दैलेखका जीवन थापा एसइई पास भएपछि कानून पढ्न चाहन्थे। सानैदेखि कानूनको ज्ञाता बन्ने सोच राखेका जीवनको एसइईपछिका सबै तहमा कानून विषय नै पढ्ने धोको थियो।
तर, कानून पढ्नका लागि आफ्नो ठाउँमा कुनै पनि विद्यालय थिएनन्। यतिसम्म कि उनी वर्षौंदेखि बस्दै आएको सुर्खेतमा समेत कानून पढ्ने कलेज नहुँदा काठमाडौं गएर अध्ययन गर्ने सोचमा थिए। सानो उमेरमा घरदेखि पर्ने लामो दूरीले अध्ययनका क्रममा काठमाडौं केही हदसम्म बोझिलो हुनेमा उनी चिन्तित थिए।
तर, सुर्खेतमा रहेको सिद्धपाइला इङ्लिस मिडियम सेकेण्डरी स्कुलले यही शैक्षिक सत्रबाट ११ कक्षामा कानून पढाउन सुरू गर्ने भएपछि जीवनको मनमा राहत महशुस भएको छ।
‘कानून त पहिलेबाट नै पढ्न चाहन्थे नि, तर कहाँ पढ्ने भन्ने थाहा थिएन,’ उनले भने, ‘सायद काठमाडौं जानुपर्थ्यो, अब यहाँ पढाइ हुने भएपछि सजिलो भयो, इन्ट्रान्सको लागि फारम ल्याएर आएको छु हेरौं अब के हुन्छ।’
जीवन थापा सुर्खेतमा बसेर सुर्खेतको वातावरण बुझिसकेका विद्यार्थी हुन्। त्यसकारण उनलाई यहाँ बसेर पढ्नु घरनजिकको विद्यालयमा पढ्नु जस्तै हो । त्यसैले उनले घरनजिकै कानून पढ्न पाउने अवसर आएको महशुस गरेका छन्।
पहिलेदेखि कानून पढ्न चाहेका दैलेखका जीवन थापा जस्तै सुर्खेतका योगेश खनाल र अविस वली पनि घरनजिकै कानून विषय पढ्न पाउने भएकाले खुशी छन् । सिद्धपाइला इङ्लिस मिडियम सेकेण्डरी स्कुलले कानून विषयको इन्ट्रान्सको लागि फारम भर्ने मिति तय गरेको सुरूको दिन दिउँसो विद्यालयमा पुगेका यागेश र अविसले पनि उत्साहका साथ फारम लिए।
यस नयाँ शैक्षिक सत्रबाट सुर्खेतमा विभिन्न निजी विद्यालयहरूले पनि कक्षा ११ देखि कानून संकायमा अध्यापन थालेका छन् । कर्णाली प्रदेशमै पहिलोपटक कानून विषय अध्यापन हुन लागेको सुर्खेतमा सिद्धपाइला इङ्लिस मिडियम सेकेण्डरी र पव्लिक एकेडेमी सेकेण्डरी गरी दुई वटा निजी विद्यालयहरूले पनि अध्यापनको अनुमति लिएका छन्।
कानून अध्ययनका लागि विद्यार्थीहरूको पनि त्यतिकै मात्रामा सहभागिता हुने देखिएको छ। कानून संकायमा आइतबारदेखि प्रवेश परीक्षाका लागि आवेदन खुलेको सिद्धपाइला इङ्लिस मिडियममा दुई सोमबारसम्म मात्र ४० जनाभन्दा बढीले फारम लिइसकेका छन्।
‘हामीले ३० जनाको मात्र कोटा निर्धारण गरेका छौं कानून अध्ययनका लागि, ३० भन्दामाथि ३१ पनि नलिने भनेका छौं,’ सिद्धपाइलाका प्रिन्सिपल नैनसिंह खत्रीले भने, ‘हामीले इन्ट्रान्सका लागि आवेदन मागेको दुई दिन हिजो र सोमबार मात्र ४०/४५ जनाले फारम लिइसके, कानून पढ्न चाहनेहरू अपेक्षा गरेभन्दा पनि धेरै रहेको पायौँ हामीले।’
सिद्धपाइलाले १२ गते प्रवेश परीक्षा लिने जनाएको छ। अध्यापनका लागि कानून विषयमा नै स्नातकोत्तर अध्ययन पूरा गरेका तीनजना शिक्षकको व्यवस्था गरिसकिएको प्रिन्सिपल खत्रीले जानकारी दिए।
उनका अनुसार कानून अध्ययनका लागि ११ र १२ कक्षामा मासिक ३ हजारभन्दा कम शुल्क लाग्ने छ।
‘हामीले ‘फी’को बारेमा अहिले तय गरेका छैनौं,’ खत्रीले भने, ‘अब विद्यालय व्यवस्थापन समितिको बैठक बसेर तय गर्छौं, विद्यार्थी वा अभिभावकहरूलाई भार नपर्ने गरी बढीमा ३ हजारमा हामीले कानून पढाउँछौं।’
यस्तै, कानून विषय पढाउने अनुमति लिएको पव्लिक एकेडेमी सेकेण्डरीमा पनि प्रवेश परीक्षाका लागि आवेदन माग गरेको दुई दिनमा १० जनाभन्दा बढी विद्यार्थीले फारम लिएका छन्। १९ गते प्रवेश परीक्षा तोकेको पव्लिक एकेडेमीले ४५ जनाको कोटा निर्धारण गरेको छ।
कानून पढ्नका लागि विद्यार्थीहरू उत्साही नै पाइएको पव्लिक एकेडेमीका निर्देशक दिपेन्द्रराज खनालले बताए।
‘एसइईमा विशिष्ट श्रेणी ल्याउनेबाहेक त्यसपछिको श्रेणीका विद्यार्थीको रोजाइ सायद प्राय कानून हुने छ,’ खनालले भने, ‘हामीले जुन अपेक्षाका साथ कानून पढाउने अनुमति लियौं त्योभन्दा धेरै छ।’
पव्लिक एकेडेमीले भने कानून अध्ययनका लागि भर्ना शुल्क १५ हजार तोकेको छ। निर्देशक खनालका अनुसार मासिक शुल्क २ हजार ५ सय लाग्ने छ।
कानूनसँगै कर्णाली प्रदेशमा पहिलोपटक फेसन डिजाइनिङ पनि अध्यापन हुने भएको छ। सुर्खेतमा रहेको नेसनल एकेडेमी अफ मल्टिपल स्टडिजले डिप्लोमा तहको फेसन डिजाइनिङ अध्यापन गराउने भएको छ । त्यसका लागि उक्त शिक्षालयले सीटीईभीटीबाट अनुमति लिएको छ।
फेसन डिजाइनिङ अध्ययन गर्न प्रवेश परीक्षाको लागि आवेदन माग गरेको दुई दिनमा ८ जनाभन्दा बढीले सम्पर्क गरेको शिक्षालयका निर्देशक निर्मल थापाले जानकारी दिए।
‘परिवर्तित समयअनुसार मानिसको पनि चाहना बदलिसकेको छ,’ थापाले भने, ‘यही अवस्थालाई मध्यनजर गर्दै यो क्षेत्रमा हामीले फेसन डिजाइनिङ पढाउने योजना बनाएका हौं।’
फेसन डिजाइनिङका लागि सैद्धान्तिकभन्दा बढी प्रयोगात्मक कक्षा सञ्चालन गर्नुपर्ने भएकाले अरुको तुलनामा खर्च भने महँगो लाग्ने उनले बताए ।