प्रधानमन्त्री केपी ओलीले एक महिनाअघि घोषणा गरेको ‘स्वच्छ वातावरण महाअभियान’ को पहिलो गाँसमै ढुंगा लागेको छ।
विश्व वातावरण दिवसको अवसरमा सुरु महाअभियानअन्तर्गत देशभरका महानगर, उपमहानगर र प्रदेश राजधानी हरियाली बनाउने योजना छ। वन अनुसन्धान तथा सर्वेक्षण विभागले आठलेनको कोटेश्वर–कलंकी रिङरोडमा बिरुवा रोपेर कार्यक्रम सुरु गर्न खोजेको थियो।
स्थलगत निरीक्षणमा गएको टोलीले विस्तारित रिङरोडमा बिरुवा रोप्ने ठाउँ नपाएपछि कार्यक्रम रोकिएको विभागका महानिर्देशक दीपककुमार खरालले बताए।
‘पहिलो चरणमा उजाड रिङरोड हरियाली बनाउने योजना थियो,’ उनले सेतोपाटीसँग भने, ‘त्यहाँ त बिरुवा रोप्नै नमिल्ने रहेछ।’
विभागले साउनभित्र वृक्षरोपण गर्न रिङरोडको स्थलगत निरीक्षणनिम्ति केही दिनअघि टोली खटाएको थियो। माइतीघर–बबरमहलजस्तै आठलेन रिङरोड बीचमा वृक्षरोपण गरेर हरियाली बनाउने योजना थियो। सडकमा बिरुवा रोप्दा धूलो, धूवाँको प्रदूषण कम हुन्छ।
‘रिङरोडको जुन ठाउँमा हामीले बिरुवा रोप्ने भनेका थियौं, त्यहाँ सिमेन्ट ब्लक छापिएको रहेछ। माटो छैन। अब वृक्षरोपण गर्न भर्खरै छापिएका ब्लक भत्काउनुपर्छ, नभए सम्भव देखिन्न,’ महानिर्देशक खरालले भने।
चिनियाँ सहयोगमा निर्माणाधीन आठलेन रिङरोडको कोटेश्वर–कलंकी खण्ड अन्तिम चरणमा पुगेको छ। बल्खु–कलंकीबाहेक अन्त कालोपत्रे भइसकेको छ। कालोपत्रे सकिएका ठाउँमा मूलसडक र सर्भिस लेन छुट्टयाउने डिभाइडर बनिसकेको छ। त्यही डिभाइडरको ठाउँमा दूबो रोप्ने र ठूल्ठूला गमला राखेर सहरी बिरुवा तथा फूल लगाउने योजना थियो। चिनियाँ ठेकेदार कम्पनीले कहीँ पनि माटो बाँकी नराखी सिमेन्ट ब्लक छापिदिएपछि हरियाली योजना अधूरै रहने स्थिति आएको हो।
आठलेन रिङरोडको डिजाइन त्रुटिलाई लिएर केही समययता प्रशस्त बहस हुँदै आएको छ। पहिले रिङरोड विस्तारको कुरा चल्दा बीचमा हरियाली राख्ने भनिएको थियो। सडक विभागका अधिकारीले यसमा आश्वस्त पारेका थिए। डिजाइन नक्सा भने कहिल्यै सार्वजनिक गरिएन। सडकले विस्तारै आकार लिँदै गएपछि डिजाइन त्रुटि उजागर हुन थालेका हुन्।
सम्बन्धित अधिकारीहरू चीनसँग सम्झौता हुँदा यसबारे छलफलै नभएको बताउँछन्। नेपाली पक्षबाट हरियालीको कुरा नउठेपछि चिनियाँ कम्पनीले तयार पारेको डिजाइनमा परेन। नक्सा सार्वजनिक छलफलमा ल्याएको भए त्रुटि पहिल्यै थाहा हुन्थ्यो। त्यो पनि गुपचुप राखिँदा सच्याउने मौका भएन।
सडक विभागका अधिकारी अहिले आएर त्रुटि स्विकार्छन्। तत्काल सच्याएर हरियाली बनाउन सम्भव नभएको उनीहरूको भनाइ छ।
रिङरोड डिजाइन बनाउँदा वन, वातावरण र सडकबीच समन्वय नहुनुले यस्तो गल्ती भएको महानिर्देशक खरालले बताए।
‘सुरुमै गल्ती भएछ। ठेकेदारले अब ब्लक नराखी काम गर्दैन,’ उनले भने, ‘हरियालीनिम्ति ठाउँ नराखी डिजाइन गरिएकाले समस्या आएको हो।’
उनका अनुसार ब्लक उक्काएर माटो भरेपछि बल्ल बिरुवा रोप्न मिल्छ। यो पनि तत्काल सम्भव छैन। काम सकेर सरकारलाई हस्तान्तरण नगरेसम्म चिनियाँ कम्पनीले छुन दिँदैन।
सडक विभागका उपमहानिर्देशक तथा रिङरोड विस्तार आयोजना प्रमुख सञ्जयकुमार श्रेष्ठ हस्तान्तरणपछि बल्ल अरू काम गर्न पाइने बताउँछन्।
हस्तान्तरण नभएकैले अन्य प्राविधिक त्रुटि सच्याउने काम पनि थाती छन्। यसको निम्ति अझै कम्तीमा पाँच–छ महिना लाग्छ।
दस किलोमिटर कोटेश्वर-कलंकी खण्डको मुख्य सडकमा दुईतर्फी आवागमन छुट्टयाउने मिडियन, जेब्राक्रस र आकाशे पुलको काम सुरु भएको छैन। सडक हरियाली बनाउने योजना यही सूचीमा परेको छ। यस सम्बन्धमा वनले सडक विभागसँग छलफल गरिरहेको छ।
‘सडक विभागसँग कुरा गर्दा हस्तान्तरण नभएसम्म ब्लक उठाउन मिल्दैन भनेको छ,’ खरालले भने, ‘हामीले सडक र वन दुवै मन्त्रालयमा कुरा पुर्याएका छौं।’
सहरी विकास अभियन्ता भूषण तुलाधर सम्भाव्यता अध्ययन र डिजाइन सम्झौतामा हरियालीलाई बेवास्ता गर्दा त्रुटि देखिएको बताउँछन्।
‘रिङरोड उराठ हुने भयो। त्यसै त धूलोधुवाँको कुण्ड छ, त्यसमाथि कालोपत्रे मात्र। हरियोपरियो नदेखिने भयो,’ उनले भने, ‘हरियाली बनाउन पाएको भए थोरै भए पनि वायु प्रदूषण कम हुन्थ्यो। शितल हुन्थ्यो।’
सडक बीचमा मात्र होइन, निर्माण क्रममा फुटपाथ छेउका रूख पनि काटिएकाले आसपास क्षेत्र प्रदूषित छ। पहिले रिङरोडको दुवैतर्फ थुप्रै रूखबिरुवा थिए, जसले त्यहाँको वातावरण सफा राख्न मद्दत गर्थ्यो। सडक तुलनात्मक शितल हुन्थ्यो।
‘अहिले त मरुभूमिमा हिँडेजस्तो हुन्छ,’ तुलाधरले भने।
दस किलोमिटर रिङरोड विस्तार क्रममा छेउछाउका १ हजार २ सय ३९ वटा रूख काटिएका थिए। तीमध्ये कतिपय ३५ देखि ६० वर्ष पुराना थिए। धेरैजसो मसला, शिरीष, ज्याकरान्डाजस्ता ठूला रूख मासिएको वन विभागका महानिर्देशक खरालले बताए।
‘वर्षौं पुराना ती रूखले सडक सुन्दरता बढाएका थिए। अब फेरि सबैतिर त्यस्तै रोप्न मिल्दैन,’ उनले भने, ‘सडकको दुवैतर्फ बस्ती बाक्लिएकाले ठूला रूख रोप्न सम्भव नहुन सक्छ।’
सडक विभागले रिङरोड निर्माण क्रममा यी रूख काट्दा एउटाको सट्टा २५ वटा रोप्ने बाचा गरेको थियो। यो सरकारी नीति नै हो। रिङरोडमा भने सम्भव देखिँदैन।
‘पहिले भएजति रूख रोप्ने ठाउँ त छैन, एकको साटो २५ कहाँ रोप्ने?’ उनले भने, ‘स–साना फूलबिरुवाका लागि ठाउँ बनाउन सक्यो भने धन्य हो।’
फुटपाथबाहिर खुला स्थल भएको ठाउँमा ठूला रूख रोप्न सकिन्छ। भिरालो र सडक आसपास घर भएका ठाउँमा त्यो पनि सम्भव छैन।
काठमाडौंका सडकछेउ रूखबिरुवा रोप्ने चलन राणाकालमै सुरु भएको मानिन्छ। राणा प्रधानमन्त्री चन्द्रशमशेरले युरोप घुम्न जाँदा हरियाली र फूलबिरुवाले मगमगाउँदा सडक देखेका थिए। त्यसैबाट सिकेर काठमाडौं फर्केपछि सडक आसपास रूख रोप्न लगाएको बताइन्छ।
त्यतिबेलाको प्राकृतिक चेत झन् झन् नासिँदै गएको तुलाधर बताउँछन्।
‘काठमाडौंले धान्नेभन्दा बढी मान्छे र सवारी साधन छन्। जताततै धूलोधुवाँ छ। तापक्रम बढेको छ। सडक आसपासको क्षेत्र झन् बिजोग छ। कम्तिमा बीचको डिभाइडरमा हरियाली राख्न सकेको भए थोरै भए पनि राहत हुन्थ्यो,’ उनले भने।
त्यसो भइदिएको भए स्वच्छ वातावरण महाअभियानको पहिलो गाँसमै ढुंगा पर्ने थिएन। यो महिनाभित्रै रिङरोडको मध्य भागमा हरिया बुट्टयान लहराइरहेको देखिन्थ्यो।