एक वर्ष आगाडी आएका विनासकारी बाढीले कटान गरेपछि यस वर्ष अस्थायी रुपमा यस लालबकैया नदिमा बाँधिएको तटबन्ध बाढीले कटान गर्न थालेपछि रौतहटका एकदर्जन बढी गाऊँ जोखिममा परेका छन् ।
तीन दिन देखि भइरहेको वर्षाका कारण रौतहटका दर्जन बढी गाँऊहरु डुवान र बाढीको जोखिममा परेका हुन् ।
पूर्वतर्फ रहेको वाग्मती र पश्चिममा रहेको लालबकैया नदिमा पानीको सतह बढेपछि यस्तो अवस्था आएको हो।
लालबकैया नदीको कटानले बौधीमाई नगरपालिका २ स्थित इनर्वाटोल नजिकैको बाँधमा भत्काउन थालेको छ । बाढीले इनर्वाटोल नजिकै करीव एकसय मिटर बाध कटान गरिसकेको छ ।
सो स्थानमा रहेको एक मिटर चौडाइ बाँध भत्किएको खण्डमा बस्तिमा बाढी पस्ने खतरा छ । इनर्वाटोलमा करिब दुई सय ५० घर रहेका छन् ।
तीव्ररुपमा कटान भइरहेको र बाँधको एक मिटर चोडाइ भाग मात्र भत्कीन बाँकी रहेकोले स्थानिय प्रशासनले नजिकै रहेका बस्तिका बासिन्दालाई सुरक्षित स्थान इनर्वा प्राविमा सार्ने तयारी गरेको छ ।
गतबर्षको बाढीले कटान गरेको करीव तीनसय मिटर बाँध जल उत्पन्न प्रकोप तथा नदी नियन्त्रण डिभिजन कार्यालयले केही दिन अघि मात्रै अस्थायीरुपमा मर्मत गरेको थियो ।
रौतहटका कटहरीया नगरपालिकामा पनि कटान भएको छ। सो स्थानमा स्थानिय तथा सुरक्षाकर्मीले नियन्त्रणको प्रयास गरिरहेका छन ।
बाँध कटान हुन थालेको खवर पछि रौतहटका सिडीओ गोबिन्द प्रसाद रिजालको टोली कटान क्षेत्रमा पुगेको थियो ।
‘अस्थायीरुपमा निमार्ण गरेको बाध भत्किन थालेको छ, पानी रोकिएन भने बस्ति डुवानमा पर्ने खतरा छ’, रौतहटका सिडिओ रिजालले भने।
कटान रोक्नका लागी नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका छन् भने नेपाली सेनाको टोलीलाई उद्धारकार्यमा खटिनका लागि तयारी अवस्थामा राखिएको सिडीओ रिजालले बताए ।
तत्काल बाँध नियन्त्रण नगरे ठुलो क्षति पुग्ने भन्दै बाँध नियन्त्रणका लागी सरकारले तदारुकता देखाउनुपर्ने माग बौधिमाइ नपा २ का वडा अध्यक्ष रामबाबु कुश्वाहले गरेका छन् ।
रौतहटमा सोमवार साँझबाट पानी पर्न रोकिएको छ तर, नदिमा पानीको स्तर घटेको छैन् ।