दुई सातादेखि महानगरले फोहोर नउठाएपछि काठमाडौंका सडकमा फोहोरको डुंगुर लागेको छ। बर्खाले सिसडोल पुग्ने बाटो बिग्रिएकाले फोहोर उठाउन नसकिएको महानगरले जनाएको छ।
सिसडोल पुग्ने बाटो नै फोहोर थुप्रिएर बनेकाले बर्खामा फोहोर बोकेका गाडी त्यहाँ जान सक्दैनन्।
करिब एक महिनादेखि नियमित उठ्न नसकेको फोहोर व्यवस्थापन गर्न अझै केही दिन लाग्ने महानगरको भनाइ छ।
महानगरले त्यतिन्जेल घरबाट निस्केको फोहोर बाहिर नफाली घरभित्रै व्यवस्थापन गर्न महानगरले आग्रह गरेको छ।
काठमाडौं उपत्यकामा हुने दैनिक हजार मेट्रिक टन फोहोर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ।
२०६२ जेठ २२ गतेबाट नुवाकोटको सिसडोलमा फोहोर फाल्न सुरू गरिएको हो। तीन वर्षभित्र सिसडोलमा फोहोर व्यवस्थापन गरेर बञ्चरेडाँडालाई दीर्घकालीन डम्पिङ साइट बनाउने योजना थियो। तर बन्चरेडाँडामा अझै डम्पिङ साइट बनिसकेको छैन।