काठमाडौं, कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको पुस्तकालय साघुँरो थियो। किताब अव्यस्थित थिए। न लेखकको नामअनुसार क्रम मिलाएर राखेको, न शीर्षकअनुसार।
कुनै किताब खोज्यो भने फेला पार्नै महाभारत।
पढ्ने ठाउँ पनि उस्तै — अँध्यारा, साँघुरा।
एउटा भनाइ छ– खराब पुस्तकालयले किताब थुपार्छ, राम्रो पुस्तकालयले सेवा दिन्छ र उत्कृष्ट पुस्तकालयले समुदाय बनाउँछ।
प्रतिष्ठानको पुस्तकालय पनि अब स्वरुप फेर्दैछ। अघिल्लो साताबाट यसले नयाँ भवन पायो। पुरानो भवनपछाडि खाली जग्गामा ‘नेपाल–भारत मैत्री भवन’ निर्माण भएपछि नयाँ पुस्तकालय बनेको छ।
तीनतल्ले भवनको पहिलो तल्लामा छापाखाना छ। त्यहाँ पुस्तक छापिन्छ। बाइन्डिङ गरिन्छ। तेस्रोमा सभा–सम्मेलन गर्ने हल छ। बीचको तल्लामा छ, नयाँ पुस्तकालय।
यसको अवस्था पहिलेभन्दा सुधारिएको छ। किताबहरू दराजमा लस्करै मिलाएर राखिएका छन्। खोज्न सजिलो छ। पढ्ने वातावरण पनि शान्त।
‘पहिले परम्परागत शैलीको थियो। किताब छरपस्ट थिए। नयाँमा डिजिटल शैली अपनाएका छौं,’ प्रतिष्ठानका सदस्य–सचिव जिवेन्द्रदेव गिरीले सेतोपाटीसँग भने।
सहरको केन्द्रमा रहेको यो पुस्तकालयलाई देशकै नमूना बनाउने योजना रहेको उनले बताए।
गिरीका अनुसार यहाँ किताबलाई डिजिटल शैलीमा क्रम मिलाएर राख्ने (क्याटलगिङ) काम भइरहेको छ। यसले कुन किताब कुन दराजको कुन छेउमा छ सजिलै खुट्टिन्छ।
प्रतिष्ठानले सेवाग्राहीको सुविधा निम्ति घरैबाट किताब खोज्ने सुविधा दिँदैछ। तपाईं आफूलाई चाहिएको किताब यहाँ छ कि छैन भनेर वेबसाइटमा खोज्न सक्नुहुन्छ।
यहाँ करिब ३० हजार पुस्तक संग्रहित छन्। प्रतिष्ठानले निकाल्ने अनुसन्धानात्मक किताबको राम्रो संकलन छ। पुराना र दुर्लभ किताब खोज्ने पाठकका लागि यो विशेष थलो हो।
२०१४ सालमा ‘नेपाल साहित्य कला एकेडेमी’ को जन्म भएको थियो। त्यतिबेला महाकवि लक्ष्मीप्रसाद देवकोटा शिक्षामन्त्री थिए।
एकेडेमी खुले पनि आफ्नो निश्चित ठाउँ थिएन। घट्टेकुलोको एउटा घरमा भाडामा चलाइएको थियो। पछि धरहरानजिकै बंगलामा सारियो। तत्कालीन राजा महेन्द्रले कमलादीको अहिलेको ठाउँमा जग्गा उपलब्ध गराए। त्यही जग्गामा २०२६ सालतिर अहिलेको भवन बनेको हो।
यही एकेडेमीलाई पछि नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान नामकरण गरियो, जुन २०६१/६२ को जनआन्दोलनपछि प्रज्ञा प्रतिष्ठानमा परिणत भयो।
पहिले यहाँ साहित्यदेखि संगीत, नाटक, ललितकला सबै विधाको शोध हुन्थ्यो। पछि २०६८ मा ललितकला प्रज्ञा प्रतिष्ठान र २०६९ सालमा संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान गठन भयो।
प्रज्ञा प्रतिष्ठान सबैभन्दा पुरानो छापाखाना भएको संस्था पनि हो। यही संस्थाबाट साहित्यकार तथा अनुसन्धानदाताहरु किताब छपाउँथे। अब नयाँ भवनबाट सञ्चालन हुने ‘प्रज्ञा आधुनिक छापाखाना’ मा आधुनिक छपाइ, कटिङ, बाइन्डिङ, स्क्यानिङ सेवा उपलब्ध छन्।
प्रेस सञ्चालक वासु ढकालका अनुसार यो छापाखानाले प्रतिघन्टा करिब १५ हजार किताब छाप्न सक्छ। मान्छे लगाएर घन्टौं समय खर्च हुने फोल्डिङ, बाइन्डिङ लगायत काम मेसिनले गर्छ। पुरानो छापाखानाको क्षमता कम थियो, ब्ल्याक एन्ड ह्वाइट मात्र छाप्थ्यो। यसले रंगीन पनि छाप्छ। अब यही प्रेसबाट प्रज्ञाका पुस्तक छापिनेछन्।
‘भविष्यमा पाठकको मागअनुसार स्क्यान गरेर घरमै उपलब्ध गराउने योजना छ,’ उनले भने।
नयाँ भवनमा छपाइ र पुस्तकालयको चाँजो मिलाइँदै गर्दा भुइँचालोले जीर्ण पुरानो भवनमा ‘रेट्रोफिट’ को काम चल्दैछ। प्रज्ञाको हल र पुरानो पुस्तकालयमा पनि जीर्णोद्धार भइरहेको छ। बाँकी कक्षमा प्रज्ञाका कार्यालय सञ्चालित छन्। जीर्णोद्धारपछि पुरानो पुस्तकालयलाई संग्रहालय बनाउने योजना रहेको गिरीले बताए।
‘यो भवन साहित्य, कला, संस्कृति, नाटक लगायतको इतिहास बोकेको संस्था हो। पुरानो पुस्तकालय जीर्णोद्धार गरेर पुराना र ऐतिहासिक सामग्री राख्ने योजना छ,’ गिरीले भने, ‘यसमा कलाकारले लाउने पोसाक, मञ्च सजावटमा प्रयोग हुने सामान र बाजाहरू राखिनेछन्।’
यी सामग्री भुइँचालोपछि लथालिंग अवस्थामा छन्। बाजाहरू त चिसोले मक्किने अवस्थामा छन्। नाटकमा लगाइने पहिरन बाकसमा थन्किएका छन्।
प्रतिष्ठान कर्मचारीका अनुसार कुनै समय कलाकारको नामअनुसार बाकसैपिच्छे पोसाक राखिएका हुन्थे। संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको निर्माणपछि यी सामग्री उपयोगमा आएका छैनन्।
‘इतिहासको विभिन्न कालखण्डसँग सम्बन्धित भेसभुषा एवं वाद्यवादन यन्त्र विशेष छन्,’ गिरीले भने, ‘संग्रहालय बनाएर भविष्यका लागि संग्रहित गरिनेछ।’
प्रतिष्ठानले यो नयाँ भवनलाई पाँच तल्लासम्म विस्तार गर्ने योजना लिएको छ। पुस्तकालयमा पुराना पुस्तक मात्र रहेकामा नयाँ र अनुसन्धनात्मक किताब थपिने गिरी बताउँछन्।
उनका अनुसार थप नयाँ भवन निर्माण गर्न चीनसँग सम्झौताको तयारी भइरहेको छ। त्यहाँ प्रतिष्ठानका कार्यालय सार्ने योजना छ। त्यसपछि पुरानो भवन पूर्ण रूपमा अभिलेखालय र संग्रहालयमा परिणत हुनेछ।
पुरानो प्रतिष्ठानमा राष्ट्रकवि माधव घिमिरे, महाकवि लक्ष्मीप्रसाद देवकोटा, लैनसिंह वाङदेल लगायत विभिन्न कलाकार तथा साहित्यकारले आफ्नो कार्यकाल बिताएका छन्। पछि यी प्रतिष्ठित व्यक्तित्वकै नाममा कोठाहरू छुट्टयाइनेछन्। ती कोठामा उनीहरूले प्रयोग गरेका सामग्री र किताब राखिनेछ।
‘हामी यसलाई देशकै उत्कृष्ट अभिलेखालय र संग्रहालय बनाउने योजनामा छौं,’ गिरीले भने, 'सबै निर्माण पूरा भएपछि यो राजधानीकै नयाँ गन्तव्य बन्नेछ।'