ललितपुरको बागडोल, मालपोखरीमा गत आइतबार पाँचवटा बाछी अलकत्रामा डुबेर मर्ने–बाँच्ने अवस्थामा भेटिए।
सडक निर्माण क्रममा चिनियाँ ठेकेदारले अलकत्रा बेवारिसे छाडेको रहेछ। बाछीहरू त्यसैमा डुबेछन्। छट्पटाइरहेका बाछीलाई अलकत्राको रासबाट अस्पताल कुदाउनु त परै जाओस्, ठेकेदारले खोलामा फाल्न निर्देशन दिएछ।
घाइते बाछीहरू खोला किनार अलपत्र परे। पीडाले कराउन थाले।
नवजीवन परोपकार समाजको उद्धार टोली पुग्दा दुइटा बाछीको ज्यान गइसकेको थियो। बाँकीको अवस्था गम्भीर थियो। ती कराउन नसकेर स्वाँस्वाँ गर्दै थिए। जीउभरि झिँगा भन्केका थिए।
नवजीवनले उद्धार गर्यो।
यो संस्थाले बेवारिसे कुकुर, बिरालो लगायत जनावर र विपतमा परेका मान्छेको उद्धार गर्दै आएको छ। बेवारिसे छाडिने चौपाया संख्या पछिल्लो समय बढ्दै गएको अध्यक्ष दुर्गानाथ दाहाल बताउँछन्।
उनका अनुसार काठमाडौं उपत्यकामा मात्र बेवारिसे चौपाया संख्या १० हजार हाराहारी छ। सडकमा अलपत्र यस्ता जनावर गाडीसँग ठोक्किएर दुर्घटना पर्ने गरेका छन्। दुर्घटनामा कतिको मृत्युसमेत भएको पाइएको छ।
ट्राफिक महाशाखा प्रवक्ता सुरेन्द्र मैनालीका अनुसार यो वर्ष जेठ महिनासम्म ११ वटा चौपायाको सडक दुर्घटनामा मृत्यु भयो।
‘घरमै पालिएका पशुसमेत सडक छेउछाउ चर्न छाडिन्छन्,’ उनले भने, ‘यसले ट्राफिक व्यवस्थापनमा समस्या ल्याउनुका साथै जनावरसँग ठोक्किएर सवारी दुर्घटना पनि हुने डर छ।’
आठलेनको रिङरोडमा सबभन्दा बढी चौपाया देखिन्छन्। बीचमा लस्करै चौपाया बस्दा सडक साँघुरिएको अनुभूति हुने सवारी चालक बताउँछन्। कतिपय ठाउँमा गाडीले हानेर मारेका चौपाया हप्तौंसम्म हटाइँदैन।
केही दिनअघि सूर्यविनायकमा बेवारिसे चौपायाको सडक दुर्घटनामा मृत्यु भएको स्थानीय प्रदीप श्रेष्ठले बताए। ‘कुहिएर वातावरणै दुर्गन्धित भएको थियो,’ उनले भने, ‘लामो समय प्रहरी र नगरपालिकाको ध्यान गएन।’
चौपाया घाइते भएको र दुर्घटनामा परेको खबर नवजीवन समाजमा दिनहुँजसो आउँछ। कोही लडेर खुट्टा भाँचिएको हुन्छ त केहीलाई गाडीले हानेर घाइते बनाएको हुन्छ।
यस्ता खबरबाट आजित दाहाल बढ्दो सहरीकरणले बेवारिसे चौपाया बढेको बताउँछन्।
पहिले काठमाडौं उपत्यका वरिपरि ग्रामीण बस्ती थिए। गाईवस्तु चर्न खुला जंगल र चउरको कमी थिएन। बाछीहरू दूधजन्य परिकारका लागि महत्वपूर्ण हुन्थे। बाछा जन्मिए खेत जोत्न पाइन्थ्यो।
आधुनिकता र अतिक्रमणले खुला चउर मासिए। ग्रामीण बस्तीमा सहरी रौनक पस्यो। खेत जोत्न आधुनिक उपकरण भित्रिए। घरेलु दूधजन्य परिकारलाई बजारको मिठाइले विस्थापन गर्यो। यस्तोमा बाछाबाछीको आवश्यकता घट्दै गयो।
चरन अभाव र बढ्दो महँगीले गाईवस्तु पाल्नु आवश्यकताभन्दा बोझ हुँदै गएको नवजीवनका अध्यक्ष दाहाल बताउँछन्। त्यही बोझले वस्तुभाउ बेवारिसे छाड्ने प्रवृत्ति बढेको उनको भनाइ छ।
अरू देशमा भए यस्ता गाईवस्तु मासु खान प्रयोग हुन्थ्यो। नेपालमा वर्जित छ। हिन्दु धर्ममा गाईलाई भगवान मानिने हुँदा मासु निम्ति किनबेच गर्न पाइँदैन। निर्यात गर्न पनि छुट छैन। यसले बिरामी र थारो गाई तथा बूढा गोरू सडकमा छाड्ने क्रम बढेको हो।
बेवारिसे चौपायामा बाछा बढी छन्। सहरमा यसको उपयोग नभएकाले पाल्नेहरू पनि बोझ मान्छन्।
भेटेरिनरी डाक्टर अवदेश झा भने यसको पनि समाधान भएको बताउँछन्। उनका अनुसार भेटेरिनरीमा ‘सेक्ससेमेन’ भन्ने प्रविधि छ, जसबाट बाछी मात्र पाउन सकिन्छ।
चौपायाबाट हुने दुर्घटना कम गर्न र तिनको सुरक्षा होस् भनेर केही दिनअघि विद्यार्थी समूहले रिङरोडमा एउटा कार्यक्रम गरेको थियो। उनीहरूले आर्ट अफ लिभिङ फाउन्डेसनको सहयोगमा त्यस्ता चौपायालाई ‘रिफ्लेक्टिङ रिबन’ लगाइदिएका थिए।
यस्तो रिबन राति ट्राफिकको लुगाझैं टल्किन्छ। सवारी चालकले सडक बीचमा चौपाया छ भनेर परैबाट देख्न सक्छन्।
यसले दुर्घटना केही हदसम्म कम हुने आर्ट अफ लिभिङकी निभा माथेमाको विश्वास छ। ‘यो अन्तिम समाधान होइन,’ उनले भनिन्, ‘सडकमा बढ्दो चौपाया नियन्त्रण गर्न सरकारी निकायको ध्यानाकर्षण होस् भनेर हामीले सांकेतिक पहल गरेका हौं।’
यस्ता चौपायाले बाटोका प्लास्टिक लगायत अस्वस्थकर खानेकुरा खान्छन्।
‘मानिसले प्लास्टिकमा पोको पारेर खानेकुरा फाल्छन्। त्यही खानेकुरा खाँदा वस्तुभाउले प्लास्टिक पनि खान्छन्,’ नवजीवन समाजका उपाध्यक्ष राधेश्याम खड्काले भने, ‘प्लास्टिक पचाउन नसकेर चौपायाहरु बिरामी पर्छन्।’
काठमाडौं उपत्यका बाहिरका नगरपालिकामा लामो समयदेखि बेवारिसे चौपायाको समस्या उठाइँदै आएको थियो। अहिले पनि धेरै नगरपालिकामा चौपाया व्यवस्थापन चुनौतीपूर्ण मानिन्छ।
काठमाडौं महानगरपालिकाले ट्राफिक प्रहरीसँग सहकार्य गर्दै नियन्त्रणको पहल गरेको जनाएको छ। महानगर कार्यालयका विष्णुप्रसाद जोशीका अनुसार साताको एक दिन ट्राफिक प्रहरीले बेवारिसे चौपाया समातेर लिलामीमा राख्छ।
उनका अनुसार हालसम्म ३ सय ६० चौपाया समातिएकामा ३ सय ३६ वटा लिलाम गरिएका छन्।
नवजीवनका उपाध्यक्ष खड्का भने बेवारिसे चौपाया व्यवस्थापन गर्न सम्बन्धित धनीलाई नै जिम्मेवार बनाउनुपर्ने बताउँछन्।
भखरै जन्मिएका बाछाबाछीको शरीरमा ‘माइक्रो चिप’ लगाइदियो भने कुन चौपाया कसको हो खुट्टयाउन सजिलो हुने उनी सुझाउँछन्।
‘चौपायाको शरीरमा माइक्रोचिप लगाइदियौं भने यही यन्त्रका माध्यमबाट मालिक थाहा पाउन सकिन्छ। कारबाही पनि गर्न सकिन्छ,’ उनले भने, ‘यस्तो यन्त्रको अनिवार्य नियम लगाए बेवारिसे चौपाया आफैं नियन्त्रण हुन्छ।’
सबै तस्बिरहरूः नारायण महर्जन/सेतोपाटी