राष्ट्रिय अपाङ्ग महासंघ कर्णाली प्रदेश कमिटीले आइतबारदेखि अपाङ्गता भएका व्यक्तिहरूको अधिकरका निम्ति शान्तिपूर्ण आन्दोलन गर्ने भएको छ।
महासंघको देशव्यापी कार्यक्रमअन्तर्गत कर्णाली प्रदेश कमिटीले पनि आइतबार र्यालीसहित आफ्ना मागहरूलाई लिएर प्रदेशका विभिन्न मन्त्रालहरूमा जाने भएको छ।
राष्ट्रिय अपाङ्ग महासंघले अपाङ्गता भएका व्यक्तिहरूको अधिकारिका निम्ति विभिन्न ३९ बुँदे माग राख्दै देशका सातवटै प्रदेशमा आन्दोलनको कार्यक्रम बनाएको छ। त्यसैअनुसार कर्णाली प्रदेश कमिटीले पनि बिहान र्यालीको आयोजना गर्ने छ भने दिउँसो आफ्ना मागहरूलाई लिएर प्रदेशका सबै मन्त्रालयहरूमा पेश गर्ने छ।
महासंघले शनिबार एक विज्ञप्ति जारी गर्दै अपाङ्गता भएका व्यक्तिहरूका सवालहरूलाई राज्यले नीतिगत रूपमा गरेको व्यवस्थाहरूको प्रभावकारी कार्यान्वयन हुन नसकेकोले यसमा सबैका ध्यान जानुपर्ने उल्लेख गरेको छ।
अपाङ्गता भएका व्यक्तिहरूका सवालहरूलाई समावेशीकरण गर्दै लिनका लागि प्रदेशस्तरमा सरकारले प्रादेशिक कानून तर्जुमा गरी प्रभावकारी कार्यान्वयनमा लाग्नुपर्ने माग महासंघले विज्ञप्तिमा उल्लेख गरेको छ।
महासंघले अपाङ्गता भएका व्यक्तिहरूको जीवन धान्न पुग्ने गरी सामाजिक सुरक्षा भत्ता कम्तिमा १० हजार व्यवस्था गर्नुपर्ने, उनीहरूको लागि अति आवश्यक सामग्रीहरू प्रदेशस्तरमा उत्पादन गरी स्थानीय सरकारबाट वितरणको व्यवस्था गरिनुपर्ने, अपाङ्गता भएकाहरूको रोजगारीमा वृद्धि हुने गरी तालिम तथा रोजगारीको सुनिश्चितता गरिनुपर्ने लगायतका ३९ बुँदे मागहरू अघि सारेको छ।
आइतवार उक्त मागहरू लिएर महासंघको कर्णाली प्रदेश कमिटी पनि प्रदेशका विभिन्न मन्त्रालयहरूमा पुग्ने कार्यक्रम रहेको छ।