दैलेखको आठविस नगरपालिकामा रहेको एक सहकारीका अध्यक्ष र लेखा संयोजक मिलेर लाखौं रकम हिनामिना गरेको पाइएको छ।
आठविस–६ मा रहेको ‘बयालढुंगा बचत तथा ऋण सहकारी संस्था’का अध्यक्ष केशबहादुर शाही र लेखा संयोजक निरक कठायतले सहकारीको ११ लाख २० हजार रुपैयाँ हिनामिना गरेको पाइएको हो।
२०६६ सालमा स्थापना भएको सहकारीमा १३२ जना शेयर सदस्य रहेका छन्। स्थापनादेखि सहकारीका अध्यक्ष रहेका केशबहादुर शाही र लेखा संयोजक निरक कठायतले कागजात मिलाएर रकम हिनामिना गरेको गगन शाहीले आरोप लगाए। बारम्बार शाही र कठायतलाई छलफलका लागि बोलाइए पनि अध्यक्ष शाही छलफलमा आउन नमानेको उनले बताए । लेखा सदस्य निरक कठायत भने अहिले पनि गाउँमै रहेका छन्।
‘सहकारीको फर्निचर सामग्री, अन्य कागजातहरू कता छन् अहिले पनि थाहा छैन,’ सहकारीका एक जना शेयर सदस्यले नाम नबताउने शर्तमा भने, ‘अहिले सहकारीको पूरै नामोनिसान मेटिएको छ।’
सहकारीबाट आफूहरूलाई सहयोग पुग्ने आशाले दैनिक रकम जम्मा गर्ने गरेको र त्यही रकम अहिले सहकारीका नेतृत्वकर्ताले हिनामिना गरिदिएको उनले दुखेसो पोखे।
उच्च मूल्य कृषि वस्तु विकास आयोजनाले बाख्रापालनको लागि २०७२ मा २ लाख ४० हजार रुपैयाँ पहिलो किस्तामा र दोस्रो किस्ता ४ लाख गरी ६ लाख ४० हजार रुपैयाँ खोर सुधारका लागि सहकारीमार्फत् अनुदान दिएको थियो। त्यसमध्ये पहिलो किस्ताको काम गरेता पनि दोस्रो किस्ताको रकम भने उनीहरूले कामै नगररे हिनामिना गरेको शेयर सदस्यहरूको भनाइ छ।
संस्थाको रकम हिनामिना भएको पाइएपछि छानबिन समिति समेत गठन गरियो। नरबहादुर कठायतको संयोजकत्वमा रहेको छानबिन समितिको सदस्यहरूमा अर्जुन शाही र भीम आचार्य रहेका थिए। तर छानबिन समितिले प्रतिवेदन नै सार्वजनिक गर्न सकेन । समितिका संयोजक नरबहादुर कठायतले रकम हिनामिना भएको आफूहरूले पाएको बताए।
‘छानबिन अनुसार ११ लाख २० हजार रुपैयाँ हिनामिना भएको हामीले पायौं,’ उनले भने, ‘हामीले प्रतिवेदन कस्लाई बुझाउने भन्ने अन्यौल रहेका कारण प्रतिवेदन सार्वजनिक नगरेको साँचो हो।’
उच्च मूल्य कृषि वस्तु विकास आयोजनाअन्तर्गत किसान परियोजना दैलेखका सामाजिक परिचालक चुडामणि उपाध्यायले उनीहरूले पहिलो किस्ताको विल पेश गरेको र दोस्रो किस्ताको रकमको विल भरपाइ अहिलेसम्म पनि पेश नगरेको बताए। बारम्बार ताकेता गर्दा पनि उनीहरूले अटेर गरेको उनले बताए।
उनका अनुसार सहकारीसँग २०७१ साउन १८ गते सम्झौता भएको जम्मा रकम ८ लाख ३ सय ४३ रुपैयाँ थियो। पहिलो किस्तामा २ लाख ४० हजार उनीहरूले लगेका थिए भने सो रकमको पेश्की फर्छ्यौट भएका कारण दोस्रो किस्ताको ४ लाख लिएका थिए।
सहकारीका लेखा संयोजक निरक कठायतले आफूले १ लाख ६० हजार रुपैयाँ लिएको स्वीकार गरेका छन्।
‘हामीले दोस्रो किस्तामा आएको ४ लाखमा एक लाख ६० हजार मैले लगेको हुँ,’ उनले भने, ‘बाँकी रकम अध्यक्षले नै लिएका हुन्,’ उनले अध्यक्ष शाहीसँग बारम्बार सम्पर्क गर्ने गरेको तर सम्पर्कमा आउन नचाहेको बताएका छन्।
अध्यक्षका कारणले आफू दबाबमा रहेको कठायतले बताए। आफूले लिएको एक लाख ६० हजार रुपैयाँ साउन ७ गतेसम्म तिर्ने गरी जिल्ला प्रशासन कार्यालय दैलेखमा कागज गरेको उनले बताए।