सरकारले रोग उन्मुलन भएको घोषणा गर्ने तयारी गरिरहँदा पश्चिम क्षेत्रमा कालाजारका बिरामी भने बढ्न थालेका छन् ।
सन् २०२० अर्थात् गर्ने अबको दुई वर्षपछि नेपालबाट कालाजार उन्मुलन गर्ने सरकारले लक्ष्य लिएको छ । तर पश्चिम नेपालमा भने यसका बिरामी बढ्दै गएका छन् ।
सन् २०१३ मा गरिएको सरकारी सर्वेक्षणले पर्सादेखि झापासम्मका तराई तथा भित्री मधेसका जिल्लामा मात्र कालाजार रहेको तथ्यांक सार्वजनिक गरेको थियो ।
नारायणी पश्चिमका जिल्लाहरूमा कालाजारको संक्रमण नरहेको भन्दै रोकथाम र औषधि वितरण रोकिएको थियो । त्यसलगत्तै २०१४ मा प्युठानमा कालाजारको बिरामी भेटिएपछि पश्चिम नेपालमा पनि नि:शुल्क उपचारको व्यवस्था गरिएको छ ।
अहिले नारायणी पश्चिम क्षेत्रमा ९० जना कालाजारका बिरामी फेला परेका छन् । प्रदेश ५ मा मात्रै ८० जना कालाजारका बिरामी रहेको विभिन्न अस्पतालहरूको तथ्यांकले देखाएको छ ।
प्रदेश ५ को पाल्पामा सबैभन्दा बढी ४१ जना कालाजारका बिरामी भेटिएका छन् । कालाजारलाई विशेषगरी तराईमा फैलिने रोगका रूपमा लिइए पनि पछिल्लो समय पहाडी र हिमाली जिल्लामा समेत यसको संक्रमण फैलिन थालेको छ ।
पछिल्लो ४ वर्षमा सबैभन्दा बढी पाल्पामा ४१ र प्युठानमा १७ जना कालाजारका बिरामी भेटिएका छन् । दाङ, अर्घाखाँची र गुल्मीमा ५/५ जना, रूपन्देहीमा २ तथा कपिलवस्तु, रोल्पा, नवलपरासी र बाँकेमा एक/एक जना बिरामी भेटिएका छन्। रुपन्देहीमा सैनामैना र सूर्यपुरामा एक/एक जना बिरामी भेटिएका छन् ।
जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले पहाडी जिल्लामा तापक्रम बढ्दै गएकोले कालाजार सार्ने सेण्ड फ्लाई पनि पहाडी र हिमाली क्षेत्रमा फैलिँदै गएको बताए ।
माटो, गोबर र ओसिलो ठाउँमा बासस्थान गराउने सेण्ड फ्लाईलाई १६ देखि ३० डिग्री तापक्रम उपयुक्त मानिन्छ । पाँच वर्ष पहिले पूर्वी तराईमा फैलिएको संक्रमण विभिन्न अभियान सञ्चालनपछि नियन्त्रण भए पनि अन्यत्र भने फैलिन थालेको छ । अहिले नेपालका ४२ जिल्ला कालाजारबाट प्रभावित भएको शाहले बताए । अँध्यारो र चिसो स्थानमा छिटो हुर्कने सेण्ड फ्लाई हावामा माथि उड्न नसक्ने भए पनि घरभित्र सुतेको बेला मानिसलाई टोक्ने शाहले जानकारी दिए ।
कालाजारका बिरामी बढ्दै गएपछि कालाजार उन्मुलन गर्ने सरकारले लिएको लक्ष्यमाथि नै चुनौती थपिएको छ । ४२ जिल्लामा देखिएको कालाजार दुई वर्षमा उन्मुलन गर्न नसकिने शाह बताउँछन् ।
चिकित्सकहरूले भाइरसको परिवर्तनका कारण पहाडमा कालाजार लगाउने भुसुना पुगेको अनुमान गर्छन् । लुम्बिनी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. कृष्ण खनालले अस्पतालमा आउने अधिकांश बिरामी पहाडी जिल्लाका रहेको बताउँछन् ।
कालाजारको संक्रमण हुँदा लगातार ज्वरो आउने, फियो बढ्ने, वजन घट्ने, खानामा रुची नहुने, पेट बढ्दै जाने र समयमा उपचार हुन नसके बिरामीको मृत्यु हुने डा. खनालले जानकारी दिए ।