अख्यिार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतमा आउने भ्रष्टाचारसम्बन्धी उजुरीहरूमध्ये बेनामी उजुरी सबैभन्दा धेरै हुने गरेका छन्।
आयोगको सुर्खेतस्थित कार्यालयमा रहेको आर्थिक वर्ष २०७४/०७५ को तथ्याङ्क अनुसार उक्त आर्थिक वर्षमा कार्यालयमा परेका ७ सय ५१ उजुरीहरूमध्ये ३ सय ८७ उजुरी बेनामी रहेका छन् ।
हुलाक, ईमेललगायतका माध्यमबाट आउने उजुरीहरू बेनामी हुने गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतका प्रमुख रविलाल पन्थले बताए । उनका अनुसार ०७४/०७५ मा आएका उजुरीमध्ये ५१ प्रतिशत उजुरी बेनामी थिए।
यस्तै, भ्रष्टाचारसम्बन्धी उजुरी महिलाहरूबाट कम मात्रामा आउने गरेका छन्। आर्थिक वर्ष २०७४/०७५ मा कार्यालयमा आएका उजुरीहरूमध्ये २२ वटा उजुरी मात्र महिलाबाट परेका छन् ।
यस्तै, ३ सय ७ उजुरी पुरुषबाट परेका छन् भने संघसंस्थाबाट ३५ उजुरी कार्यालयमा दर्ता भएका कार्यालयले जनाएको छ । कर्णाली प्रदेशका १० सहित पूर्वी रुकुमसमेत सुर्खेतस्थित कार्यालयको कार्यक्षेत्र रहेको छ ।
०७४/०७५ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतमा दर्ता भएको भ्रष्टाचारसम्बन्धी उजुरीहरूमध्ये सबैभन्दा धेरै शिक्षासम्बन्धी २ सय २७ उजुरी दर्ता भएका थिए। कार्यालयका अनुसार उक्त आर्थिक वर्षमा स्थानीय विकाससम्बन्धी २ सय १९, वन तथा भू-संरक्षणसम्बन्धी ८२, स्वास्थ्यसम्बन्धी ३६, उर्जासम्बन्धी २६, खानेपानीसम्बन्धी २४ उजुरी भ्रष्टाचारका दर्ता भएका छन्। कार्यालयको तथ्याङ्क अनुसार कर्णाली प्रदेशमा सबैभन्दा धेरै भ्रष्टाचार शिक्षा क्षेत्रमा भएको देखिएको छ ।
उक्त आर्थिक वर्षमा कार्यालयमा परेका मुद्दाहरूमध्ये सुर्खेत र दैलेखबाट धेरै परेका छन् । सुर्खेतबाट १ सय ६४, दैलेखबाट १ सय ४७ उजुरी भ्रष्टाचारसम्बन्धी परेको कार्यालयले जनाएको छ ।
यस्तै जाजरकोटबाट ९७, कालिकोटबाट ९५, हुम्लाबाट ५८, सल्यानबाट ४९, रुकुम (पश्चिम) बाट ४४, जुम्लाबाट ३८, मुगुबाट ३२, डोल्पाबाट २२ र पूर्वी रुकुमबाट ५ वटा भ्रष्टाचारसम्बन्धी उजुरीहरू परेको सुर्खेतस्थित कार्यालयले जनाएको छ ।
५७१ उजुरी फर्छ्यौट
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेतस्थित कार्यालयमा आर्थिक वर्ष ०७४/०७५ मा परेका भ्रष्टाचारसम्बन्धी उजुरीहरूमध्ये ५ सय ७१ उजुरी फर्छ्यौट भएका छन् । तीमध्ये ३ सय ३९ मुद्दा तामेली गरिएको छ भने १ सय १ उजुरी एकीकरणका आधारमा फर्छ्यौट गरिएका छन् ।
यस्तै, विस्तृत अनुसन्धानको माध्यमबाट ३९ उजुरी फर्छ्यौट गरिएका छन् भने ३१ उजुरी लेखी पठाइएको र सातवटा उजुरी अन्य निकायमा पठाइएको कार्यालयले जनाएको छ ।
कार्यालयबाट सुर्खेतका १ सय ४०, दैलेखका १ सय २३, जाजरकोटका ५७, कालिकोटका ६५, हुम्लाका ४२, सल्यानका ४१, रुकुम (पश्चिम) का ३४, जुम्लाका २७, मुगुका २१, डोल्पाका १८ र रुकुम (पूर्व) का तीनवटा उजुरी फर्छ्यौट भएका छन् ।
उक्त आर्थिक वर्षमा आएका उजुरीहरूमध्ये १ सय ८० उजुरी फर्छ्यौट हुन बाँकी रहेको कार्यालयले जनाएको छ ।
६ जना रंगेहात पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले आर्थिक वर्ष २०७४/०७५ र चालू आर्थिक वर्षमा गरी ६ जनालाई घूस रकमसहित रंगेहात पक्राउ गरेको छ ।
ईलाका वन कार्यालय सुर्खेतमा कार्यरत वन रक्षक हरिलाल राना, मालपोत कार्यालय सुर्खेतमा कार्यरत खरिदारद्वय धर्मराज सुवेदी र ओमबहादुर सुनार, जिल्ला वन कार्यालय रुकुम (पश्चिम) मा कार्यरत सहायक वन अधिकृत रोहितकुमार साह, ग्रामीण वित्त सहायक सन्दीप अधिकारी र जिल्ला प्राविधिक कार्यालय जाजरकोटमा कार्यरत इन्जिनियर अजयकुमार देवलाई अख्यिारको सुर्खेतस्थित कार्यालयले घूस रकमसहित रंगेहात पक्राउ गरेको हो ।
हरिलाल राना, धर्मराज सुवेदी र ओमबहादुर सुनारलाई आर्थिक वर्ष ०७४/०७५ मा पक्राउ गरिएको हो भने रोहितकुमार साह, सन्दीप अधिकारी र अजयकुमार देवलाई चालू आर्थिक वर्षमा पक्राउ गरिएको कार्यालयले जनाएको छ । उनीहरूबाट ४ लाख १ हजार रुपैयाँ नगद घूस रकम बरामद गरिएको छ ।
प्राविधिक कर्मचारीको कमी, पत्रको जवाफ प्राप्त नहुनु, उजुरीको गुणस्तर कमजोर हुनु, प्रमाण संकलनमा उपकरणको कमीलगायतका कारण कार्य सम्पादनमा समस्याहरू आइपरेको अख्तियारको सुर्खेतस्थित कार्यालयका प्रमुख रविलाल पन्थले बताए।
यस्तै, भौगोलिक विकटता, प्रमाणमुखी अनुसन्धान, घूस लिँदाको फेरिँदो स्वरूप लगायतका कार्य सम्पादनमा चुनौतीहरू रहेको उनले बताए ।