि जाग्दैन?
एकछिन पख्नुस् ...
ठीक छ वर्षअघि पैदल हिँडेरै चैनपुर पुगेपछि हामीले डिल्ले दमाइ भेटेका थियौं। हाक्पारे भाकामा अनेक श्लोक हालेर घन्टौंसम्म गाउनसक्ने ८० वर्षे डिल्ले दमाइ अचम्मका प्रतिभा थिए। अरुण उपत्यकाका लोकगीतको मूल उनकै गलाबाट फुट्थ्यो।
हेर्नुहोस् यो पनि
त्यतिबेलै डिल्ले दमाइबाट संकलन गरिएको गीत ‘कोशीको पानी यो जिन्दगानी’ यतिबेला सांगीतिक समूह नेपथ्यको हिट गीतमध्ये पर्छ।
दस दिनअघि नेपथ्यले अमेरिकी सहर डालसमा यो गीत सुनाउँदै गर्दा म दोस्रोपटक चैनपुर टेकिरहेको थिएँ।
‘यस्ता कुराको त खानी हो यो ठाउँ,’ संस्कृतिविदसमेत रहेका ढुंगेल भनिरहेका थिए, ‘अनेकथरिका कला र संस्कृतिको यहाँ जत्तिको मिठो समागम अन्त कहाँ पो थियो होला?’
ढुंगेलका अनुसार पूर्वेली भाका हाक्पारे र मारुनीको त केन्द्र नै यो भेग थियो। त्यसमाथि पाटन र भक्तपुरदेखि आएका नेवारले उताका संस्कृति ल्याएर यहीँ मिसाइदिएका थिए। ताप्लेजुङ र मेवाखोलादेखि आएका लिम्बूले तीन दिन तीन रात लगाएर याराक्मा यहीँ नाच्थे। त्यसैगरी राईहरूले च्याब्रुङ बजाएर साकेला नाच्ने काम यतै गर्थे। यी सबैको समागम जात्राहरूमा देखिन्थे।
मेलामा बाहुन महिलाहरूको ‘संगीनी’ देखि पुरुषहरूको बालन पनि यहीँ देख्न पाइन्थ्यो।
हरेक शुक्रबार लाग्ने हाटको झन् कुरै बेग्लै। लेकदेखि औलसम्मबाट आएका खानेकुराको रास लागेका हुन्थे। यतैका बारीमा फलेका सुन्तला र जुनार अनि जंगलबाट आउने काफलको कुरै थिएन। गेँवरा उखुको रसबाट बनेको सख्खर जत्तिको पौष्टिक गुलियो अर्थोक केही नहुने भएकाले परपरसम्मका मानिस किनेर लैजान्थे। बजार भर्न आएकालाई मह, कुरौनी र ढिकीमा कुटेको चिउरा मुछेर खानुको आनन्दै बेग्लै थियो।
‘काठमाडौंमा अहिले भर्खर बज्न थालेका वारिजमुना र झम्के गुलेलीजस्ता गीत हामीले केटाकेटीमै सुसेल्दै हुर्केका हौं,’ ढुंगेल बोल्दाबोल्दै पुराना दिन सम्झेर हाँस्न थाले।
चैनपुरमै सिर्जना गरिएका कथानक गीत गाउँदै निकालिने गाईजात्रा होस् वा हिलेजात्राको बेला टुँडिखेलदेखि त्रिचोकसम्म लहरै उभिएर नाचिने पालम। कृष्णजन्माष्टमीको आकर्षण उस्तै। यी सब हेर्न इलाम, ताप्लेजुङ, पाँचथर, तेह्रथुमदेखि छेउकै भोजपुर र धनकुटासम्मका मानिस आउँथे।
वालेश्वरको मारुनी, बजारमा नाच्ने लाखे, सिद्धकालीमा बालाचतुर्दशी बेला खैँजडी बजाएर नाचिने बाहुनहरूको बालन होस् वा मध्यरातसम्म चल्ने हाक्पारे वा धान नाच। त्योबेलाको सम्झना गर्दा गंगा शाक्य अहिले पनि हुरुक्क हुन्छन्।
‘यहाँका जात्रामा वरपरका जिल्लाबाट आएका लाहुरेनीले चालीस तोला, पचास तोलासम्म सुन लगाएका हुन्थे,’ शाक्य सम्झन्छन्, ‘दिउँसो बाह्र बजेको घाममा मास्तिर उकालो चढेर चैनपुर हेर्दा ती सुन टल्केर सिंगो बस्ती सुनौलो देखिन्थ्यो।’
गाईजात्रा मात्र होइन, भक्तपुरदेखि नेवारहरूले लगेका लठ्ठी जुधाउने जात्रा पनि चैनपुर पुग्दा बेग्लै स्वादको देखिने गरेको ढुंगेल सुनाउँछन्।
यस्ता कला र संस्कृति अहिलेसम्म ढुकढुकीमा बाँचिरहेको चैनपुरलाई जगाउन मुश्किल नपर्नेमा ढुंगेल विश्वस्त छन्।
ढुंगेलसँग चैनपुरलाई फेरि उभ्याउन सकिने यस्ता थुप्रै मन्त्र छन्।
सतिदेवीको देब्रे आँखा पतन भएको भारतको नैनीतालस्थित नैनादेवीको मन्दिरमा आउने तीर्थालुलाई मात्रै दाहिने आँखा पतन भएको चैनपुरको सिद्धकाली ल्याउन सकियो भने पर्याप्त पर्यटक भित्रिने उनको सोचाइ छ। भारतमा त्यत्रो महत्व रहे पनि हामीकहाँ अन्वेषकहरूले मेहनत नगरिदिएकै कारण स्वस्थानीमा वर्णित यो ‘चन्द्रपुर’ ओझलमै परिरहेको उनी बताउँछन्।
त्यसैगरी प्रस्तावित योगमाया विश्वविद्यालय चैनपुरमै स्थापना गर्ने गरी आफूले ‘कन्सेप्ट पेपर’ पेस गरेको ढुंगेल सुनाउँछन्। तल अरुण नदीसँगै जोडिएकी समाजसुधारक योगमायाका नामबाट विश्वविद्यालय बनाउने तयारी सरकारले थालेपछि त्यसमा चैनपुरले पनि अग्रसरता देखाउन थालेको हो। यो ठाउँ सुहाउँदो अलिक ‘युनिक’ विषय राखेर पढाउने हो भने विदेशी विद्यार्थीसमेत आकर्षित गर्न सकिने एक अमेरिकी विश्वविद्यालयका प्राध्यापकसमेत रहेका ढुंगेल दाबी गर्छन्।
अर्कातिर संखुवासभाका सांसद राजेन्द्र गौतम तिब्बत र भारतको ‘कनेक्टिभिटी’ मा चैनपुरले महत्वपूर्ण भूमिका खेल्नसक्ने बताउँछन्। परम्परादेखि नै दुईतिरको ओहोरदोहोर र व्यापारिक यस थलोलाई प्रस्तावित किमाथांका–जोगबनी सडकको केन्द्र बनाउन सकिने उनको योजना छ। ३ सय ७६ किलोमिटर लामो यो सडकमा केवल ३६ किलोमिटर थप बाटो बनाएर किमाथांका जोड्न बाँकी रहेको उनले सुनाए।
पछिल्लो समय सभाखोलामा पुल बनेपछि तुम्लिङटारसम्म जहाजबाट पुग्ने मानिस आधा घन्टामै मोटर चढेर चैनपुर पुग्नसक्ने भएको छ। यसले बाँकीको संसारसँग चैनपुरको सम्पर्क सहज बनाइदिएको छ। त्यसबाहेक बसन्तपुरदेखि मुढेसम्मका केही किलोमिटर सडक सुधार हुने हो भने धरानबाट पनि सहजै चैनपुर पुग्न सकिन्छ। अहिल्यै पनि अरुण तेश्रो परियोजनाका निम्ति ओहोरदोहोर गर्ने ट्रकहरू यो बाटोमा देखापरिरहन्छन्।
लालीगुराँसको राजधानी मानिने तीनजुरे मिल्के चैनपुरकै आसपास छ। त्यसैगरी पर्यटक आकर्षित गर्न सकिने सभापोखरी र गुफापोखरी पनि।
दुई सय २३ वर्ग किलोमिटरभित्रै समुद्री सतहबाट २ सय ७८ मिटर उचाइको पिलुवा दोभानदेखि ३ हजार १ सय ७४ मिटरसम्मको अग्लो मेन्छ्याएम डाँडासम्म ओगटेको यो नगर आफैंमा विचित्रको विविधताले भरिएको छ।
अहिले पनि यहाँको ६० प्रतिशत जनसंख्या विभिन्न जनजातीले ओगटेको छ।
‘एक समय चैनपुरको बिहानी शाक्य टोलबाट करुवा बनाउँदा निस्कने एकोहोरो आवाजबाट सुरु हुन्थ्यो,’ ढुंगेलले पुराना दिन सम्झे, ‘त्यो चैनपुरकै आवाज बनिसकेको थियो, जसको अपनत्वमा हामी रमाउँथ्यौं।’
करुवा उद्योगलाई फेरि जगाउन सक्ने हो भने त्यो आवाज फिर्ता हुनेमा उनी आशावादी छन्।
ढुंगेलजस्तै चैनपुरका नवनिर्वाचित मेयर भरत खत्रीले यो ठाउँलाई फेरि जगाउने संकल्प लिएका छन्।
रमाइलो के छ भने, कांग्रेससँग नजिक रहेका ढुंगेल हुन् वा गंगा शाक्य, सबै जना तत्कालीन नेकपा (एमाले) बाट जितेका नगरप्रमुख खत्रीमाथि भरोसा राखेर बसेका छन्। मेयर भएदेखि कुनै दिन पनि आफू चार घन्टाभन्दा बढी नसुतेको बताउने खत्रीले सेतोपाटीसँगको कुराकानीमा ‘यो ठाउँलाई पुरानै वैभव दिएरै छाड्ने’ अठोट सुनाए।
‘चैनपुरलाई चिनाउने करुवा उद्योग म हराउन दिन्नँ,’ उनी भन्दै थिए, ‘उद्यमीहरूलाई प्रोत्साहन मिल्ने गरी म बजेटमै व्यवस्था गर्नेछु।’
चैनपुरबाट बाहिरिएकाहरूलाई फेरि बोलाउने, तन्नेरीहरूको पलायन रोक्ने, पुराना महत्वका कुरा फेरि जगाएर यस ठाउँको उडेको सातो फर्काउने अठोट खत्रीले फेरि सुनाए।
त्यो अठोटका अघिल्तिर सबैभन्दा ठूलो चुनौती छ, यो ठाउँ छाडेर गएका मानिसलाई फर्काउनु।
‘मैले त्यो प्रयास छाडेको छैन,’ मेयर खत्री भन्छन्, ‘प्रसिद्ध भोलामान साहुका परिवारलाई मैले काठमाडौंमै पुगेर फेरि एकपटक चैनपुरलाई अँगालो मारिदिन अनुरोध गरेको छु।’
मेयर खत्रीका अनुसार काठमाडौं उपत्यका (ललितपुर) बाटै बसाइ सरेर आउने पहिलो नेवार परिवारका सन्तान भोलामान साहु जस्तोसुकै कठिनाइबीच पनि माओवादी कालसम्म अडेरै बसेका थिए। माओवादीले उनलाई भाग्न बाध्य बनाए।
‘उनका सन्तान त धेरै पहिले यो ठाउँ छाडेर हिँडिसकेका थिए,’ मेयर खत्री भन्छन्, ‘भोलामान साहुसमेत हिँडेपछि उनीहरूको घरजग्गा माओवादीले निर्वाध कब्जामा लिइदिए।’
अहिले भोलामानको घर त्यो कब्जाबाट छुटाएर नगरपालिकाकै पहलमा एउटा सामाजिक संस्था चलाइएको छ। उक्त परिवार चैनपुर आउन चाहेको खण्डमा उनीहरूलाई त्यो घर हस्तान्तरण गर्न आफू तयार रहेको मेयर खत्रीले सुनाए।
भोलामान साहुको ९७ वर्षको उमेरमा पाँच वर्षअघि काठमाडौंमै निधन भइसकेको छ।
मेयर खत्रीकै यस्तो प्रयास चलिरहेकै बेला केही महिनाअघि त्यो परिवार समूह बनाएरै चैनपुर आए।
‘त्यसदिन कृष्णगोपाल दाइले ३४ वर्षपछि चैनपुर टेक्नुभएको थियो,’ खत्री भन्छन्, ‘म स्वयं उहाँलाई स्वागत गर्न गएको थिएँ।’
यसरी लामो समयपछि चैनपुर टेकेका यस भूमिकै प्रभावशाली परिवारका सदस्यहरू आफ्नो घर हेर्नसमेत गएनछन्। जिरो प्वाइन्टमा रहेको ‘शुभ होटल’ मै बसे र माथि सिद्धकालीको दर्शन गरेर सरासर फर्किए।
‘म सम्पूर्ण नगरवासीको तर्फबाट त्यो दुःखेको चित्तमा मलम लगाएरै छाड्छु,’ मेयर खत्री भन्छन्, ‘उहाँहरूलाई आफ्नो सम्पत्ति स्वीकार्नुहोस् र त्यसलाई सजाएर फेरि चैनपुर चिटिक्क पारिदिनुहोस् भनेर प्रयास गरिरहेकै छु।’
चैनपुरबाट फर्केको एक साता नबित्दै म भोलामान साहुका सन्तान कृष्णगोपाल श्रेष्ठलाई खोज्दै कुपण्डोलस्थित उनको फराकिलो घरमा पुगेँ। हामीले चिन्दै आएको ‘प्रकाश केबुल’ का मालिक रहेछन्।
कुराकानी क्रममा कृष्णगोपालले रेकर्डर अन गर्नसमेत दिएनन्। राजनीतिसँग आफ्नो कुनै सरोकार नरहेको र कतै पनि नजोडिदिन बारम्बार अनुरोध गरिरहे।
‘पुर्खाले समाजसँग मिलेर र सक्दो सहयोग गरेरै अघि बढेको ठाउँ जसलाई पनि प्रिय हुन्छ,’ कुराकानी क्रममा उनले भने, ‘तर, पुँजीपति शोसक भनेर प्रहारै गर्न खोजेपछि जसले पनि ज्यान बचाउन खोज्छ।’
जतिबेला सय रुपैयाँ तोलामा सुन पाइन्थ्यो, त्यो बेला (२०१७ साल) २० हजार भारतीय रुपैयाँ नगद दिएर कलेज खोल्न लगाउने आफ्ना नब्बे कटेका बालाई सामन्ती भनेरै मार्न खोजेपछि जोगाएर काठमाडौं ल्याएको र चैनपुरसँगको नाता टुटेको उनले सुनाए।
सिंगो गाउँ तलदेखि माथिसम्मै एउटै परिवारजस्तो भएर बसेकै बेला चैनपुर सम्पन्नताको शिखरमा पुगेको श्रेष्ठले सुनाए।
‘फेरि त्यस्तै भावना आएछ भने हामी चैनपुरसँग जोडिन तयार छौं,’ उनले भने, ‘मुख्य कुरा वातावरण बन्नुपर्यो।’
चैनपुरबाट बाहिरिएपछि पनि आफूहरूले धरान र देवघाटजस्ता ठाउँलाई सामाजिक महत्वका क्षेत्रमा सहयोग गरिदिएको श्रेष्ठले बताए।
‘वातावरण मात्र मिलोस्,’ उनले थपे, ‘चैनपुर त मनमा छ।’
यस्तै भावना समेट्न र अगाडिको सम्भावना खोज्न निकट भविष्यमै काठमाडौंमा चैनपुर विकास सम्मेलन आयोजना गर्न लागिएको मेयर खत्रीले बताए।
के चैनपुरको सातो फर्केला?
अहिलेलाई सम्मेलनको प्रतिफल पर्खेर बसौं।