प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी मातहतको पीडित महिलालाई तथा बालवालिकाहरुलाई माइती र अभिभावकको स्थानमा रहेर सेवा गर्न ‘महिला तथा बालवालिका सेवा केन्द्र’लाई आग्रह गरेका छन्।
शुक्रबार महिला तथा बालवालिका सेवा केन्द्र सुर्खेतको नवनिर्मित भवन उद्घाटन गर्ने क्रममा महानिरीक्षक खनालले महिलामाथि हुने अन्याय राष्ट्रमाथिकै अन्यायसरह भएको भन्दै उनीहरुलाई न्याय दिलाउन तत्परताका साथ लाग्न निर्देशन दिए।
‘पीडा लिएर प्रहरीमा न्याय माग्न आउने महिलाहरुलाई सुखी महसुश गर्नेगरि न्याय दिलाउँदै विदा गर्नुस्’ महानिरीक्षक खनालले भने, ‘सेवा केन्द्र पीडित महिलाको लागि माइतीकै रुपमा रहोस् ।’ गम्भीर प्रकृतिका हिंसाका घटना तथा बलात्कारका घटनामा मिलापत्र गर्न नहुनेमा जोड् दिँदै खनालले पहुँच र पँैसाका भरमा यस्ता घटनामा मिलापत्र हुने अपराध भएको उल्लेख गरे ।
समृद्ध समाज निर्माणका लागि आपराधिक मनस्थिति समाप्त हुनुपर्ने महानिरीक्षक खनालको भनाई थियो ।
प्रहरीको अपराध अनुसन्धान विभागका धिर बस्नेतले कर्णाली प्रदेशमा व्याप्त बहुविवाह, जबरजस्ती करणीका घटनाहरुलाई नियन्त्रण गर्नेगरि प्रहरीले काम गर्नुपर्नेमा जोड् दिए ।
एक करोड बढीको लागतमा भवन
नेपाल सरकार र एशियाली बैंकको आर्थिक सहयोगमा सुर्खेतमा महिला तथा वालवालिका सेवा केन्द्रको भवन निर्माण गरिएको छ । एक करोड ३९ लाख रुपैयाँको लागतमा उक्त भवन निर्माण भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए । हिंसा पीडित महिला तथा बालवालिकालाई कानूनी उपचार दिन सेवा केन्द्रले महत्वपूर्ण भूमिका खेल्ने उनले विश्वास व्यक्त गरे ।