असार ९ गते राति अज्ञात समूहबाट जलाइएकी रुपन्देहीको कञ्चन गाउँपालिका वडा नम्बर ५ की समिक्षा ठकुरीको परिवारले शुक्रबार बल्ल प्रहरीमा जाहेरी दिएको छ।
घटना घटेको १३ दिनपछि परिवारले ईलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दिएको हो । असार ९ गते राति ३ बजेको समयमा अज्ञात समूहले समिक्षालाई मट्टितेल खन्याएर जलाएका थिए ।
जलाइएकी समिक्षालाई आफन्तले १० गते बिहानै लुम्बिनी अञ्चल अस्पतालमा ल्याए पनि उपचार हुन नसकेपछि पाल्पा हुँदै काठमाडौं ‘रेफर’ गरिएको थियो । तर उनको ९ दिनपछि कीर्तिपुर अस्पतालमा मृत्यु भएपछि परिवारले घटनाको सत्यतथ्य सार्वजनिक हुनुपर्ने र दोषीमाथि कारबाहीको माग गर्दै ईलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दर्ता गरेका हुन् ।
असार २० गते बिहान साढे ६ बजे मृत्यु भएकी समिक्षाको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल काठमाडौंमै राखिएको छ । घटना भएको जानकारी पाउना साथ घटनास्थल पुगेको प्रहरीले अनुसन्धान अगाडि बढाएको बताएको छ ।
ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक डिल बहादुर मल्लले मृतकका आफन्तले कार्यालयमा उजुरी दिएको र आफूहरूले यसअघि नै अनुसन्धान सुरू गरेको बताए ।
मृतककी आमा माया थापा, मामा बोम दर्लामी लगायतको टोली ईलाका प्रहरी कार्यालयमा आई घटनाको छानविन र दोषी उपर कारबाहीको माग गरेका छन्।
आमा मायाले परिवारकै अन्य सदस्यले आफ्नी छोरीलाई मट्टितेल खन्याएर आगो लगाएको आरोप लगाएकी छिन् । १५ वर्षदेखि मामा घरमा बसेर पढ्दै आएकी समिक्षा गत तिहारपछि मात्र आफ्ना बुवासँगै बस्दै आएकी थिइन् ।
समिक्षाका बुवा तेजेन्द्र ठकुरीले अर्की श्रीमती ल्याएपछि आफ्नी आमासँगै मामाघर बस्दै आएकी उनले कक्षा १० मा पढ्न बुवासँगै बस्दै आएकी थिइन् । समिक्षाकी आमा भने माइतीमै बस्दै आएकी छन् ।
छोरीलाई कक्षा ९ मा भर्ना गरेपछि पढाउने, हुर्काउने भन्दै एक वर्षअघि इराक पुगेकी आमा माया तीन दिन अघि मात्र नेपाल आएकी हुन् ।
श्रीमानले दोस्रो विवाह गरेपछि माया १६ वर्षदेखि माइतीमा बस्दै आएकी छन् । घटना घटेको थाहा पाएपछि नेपाल आएकी मायाले परिवारले छोरीलाई बारम्बार यातना दिने गरेको र परिवारकै सदस्यले नै मट्टितेल खन्याएर आगो लगाएको आरोप लगाएकी छन्।