सवारी दुर्घटनाको मुख्य कारण बनेको टिपर सहरी सडक निम्ति ‘प्राविधिक रूपले अनुपयुक्त’ पाइएको छ।
विदेशतिर ठूल्ठूला निर्माण स्थल र मरुभूमि क्षेत्रमा सामान ओसारपसार गर्न यसको प्रयोग हुन्छ। मान्छे र सवारी घुइँचो हुने ठाउँमा टिपर गुडाउन पाइन्न। नेपालमा भने मध्यसहरमै निर्माण सामग्री ओसार्न प्रयोग हुँदै आएको छ।
‘यो गाडी सहरभित्रको व्यस्त सडकका लागि बनेकै होइन,’ नेपाल यातायात स्वतन्त्र मजदुर संघका अध्यक्ष भीम ज्वाला राईले सेतोपाटीसँग भने, ‘विदेशतिर मरुभूमि र निर्माण स्थलभित्र मात्र चलाउन पाइन्छ, हामीकहाँ भने त्यस्तो नियम छैन।’
प्राविधिक रूपमा अनुपयुक्त सवारी जथाभाबी चलाउन दिँदा दुर्घटना बढेको र त्यसको सम्पूर्ण दोष यातायात मजदुरमाथि थोपरिएको उनको भनाइ छ।
पछिल्लो समय काठमाडौं उपत्यकामा हुने दुर्घटनामा टिपर मुख्य कारण रहेको ट्राफिक तथ्यांकले देखाउँछ। खासगरी मोटरसाइकल र स्कुटरजस्ता दुईपाङ्ग्रे सवारी टिपरसँग ठोक्किएर दुर्घटना पर्ने गरेका छन्। जेठ महिनामा मात्र यस्तो दुर्घटनामा ६ जनाको ज्यान गइसकेको छ। केही गम्भीर घाइते छन्।
यो समस्या उपत्यकाबाहिर पनि उत्तिकै छ। टिपर आउजाउ बढी हुने काभ्रेपलान्चोक र धादिङमा दुर्घटना दर उच्च छ। पूर्वी र पश्चिमी तराईमा पनि टिपरले धेरैको ज्यान लिइसकेको छ।
मान्छेको ज्यान जाने गरी हुने यस्ता दुर्घटनामा सबैले चालकको लापरबाहीमाथि नै दोष थोपर्छन्। यो मात्र कारण भने होइन।
लापरबाही सँगसँगै गाडी आफैंमा त्रुटिपूर्ण रहेको सम्बन्धित मजदुर तथा व्यवसायी बताउँछन्।
लगातार दुर्घटनाले दबाब बढेपछि टिपर व्यवसायी र यसमा काम गर्ने मजदुरबीच बुधबार छलफल भएको थियो। दुर्घटना कम गर्न व्यवसायी र चालक तर्फबाट के–कस्ता उपाय अपनाउन सकिन्छ भन्नेमा केन्द्रित उक्त छलफलमा टिपरको प्राविधिक समस्याबारे पनि कुरा उठेको सहभागीहरूले बताए।
के हुन् ती प्राविधिक समस्या? र, के हुन् टिपर दुर्घटनाका कारण?
अध्यक्ष राईका अनुसार यो गाडी आकस्मिक अवस्थामा नियन्त्रण गर्न मुश्किल हुन्छ। दायाँ–बायाँबाट कसैले अचानक सवारी छिरायो वा बाटोमा तुरुन्तै रोक्नुपर्यो भने गाह्रो पर्छ। रोक्न खोज्दा टिपर आफैं पल्टने वा अरू सवारीसँग ठोक्किने सम्भावना रहन्छ।
‘यहाँ प्रायः दुर्घटना यस्तै कारणले हुन्छ। कुनै दुई पाङ्ग्रे स्वाट्ट अगाडि आइदिन्छन् वा बायाँबाट ओभरटेक गर्दिन्छन्,’ राईले भने, ‘त्यस्तै टिपर चालकले पनि यताउता घुसाउन खोज्दा वा तीव्र गतिमा हाँक्दा नियन्त्रण गर्न मुश्किल हुन्छ।’
बागमती टिपर व्यवसायी संघका पूर्वअध्यक्ष शेरबहादुर कुँवर पनि गाडीको बनोट र केही मेकानिकल समस्याले सहरी सडकमा चलाउन अनुपयुक्त देखिएको बताउँछन्।
टिपरमा अगाडिको भाग अग्लो हुन्छ। उबडखाबड कच्चीबाटो वा निर्माण स्थलभित्र चल्ने भएकाले गाडीको तल्लो भाग र जमिनको दूरी (ग्राउन्ड क्लियरेन्स) बढी हुन्छ। चालक त्यही अग्लो भागमा बसेर गाडी हाँक्छन्।
चालक सिटमा बसेर हेर्ने हो भने अगाडि एक–दुई मिटरसम्मको भुइँ नदेखिने कुँवरले जानकारी दिए।
‘तपाईं टिपरको स्टेयरिङ सिटमा बसेर हेर्नुस्, गाडीको सिधा तल केही देखिँदैन,’ उनले भने, ‘यस्तोमा कुनै साना सवारी टिपरको एकदमै नजिक आयो भने चालकको आँखामा पर्दैन।’
टिपरसँग टाँसिएर ओभरटेक गर्ने र अगाडि आएर घ्याच्च रोकिने दुईपाङ्ग्रे सवारी बढी दुर्घटनामा परेको उनको भनाइ छ। गाडी ब्याक गर्दा पनि यस्तै समस्या आउने उनले बताए।
‘टिपरसँग कार, जीप वा अन्य ठूला सवारी ठोक्किएको खासै सुनिँदैन। यसको कारण के भने, ठूला सवारीहरू सिटबाट सजिलै देखिन्छन्,’ कुँवरले जिकिर गरे।
टिपरको अर्को प्राविधिक समस्या हो, शक्तिशाली इञ्जिन।
यसले गाडीमा भार धेरै भए पनि उच्च गतिमा हुइँक्याउन सकिने अध्यक्ष राई बताउँछन्।
ललितपुरका ट्राफिक प्रमुख सीताराम हाछेथू व्यवसायीका तर्कसँग सहमत छन्।
उनका अनुसार टिपरको बनावट बलियो हुन्छ। यसलाई सानोतिनो ठक्करले खासै असर गर्दैन। यसको ठक्करले भने अर्को सवारीलाई ठूलो क्षति हुन्छ।
‘दुई पाङ्ग्रे सवारी धेरै शिकार हुनुको कारण यही हो,’ हाछेथूले भने, ‘टिपर हेभी गाडी भए पनि वास्तवमा यो दायाँबायाँ मोड्न सजिलो हुन्छ। यसको पिकअप राम्रो छ। चालकको कम मिहिनेतमै जतासुकै सुलुसुलु बग्छ।’
यस्तै प्राविधिक समस्याले विदेशमा टिपरलाई ‘खतरा’ सवारी मानिन्छ। यसले दुर्घटना गराएका समाचार अन्य देशमा पनि सार्वजनिक भइरहन्छन्। दुर्घटना बढाएको भन्दै विदेशका धेरै सहरमा टिपर प्रवेश निषेध छ। अमेरिकाको फ्लोरिडामा चालकको लापरबाहीले टिपर दुर्घटना बढेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले औंल्याएका छन्।
‘विदेशतिर सहरमा टिपर देखिँदै देखिँदैनन्,’ राईले भने, ‘कि त राति चल्छन्, नभए विकल्पका अन्य गाडी प्रयोग हुन्छन्।’
प्राविधिक समस्या आफ्नो ठाउँमा छ, तर त्यसो भन्दैमा गाडीले आफैं गएर दुर्घटना गराउने होइन।
चलाउन सजिलो र प्राविधिक रूपले त्रुटिपूर्ण यस्तो गाडी लापरबाह चालकको हातमा परेकाले दुर्घटना बढेको हाछेथूको तर्क छ।
उनका अनुसार चालक सिटबाट हेर्दा गाडीको सिधा तल वा छेउमा केही देखिँदैन भन्ने थाहा हुँदाहुँदै चालक सतर्क हुँदैनन्। अझ दुईपाङ्ग्रे सवारी नजिक आयो भने त जानाजान पेल्न खोज्छन्। महिलाले स्कुटर चलाएको देख्यो भने अझ बढी पेल्न खोज्छन्।
दुईपाङ्ग्रे सवारीलाई ओभरटेक गरेर अघि बढ्न खोज्दा धेरै दुर्घटना हुनुले चालकको लापरबाही झल्काउँछ। यहाँ गाडीको प्राविधिक त्रुटि देखाएर चालकले उन्मुक्ति पाउँदैन।
ठूला गाडी हाँक्ने चालक अभावलाई पनि व्यवसायीहरूले दुर्घटनाको कारण बताएका छन्।
धेरै अनुभवी चालक वैदेशिक रोजगारमा गएकाले अपरिपक्व र आलाकाँचाले ठाउँ पाएको उनीहरूको भनाइ छ। त्यसमाथि ठूला गाडीको लाइसेन्स वितरणमा अनियमिता र कमजोर नियमनले दुर्घटना बढाएको उनीहरू तर्क गर्छन्।
राजधानीको टिपर आतंक घर र पूर्वाधार निर्माणसँग जोडिन्छ।
२०७२ को भुइँचालोपछि भित्री सहर र छेउछाउका इलाकामा हाउजिङ, अपार्टमेन्ट र व्यक्तिगत घर बन्ने क्रम तीव्र छ। रिङरोड विस्तार लगायत अन्य सडक निर्माण बढेका छन्। ढुंगा, गिटी, बालुवा तथा इँटा ओसार्न र माटो ल्याउन–फाल्न टिपरलाई भ्याइनभ्याइ छ।
पहिले यस्तो काममा मिनी–ट्रक बढी प्रयोग हुन्थे।
ट्रकभन्दा तीव्र र चलाउन सहज भएपछि २०५७ सालयता टिपर संख्या बढ्दै गएको व्यवसायी बताउँछन्।
यसको अर्को फाइदा, सामान खसाल्न सजिलो हो।
मिनी–ट्रकमा ढुवानी गर्दा सामान ‘अनलोड’ गर्न कामदार राख्नुपर्छ। एकट्रिप बालुवा–गिटी झार्न दुई–चार जना कामदार प्रयोग हुन्छ। टिपरबाट सामान झार्न मान्छे चाहिँदैन। ठेकेदारको ढुवानी लागत कम हुन्छ। यसले काठमाडौं उपत्यकामा टिपर संख्या ह्वात्तै बढेको हाछेथू बताउँछन्।
उनका अनुसार काठमाडौंमा मात्र दैनिक ८ हजार टिपर चल्छन्। तिनमा जतिसक्दो धेरै खेप ओसारेर बढी पैसा कमाउने होड छ।
कामको चाप बढेपछि टिपर व्यवसायीले चालकलाई भत्ता दिन थालेका छन्। टिपर चालकले प्रतिखेप पाँच सयदेखि १५ सय रुपैयाँसम्म भत्ता पाउँछन्। दिनभरिमा जसले जति खेप ओसार्न सक्यो, कमाइ उति बढी हुन्छ। यही लोभमा चालकहरू एकै दिन बढी ट्रिप भ्याउन खोज्छन्।
केही व्यवसायीले त चालकलाई धेरै खेप भ्याउन दबाब दिने गरेको मजदुर संघ अध्यक्ष राईले बताए।
अनुभवी चालकको कमी खट्किने यहीँनिर हो।
‘ढिलो गुडे कम पैसा, छिटो कुदे बढी पैसा’ शैलीमा कुद्न थालेका टिपरको स्टेयरिङ धेरैजसो ३० वर्षभन्दा कम उमेरका व्यक्तिको हातमा छ। कतिले भर्खरै लाइसेन्स लिएर चलाउन थालेको हाछेथूले बताए।
‘धेरै खेप ओसार्ने होडमा ती चालक जतिसक्दो हुइँक्याउँछन्,’ उनले भने, ‘यही क्रममा आकस्मिक बेला घ्याच्च रोक्न नसकिने, नजिकको सवारी नदेखिने र साना सवारीलाई अनाहक पेल्ने प्रवृत्तिले दुर्घटना बढेको हो।’
सवारी गतिको सीमा पालना नहुनु दुर्घटनाको अर्को कारण हो।
उदाहरणका लागि, भक्तपुर सडकमा ६० किलोमिटर प्रतिघन्टा गति सीमा तोकिएको छ। यहाँ दुईपाङ्ग्रे सवारी नै कम्तिमा ८० देखि १०० किलोमिटरसम्म गतिमा कुदिरहेका हुन्छन्। गाडी, टिपर, ट्याक्टरको अवस्था यस्तै हो। गाडीको क्षमताले जति सक्छ, त्यही गतिमा कुदाउन खोज्छन्। यस्तो बेला छिसिक्क केही भयो कि, ठूलै दुर्घटना हुन्छ।
चालकको लापरबाहीलाई दुर्घटनासम्बन्धी कमजोर कानुनी व्यवस्थाले प्रश्रय दिइरहेको छ।
हामीकहाँ दुर्घटना गराउने चालकलाई अहिलेसम्म दुई वर्ष कैदभन्दा बढी सजाय भएको छैन। दुर्घटनाको आर्थिक भार बेहोर्नु नपर्दा पनि चालक लापरबाह हुन्छन्।
नियम कडाइ गरेर चालकको लापरबाहीमा त अंकुश लगाउन सकिएला, गाडीको प्राविधिक त्रुटि सच्चिँदैन।
सहरी सडकमा गुडाउन प्राविधिक रूपले अनुपयुक्त यस्ता गाडी निरुत्साहित गर्दै विकल्प खोज्नुपर्नेमा सरोकारवालाको जोड छ।