मानसिं धामी बाजुराको खोलामा झोलुंगे पुल बनाउँदै थिए। एक्कासि डाँडाबाट खसेको ढुंगा बज्रियो। ज्यान जोगिए पनि उनको एउटा खुट्टाको जोर्नी फुस्कियो, अर्को खुट्टा भाँचियो।
यो २०७५ असार १७ को घटना हो।
बाजुरामा उपचारको राम्रो व्यवस्था थिएन। ‘सेवक नेपाल’ भन्ने गैरसरकारी संस्थामा काम गर्ने धामीलाई स्ट्रेचरमा राखेर कालिकोटको जिते बजार लग्ने र त्यहाँबाट संस्थाको गाडीमा कर्णाली राजमार्ग हुँदै नेपालगन्ज पुर्याउने सल्लाह भयो।
भोलिपल्ट बिहान ४ बजे नै संस्थाको गाडी उनलाई लिन नेपालगन्जबाट कुद्यो। घाइते धामीलाई बेलुकीसम्म नेपालगन्ज ल्याउने योजना थियो। तर, गएको गाडी आधी बाटो पनि नपुगेर १९ गते त्यसै फर्कियो।
बाटोभरि टेलिफोन सम्पर्कमा रहेका गाडी चालक धामीलाई लिन कालिकोट पुग्न नसक्नुको कारण थियो, कर्णाली राजमार्गको अवस्था।
उनी पहिरो आएर पाँच घन्टा राजमार्गको दैलेख खण्डमै रोकिनुपर्यो। झरी र पहिरोले बाटो हिलाम्मे थियो। गाडी गुड्न सक्ने अवस्था थिएन। उनी त्यो रात गाडीमै सुते। भोलिपल्ट पनि बाटो नखुलेपछि दिउँसो एक्लै नेपालगन्ज फर्किए।
धामीलाई ठाउँ–ठाउँमा गाडी परिवर्तन गर्दै २० गते बल्ल नेपालगन्ज अस्पताल पुर्याइयो।
दशकौंअघि ट्रयाक खोलिएको कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडक खण्ड करिब चार वर्षअघि कालोपत्रे गरिएको हो। भौगोलिक कठिनाइ रहेको यो सडक खण्डमा अन्य भौतिक संरचना निर्माण नगरी सामान्य कालोपत्र मात्र गर्दा बर्खाको समय यात्रुहरूले यस्तै सास्ती खेप्दै आएका छन्।
सडक खण्डमा पर्ने खोलाहरूमा पुल बनेका छैनन्। बर्खामा बाढीले समस्या पार्छ। आवश्यक ठाउँमा पर्खाल नबनाउँदा पहिरोले पनि सताउँछ।
सामान्यतया एक दिनको यो बाटो पार गर्न बर्खा बेला तीन दिनसम्म कष्टपूर्ण यात्रा गर्नुपर्ने कालिकोटका सुजन नेपाली बताउँछन्।
असार १८ गते राजमार्गको दैलेख, सांगेतडामा सडकभरि हिलो थियो। हिलाम्मे बाटोमा सानो जीप फसेपछि करिब २ सय गाडी जाममा परे।
तीमध्ये जुम्ला जान लागेको एउटा बसमा सुजन आफ्नी श्रीमती र डेढ वर्षे छोरीसहित यात्रा गर्दै थिए। सुजन र उनकी श्रीमतीले तत्काल बाटो खुल्ने संकेत देखेनन्।
गाँसबासको बन्दोबस्त गर्न उनीहरू नाबालक छोरीसहित एक घन्टाभन्दा बढी हिँडेर पाल्तडा बजार गए।
‘हामीले बारम्बार यस्तो समस्या भोगेका छौं,’ छोरीलाई पानीले भिजाउने डरले छातीमा लपक्क टाँसेर सडक पार गर्दै गरेका सुजनले भने, ‘हिउँदको समय त जोखिमपूर्ण यात्रा गरेर भए पनि गन्तव्य पुग्न सकिन्छ, बर्खा लागेपछि जोखिमपूर्ण मात्र झनै कष्टकर हुन्छ।’
हामीले कर्णाली राजमार्गको अवस्थाबारे स्थानीय चालकहरूसँग पनि कुरा गरेका थियौं।
सुर्खेतका बलबहादुर सुनारले गाडी चलाउन थालेको १८ वर्ष भयो।
कर्णाली राजमार्ग खुलेदेखि यहाँ गाडी चलाउँदै आएका सुनार जिन्दगीकै सबभन्दा कठिन र जोखिमपूर्ण यात्रा यही सडकमा गरेको अनुभव सुनाउँछन्।
‘रारा जाने बाटो यही पर्यो, पर्यटकहरूलाई लिएर यो बाटो हिँडिरहनुपर्छ,’ उनले भने, ‘बर्खाको समय जतिबेला पनि यहाँ दुःख पाइन्छ। यो बाटो नै यस्तै छ।’
कर्णाली राजमार्गअन्तर्गत सुर्खेत–जुम्ला सडक खण्ड २ सय ३२ किलोमिटर छ। त्यसमध्ये सुर्खेतदेखि दैलेख र कालिकोटको सिमानामा पर्ने दहीखोलासम्म १ सय ३२ किलोमिटर डिभिजन सडक कार्यालय सुर्खेतले हेर्छ।
यो खण्डमा मात्र १२ वटा पुल निर्माणाधीन रहेको डिभिजन सडक कार्यालय सुर्खेतका इन्जिनियर देवेन्द्र भट्टाराईले जानकारी दिए। उनका अनुसार अहिलेसम्म १६ वटा पुलमध्ये चारवटा मात्र बनेका छन्।
दैलेखको दही खोला र कालिकोटको गगने खोला बर्खा बेला दुःख पाइने मुख्य क्षेत्र हुन्। झरी परेपछि दुवै ठाउँमा ठूलो पहिरो आउँछ। कहिलेकाहीँ पहिरो पन्छाएर सवारी आवागमन खोल्न दुई–तीन दिन लाग्छ।
डिभिजन सडक कार्यालय सुर्खेतका प्रमुख बेलप्रसाद भुजेलले आफ्नो कार्यक्षेत्रमा पर्ने सडक खण्डमा पहिरो जाँदा तत्काल पन्छाउन दुईवटा डोजर तयारी अवस्थामा राखेको बताए। दैलेखको तल्लो डुंगेश्वर र राकममा सबभन्दा बढी पहिरो जान्छन्।
डोजर लगायत सामग्री तयारी अवस्थामा राखे पनि यात्रुहरूको समस्या तत्काल समाधान हुन सकेको छैन।
उता, दहीखोलादेखि जुम्लासम्मको सय किलोमिटर सडक खण्ड डिभिजन सडक कार्यालय जुम्लाले हेर्छ। बर्खामा उक्त सडक खण्डको गगने खोला र मान्म नजिकको सुनार खोलामा पहिरोले समस्या ल्याउँछ।
डिभिजन सडक कार्यालय जुम्लाका प्रमुख माधव अधिकारीले तत्काल समस्या सुल्झाउन कालिकोटको हुल्म र गगने खोलाछेउ डोजर राखिएको जानकारी दिए।
‘पहिरो आउँदा बाटो खोल्न डोजर तयार राखेका छौं, तर भौगोलिक कठिनाइ भएका यस्ता ठाउँमा हामीले चाहँदा चाहँदै पनि समयमा काम गर्न सकिन्न,’ उनले भने।
‘पहिरो आउने ठाउँमा पानी पर्दा लगातार ढुंगा बर्सिन थाल्छन्, यस्तोमा काम गर्न अघि सरे डोजर चालकको ज्यानै जोखिममा पर्छ,’ उनले भने, ‘पानी पर्न रोकिएपछि मात्र हामी काम सुरु गर्छौं।’
झरी र पहिरोको यो समस्या कर्णाली राजमार्गमा चाहिनेजति भौतिक पूर्वाधार नहुनुको परिणाम हो।
‘सरकारले सडक खण्डमा पर्ने सबै खोलामा पक्की पुल र पहिरो आउने ठाउँमा बलियो पर्खाल लगाइदिएको भए यो समस्या सधैंका लागि अन्त्य हुन्थ्यो,’ उनले भने, ‘सरकारको जोड भने सडक कालोपत्रे गर्नमा मात्र केन्द्रित छ।’
त्यो नहुँदासम्म अरू धेरै मानसिं धामीहरूले यो सडकमा घाइते हुँदा तीन दिनसम्म अस्पतालको मुख देख्न पाउनेछन्।