आइतबार रातिदेखि झरेको पहिरोको कारण अवरुद्ध भएको बुटवल तानसेन सडकखण्ड एकतर्फी रूपमा सञ्चालनमा आएको छ।
सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका वडा नं. ३ हेडबक्स नजिकै माथिबाट झरेको पहिरो हटाएर एकतर्फी रूपमा बाटो खुलाइएको प्रहरीले छ।
तर पानी परिरहेको र लेदोमाटो झरिरहेकोले सडक कतिबेला अवरुद्ध हुन्छ भन्न नसकिने पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।
सिद्धबाबा मन्दिरदेखि केहीमाथि रहेको हेडबक्स नजिकै आइतबार राति ११ बजेदेखि लेदोमाटो र ढुंगासहितको पहिरो झरेको थियो।
सडक एकतर्फी रूपमा भए पनि खुलेपछि रातिदेखि बुटवलतर्फ र दोभानतर्फ रोकिएका सवारी साधनहरू सञ्चालन भएका छन्। हिउँद होस् वा वर्षा जुनसुकै समयमा पनि हिले र धुले पहिरोको कारण जोखिम मानिने बुटवल तानसेन सडकखण्डमा यात्रुहरूले त्रासमा यात्रा गर्न बाध्य छन्।
यो सडक हुँदै पाल्पा, गुल्मी, स्याङ्जा, पोखरा, बाग्लुङ, अर्घाखाँची तथा जिल्लाकै विभिन्न स्थानबाट सवारीसाधन बुटवल आवतजावत गर्ने गर्दछन्।
सिद्धबाबा सडकखण्डको विकल्पको रूपमा झुम्सा–चौकीभन्ज्याङ–मुढाबास–चरङगे–धागो कारखाना ट्रयाक खोलिए पनि सवारीसाधन ओहोरदोहोर गर्न अझै सक्ने अवस्था छैन।
यता रातिदेखि परेको पानीका कारण रुपन्देहीको भैरहवा, मणिग्राम, बेथरी लगायतको क्षेत्र डुबानको जोखिममा परेको छ। जिल्लामा सडक निर्माण भइरहेको र सडकको नाली तथा ढल समेत थुनिएकोले भैरहवाको भित्री बजार क्षेत्र जलमग्न भएको छ।