२०६१ सालअघि थाकल (एक प्रकारको वनस्पति)को झाडी रहेको चौकुने गाउँपालिका–८, मा अहिले 'विशाल बजार’ छ । सशस्त्र द्वन्द्वका बेला साविकको गुटु गाउँ विकास समितिभित्र पर्ने उक्त ठाउँमा तत्कालीन माओवादीको गाउँ जनसरकारले झाडी हटाएर प्लटिङ गर्ने निर्णय गर्यो। त्यपछि स्थानीयलाई व्यापारिक प्रयोजनका लागि घडेरीका रूपमा वितरण गरिएको थियो ।
प्लटिङ गरिएपछि ७ मिटर चौडाइ, १५ मिटर लम्बाइसहित एकजनालाई एउटा घडेरी दिइएको थियो। हाल उक्त बजारमा २४० घरधुरी छन्।
करिब २८० विभिन्न खालका पसल छन्। केही समयअघिसम्म उक्त बजार सुर्खेतसहित सीमानाका करिब ६ जिल्लाको व्यापारिक केन्द्र थियो । अहिले भने स्थानीयमै निर्भर छ।
अहिले उक्त बजार नै लालपुर्जासहित स्थायीत्वको पर्खाइमा छ। बजार अस्थायी नै भएता पनि आवश्यक भौतिक पूर्वाधार निर्माण हुने क्रममा छन्। बजारभित्र सडक तथा सडक छेउका नाला मापदण्डअनुसार निर्माण गरिएका छन्। विद्युत, खानेपानीलगायतका अन्य आवश्यक पूवार्धार पनि निर्माण हुने क्रममा छन्। सहरी विकास तथा भवन निर्माण डिभिजनमार्फत् सडक छेउका नाला निर्माण गरिएको स्थानीयले बताए।
माओवादीले प्लटिङ गर्नुअघि पनि त्यहाँ सानो तर अव्यवस्थित बजार थियो। प्लटिङपछि व्यवस्थित बजार बनेको हो।
विशाल बजारमा पसल गर्नेखडानन्द पौडेल दैलेखबाट आएका हुन्। दैलेखको दक्षिणी ठाउँबाट बजार व्यवस्थित बन्नुभन्दा अघि नै आएर उनले पसल सञ्चालन गरेका थिए। माओवादीले टाउन प्लानिङ् गरेपछि उनले पनि निर्धारित क्षेत्रफलको घडेरी पाए।
‘उतिबेला माओवादीले व्यवस्थित बजार बनाउने योजना बनायो,’ पौडेलले भने,‘त्यसअघि व्यवसाय गरेकाले घडेरी पाउँथे।’
बजारमा व्यवसाय गरेको लामो समय भैसकेकाले आफूहरुले अब स्थायी लालपुर्जा पाउनुपर्ने उनी बताउँछन् ।
विशाल बजारका सबै पसले लालपुर्जा पाउनेमा ढुक्क छन्। बजारभित्र व्यवस्थित र स्थायी भौतिक पूर्वाधार निर्माणको माग गरिरहेका छन्।
‘हाम्रो मुख्य माग भनेको बजारभित्रको सडक पिच गरियोस् भन्नेछ,’ व्यापारी टीकाराम आचार्यले भने, ‘हामी यहाँ बजार व्यवस्थित भैसकेपछि पनि १४ वर्ष बसेका छौं, स्थायी रूपमा लालपुर्जा अनिवार्य पाउनु नै छ।’
विशाल बजारका १६५ घडेरीहरु यसअघि नै दर्ता प्रक्रियामा गएको तर मालपोतमा नै कागजात थन्किएको बजार व्यवस्थापन समितिका अध्यक्ष गजराज वयकले जानकारी दिए। लामो समयदेखि बजारमा व्यापारी निर्भर भएर बसेकाले स्थायी लालपुर्जा पाउनु पर्ने उनको भनाइ छ।
‘कोही घडेरी दर्ताका लागि मालपोतमा पुगिसकेका छन्,’ उनले भने, ‘यो रहरलेभन्दा पनि वाध्यताले बसालिएको बजार हो, प्रक्रिया पुर्याएर लालपुर्जा दिनु जरुरी छ।’
विशाल बजारलाई लालपुर्जा दिन सबैसँग समन्वय गरेर पहल गर्ने चौकुने गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीले बताए। विशाल बजारसहित चौकुने गाउँपालिकाभित्र मात्र ७० प्रतिशतको हाराहारीमा अस्थायी वस्तीहरू भएकाले तीन स्थायित्वको लागि संघीय, प्रदेश सरकारसंग समन्वय गरी स्थानीय सरकारका तर्फबाट पहल गरिने उनले बताए।
‘चौकुने गाउँपालिकाभित्र मात्र करिब ७० प्रतिशत अस्थायी वस्ती छन्, ती सबै उतिबेला जंगल अतिक्रमण गरेर बसालिएका बस्ती हुन्,’ अध्यक्ष शाहीले भने ‘अब ती बस्तीलाई उठाउन त सकिँदैन तर, अरु क्षेत्र अतिक्रमित हुन नदिनेगरी व्यवस्थित गर्छौँ।’