शिक्षाको स्तर सुधार गर्न राज्य र राजनीतिक नेतृत्व गम्भीर हुनुपर्ने शिक्षा क्षेत्रका अगुवाहरुले बताएका छन्। शिक्षाको स्तर कमजोर बन्दै गएको स्वीकार गर्दै उनीहरुले शिक्षालाई स्तरीय बनाउने दायित्व राज्यको भएको बताए ।
शिक्षकहरु संगठनको झोला बोकेर विद्यालय आउने र संगठनहरुले पनि क्षमताहिन र काम नगरी ठग्ने शिक्षकहरुलाई नेतृत्व दिन बन्द नहुँदासम्म विद्यार्थीले स्तरीय शिक्षा निन नसक्ने बताए ।
बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा आफ्नो अवधारणा प्रस्तुत गर्दै शिक्षा पत्रकार समूहका सदस्य कृष्ण मल्लले शिक्षामा सरकारी र निजी दुवै क्षेत्रबाट मनपरी भएको बताए ।
उनले सरकारी र निजी दुवै क्षेत्रका कमजोरीलाई सुधारेर मात्र शिक्षामा सुधार आउन सक्ने भन्दै केही विद्यार्थीले राम्रो जिपीए ल्याउँदैमा विद्यालयमा विद्यार्थीको भिड जम्मा पार्दैमा त्यो विद्यालयको शैक्षिकस्तर राम्रो भएको मान्न नसकिने बताए ।
‘माध्यमिक तह उत्तिर्ण गरेको विद्यार्थीले बुझ्नेगरी आफ्नो पाठ पढ्न सक्दैन अनि अंग्रेजी बोल्न जान्दैमा र चिटिक्कको पोशाकमा दुई चार सय विद्यार्थी जम्मा पार्दैमा त्यो विद्यालयको स्तर राम्रो छ भनेर कसरी मान्न सकिन्छ?’, उनको प्रश्न थियो ।
कुनै पनि विद्यार्थीले एक वर्षसम्म लिएको ज्ञानको परीक्षा ३ घण्टाको अवधीमा दिन नसक्ने भन्दै वर्षैभरीको विद्यार्थीको शैक्षिक कृयाकलापको मूल्यांकनको आधारमा अंक दिनुपर्ने बताए। उनले हरेक वर्ष विद्यार्थीहरुले परीक्षा दिएजस्तै शिक्षकहरुले पनि शिक्षण परीक्षा दिनुपर्ने बताए।
राष्ट्रिय परीक्षा वोर्ड बुटवलका प्रमुख टिकाराम अर्यालले एकआपसमा आरोप प्रत्यारोप भन्दा पनि सबै मिलेर शिक्षामा सुधार ल्याउनुपर्ने बताए। स्तरीय शिक्षाका लागि राज्यले मापदण्ड बनाउनुपर्ने भन्दै उनले पाठ्यपुस्तक र पाठ्यक्रम वैज्ञानिक हुनुपर्ने बताए।
बुटवल उपमहानगरपालिकाका शिक्षा महाशाखाका प्रमुख लोकराज पन्थीले स्तरीय शिक्षाका लागि नितिगत रूपमै स्पष्ट हुनुपर्ने बताए। स्पष्ट नीति र लगानीको अभावले गुणस्तरीय शिक्षा दिनमा समस्या रहेको बताए।
प्याब्सन प्रदेश नम्बर पाँचका अध्यक्ष कृष्ण खनालले शिक्षाको स्तरवृद्वि गर्न अहिलेको शिक्षा प्रणालीलाई परिवर्तन गर्नुपर्ने बताए । अहिलेको परम्परागत शिक्षा प्रणाली निजी क्षेत्रको बाधक रहेको उनको गुनासो छ।
कालिका माध्यमिक विद्यालयलका प्रधानाध्यापक घनश्याम पाठकले पाठ पढेर परिक्षामा ल्याउने अंक मात्र नभई आफ्नो राष्ट्रियता, संस्कार, संस्कृति र व्यवहारसंग मेलखाने शिक्षालाई मात्र स्तरीय शिक्षा भन्न सकिने बताए।
शिक्षकहरूको कार्यअवधि १० देखि ४ बजेसम्म मात्र हो भन्ने बुझाईमा परिवर्तन नआउँदासम्म शिक्षकहरुको मनोबल नबढ्ने र मनोबल कमजोर भएका शिक्ष्ँकहरुको शिक्ष्ँण स्तरपनि कमजोर हुने उनले बताए ।
‘शिक्षकले १० बजेभन्दा अघि र चारबजे पछि पनि पाठ्यक्रमको तयारी गरेर मात्र कक्षा कोठामा जानुपर्छ तर अतिरिक्त समयमा खट्ने शिक्षकहरुलाई पनि राज्यले सम्मान गर्न सकेको छैन यस्तो प्रवृत्तिले शैक्षिकस्तर सुधार गर्न सकिदैन,’ उनले भने ।
प्याव्सनका केन्द्रिय सल्लाहकार लोकनाथ उपाध्यायले शिक्षामा नीजि क्षेत्रले पुर्याउँदै आएको योगदानलाई राज्यले चिन्न नसकेको बताए ।