गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीका हत्या आरोपी छविलाल पौडेललाई पुर्पक्षका लागि थुनामा राखिएको छ। आइतबार आत्मसमर्पण गरेका पौडेललाई सर्वोच्च अदालतको आदेशपछि डिल्लीबजार कारागारमा राखिएको हो।
यसअघि जिल्ला अदालत चितवनले पौडेललाई २०७१ वैशाख ४ गते धरौटीमा रिहा गरेको थियो। पुनरावेदन अदालत हेटौंडाले पनि जिल्ला अदालत चितवनको निर्णय सदर गरिदिएको थियो।
अधिकारीको परिवार पुनरावेदनको आदेशविरूद्ध सर्वोच्च गएका थिए।
२०७२ पुसमा न्यायाधीश गिरिशचन्द्र लाल र दीपकराज जोशीको इजलासले पुनरावेदनको आदेश बदर गर्दै पौडेललाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो।
सोही आदेशअनुसार उनी आफैं अदालतमा उपस्थित भएका हुन्।
छोराका हत्यारालाई कारबाही गर्नुपर्ने माग गर्दै कृष्णप्रसादकी आमा गंगामाया अधिकारी वीर अस्पतालमा अनसन बसिरहेकी छन्।
यसअघि सोही माग गर्दै अनसन बसेका कृष्णप्रसादका बुवा नन्दप्रसादको अनसनकै क्रममा निधन भएको थियो।
कृष्ण अधिकारीको चितवनमा २०६१ जेठ २४ मा हत्या भएको थियो। हत्याको जिम्मा तत्कालीन नेकपा माओवादीले लिँदै आएको छ।
(यसअघिको शीर्षक सच्याइएको।)