तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ बेलुवामा ट्रष्ट पुलको शुक्रबार उद्घाटन गरिएको छ। पुलले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ र ९ का स्थानीयलाई आवात जावात गर्न सजिलो भएको छ ।
३२ मिटर लामो पुल करिब तीन महिनामा निर्माण पुरा भएको जानकारी दिइएको छ। सेवा प्रतिष्ठान नेपालको पहलमा तथा जिल्ला प्राविधिक कार्यालय दाङको क्षेत्रगत कार्यक्रम अन्तर्गत पुल निर्माण भएको हो।
पुल निर्माणका लागि २६ लाख ४६ हजार दुई सय २४ रुपैंयाको स्टिमेट गरिएता पनि २४ लाख ४४ हजार ५ सय ४५ रुपैंयामा पुल निर्माण कार्य पुरा भएको सेवा प्रतिष्ठान नेपालका अध्यक्ष पदम भण्डारीले कार्यक्रममा जानकारी दिए ।
तुलसीपुर उपमहानगरपालिकाको एक लाख ५८ हजार सात सय ७४ , जिल्ला प्राबिधिक कार्यालय दाङको क्षेत्रगत कार्यक्रम अन्तरगत २१ लाख ७३ हजार ६ सय ८३ र ५२ हजार बराबरको जनश्रमदान बाट पुल निर्माण भएको कार्यक्रममा जानकारी दिइएको छ।
त्यसमा पुल संरक्षणका लागि आरसिसी वाल निर्माण गर्नू तुलसीपुर उपमहानगरपालिकाले थप पाँच लाख रकम अनुदान सहयोग गरेको जानकारी दिइएको छ ।
पुल निर्माण समितिका अध्यक्ष दुर्गा प्रशाद शर्माको अध्यक्षता तथा जेष्ठ नागरिक दण्डपानी उपाध्यायको प्रमुख आतिथ्यतामा पुलको उद्घाटन गरिएको हो ।
जेष्ठ नागरिक उपाध्यायले रिबन काटेर पुलको उद्घाटन गरेका हुन । पुल निर्माण भएसंगै झण्डै १५ टोलका नागरिक लाभाम्बित भएका छन् ।