केही दिनअघि ललितपुरको बालकुमारी मन्दिर अगाडि हामीले एउटा टिपर देख्यौं। सडक किनार रोकिएको बा३क ५३० नम्बरको त्यो खाली टिपरमा लेखिएको थियो- हिम्मत है तो आजा!
अर्थात्, सक्छस् भने आइज!
अक्सर यस्ता मालबाहक सवारीका पछाडि प्रेमिल सन्देशहरू लेखिएको हामी देख्छौं। यस्तै सन्देशका कारण हामीकहाँ ट्रक साहित्य लोकप्रिय रहँदै आएको छ। त्यो टिपरमा भने के सोचेर यस्तो आक्रामक सन्देश लेखियो होला?
काठमाडौं उपत्यकाको टिपर आतंक हेर्दा हरेक टिपर आफ्ना छेउछाउका सवारीलाई यसरी नै चुनौती दिँदै कुदिरहेझैं लाग्छ- हिम्मत है तो आजा!
नभए सोमबारको घटना हेरौं न।
टिपर दुर्घटना बढेपछि काभ्रेमा एउटा कार्यक्रम राखिएको थियो। विषय थियो, टिपर व्यवसायी र चालकहरूसँग छलफल।
बागमती टिपर व्यवसायी संघका पूर्वअध्यक्ष शेरबहादुर कुँवर जसै कार्यक्रम हलभित्र छिरे, उनको मोबाइलको घन्टी बज्यो।
उताबाट आएको सन्देश सुनेर उनी खङरङ्ग भए।
साँगाबाट धुलिखेल जाँदै गरेको टिपरले सोही दिशामा गइरहेको मोटरसाइकललाई ठक्कर दिएछ। मोटरसाइकल चालक जितबहादुर तामाङको घटनास्थलमै मृत्यु भयो।
‘टिपर दुर्घटना कम गर्ने उपायबारे छलफल गर्न खोज्दै थियौं, कार्यक्रम सुरु हुन नपाउँदै अर्को दुर्घटनाको खबर आयो,’ त्यस दिनको घटना सम्झँदै कुँवरले सेतोपाटीसँग भने, ‘त्यो पनि त्यही एरियामा, जहाँ बसेर समाधान खोज्ने प्रयास गर्दै थियौं।’
उपत्यकामा सबभन्दा बढी टिपर छिर्ने काभ्रेबाट हो। बढी दुर्घटना पनि त्यही क्षेत्रमा हुँदै आएको छ।
ट्राफिक प्रहरीका अनुसार आर्थिक वर्ष २०७४–७५ मा टिपरको ठक्करले मात्र २२ जनाको ज्यान गयो। टिपर व्यवसायी संघ र ट्राफिक प्रहरीले चालकहरूलाई बेलाबेला सचेतना कक्षा दिँदै आएको छ। दुर्घटना भने बढेको बढ्यै छ।
बाह्र दिनअघि काभ्रेबाटै आइरहेको टिपरले हानेर भक्तपुर, जडिबुटीमा १८ वर्षीय रोयल सुवेदीको ज्यान गयो।
लगत्तै सरकारले मालबाहक सवारीको गति नियन्त्रण गर्न ‘टाइम कार्ड’ तोक्न थाल्यो। साउन १ बाट भक्तपुर, जगातीदेखि कोटेश्वरसम्म मालबाहक सवारीलाई टाइम कार्ड लागू छ।
उपत्यकामा पनि बिहान ८ देखि १२ बजेसम्म र दिउँसो ३ देखि ८ बजेसम्म टिपर चलाउन निषेध छ। चक्रपथभित्र बेलुकी ८ देखि बिहान ५ बजेसम्म मात्र चलाउन पाइन्छ।
दुर्घटना कम होस् भनेर ट्राफिक महाशाखाले जगाती–कोटेश्वर सडक खण्डमा सडक लेन नै छुट्टयाइदिएको छ– मालबाहक र सार्वजनिक सवारीलाई बायाँ र अन्यलाई दायाँ।
कसिकसाउ नियम र बारम्बार छलफल गर्दा पनि टिपर दुर्घटना किन घटेको छैन?
टिपर व्यवसायी र ट्राफिक प्रहरीसँगको कुराकानीबाट यसमा तीन कारण देखिन्छन्।
पहिलो, टिपरको मेकानिकल संरचना।
निर्माण क्षेत्रमा सामान ओसारपसार गर्न बनेको टिपर सहरी सडकनिम्ति सुरक्षित छैन। आकस्मिक अवस्थामा नियन्त्रण गर्न मुश्किल हुन्छ। दायाँ–बायाँबाट कसैले अचानक सवारी छिरायो वा बाटोमा तुरुन्तै रोक्नुपर्यो भने गाह्रो पर्छ। रोक्न खोज्दा टिपर आफैं पल्टने वा अरू सवारीसँग ठोक्किने सम्भावना हुन्छ।
टिपरको सबभन्दा ठूलो प्राविधिक कमजोरी के भने, यसको चालक बस्ने भाग अग्लो हुन्छ। चालक सिटमा बसेर हेर्दा अगाडि एक–दुई मिटरसम्मको भुइँ नदेखिने कुँवर बताउँछन्।
‘तपाईं टिपरको स्टेयरिङ सिटमा बसेर हेर्नुस्, गाडीको सिधा तल केही देखिँदैन,’ उनले भने, ‘यस्तोमा कुनै साना सवारी टिपरको एकदमै नजिक आयो भने चालकको आँखा पर्दैन।’
टिपरसँग टाँसिएर ओभरटेक गर्ने र अगाडि आएर घ्याच्च रोकिने दुईपाङ्ग्रे सवारी बढी दुर्घटनामा परेको उनको भनाइ छ। गाडी ब्याक गर्दा पनि यस्तै समस्या आउने उनले बताए।
‘टिपरसँग कार, जीप वा अन्य ठूला सवारी ठोक्किएको खासै सुनिँदैन। यसको कारण के भने, ठूला सवारीहरू सिटबाट सजिलै देखिन्छन्,’ कुँवरले जिकिर गरे।
त्यही भएर विदेशमा ठूल्ठूला निर्माण स्थल र मरुभूमि क्षेत्रमा सामान ओसारपसार गर्न यसको प्रयोग हुन्छ। मान्छे र सवारी घुइँचो हुने ठाउँमा टिपर गुडाउन पाइन्न। नेपालमा भने मध्यसहरमै निर्माण सामग्री ओसार्न प्रयोग हुँदै आएको छ।
दोस्रो कारण हो, उच्चगति।
जतिसक्दो धेरै खेप ओसारेर बढी पैसा कमाउने होडमा चालकहरू उच्चगतिमा हुँइकिने गरेको पाइएको छ।
चालकले प्रतिखेप पाँच सयदेखि १५ सय रुपैयाँसम्म भत्ता पाउँछन्। दिनभरिमा जसले जति खेप ओसार्न सक्यो, कमाइ उति बढी हुन्छ। यही लोभमा चालकहरू एकै दिन बढी ट्रिप भ्याउन खोज्छन्।
उपत्यकामा दैनिक ८ हजार टिपर चल्छन्। एकपटक ओहोरदोहोर गर्दा औसत १६ हजारपटक टिपर आउजाउ हुन्छ, त्यो पनि उच्च गतिमा। यसले दुर्घटना सम्भावना त्यही अनुपातमा बढ्ने ललितपुर ट्राफिक प्रमुख सीताराम हाछेथू बताउँछन्।
त्यसमाथि यसको इञ्जिन यति शक्तिशाली हुन्छ, गाडीको भार धेरै भए पनि तीव्र गतिमा हुइँकिन्छ।
तेस्रो कारण, कम उमेरका आलाकाँचा चालक।
हाछेथूका अनुसार अधिकांश टिपर चालक २० देखि ३० वर्ष उमेरका छन्। सोमबार काभ्रे दुर्घटनाका चालक सुधन श्रेष्ठ २९ वर्षका थिए। यसअघि जडिबुटी दुर्घटनामा पक्राउ परेका हरिशरण श्रेष्ठ २७ वर्षका हुन्।
‘कम उमेरका चालकमा जोश बढी र डर कम हुन्छ। यसले उनीहरूलाई लापरबाह बनाउँछ,’ हाछेथूले भने, ‘मालबाहक र सार्वजनिक सवारी चलाउन पाका र अनुभवी चालकको अभाव दुर्घटना बढ्नुको कारण हो।’
चालक अभाव भएपछि भर्खरै लाइसेन्स निकालेकाहरूले टिपर चलाउन थालेको उनले बताए।
अनुभव नभएका कम उमेरका व्यक्तिले कसरी लाइसेन्स पाए भन्ने आफैंमा शंकास्पद छ। यसको तार कुन क्षेत्रमा टिपर प्रयोग भइरहेको छ भन्नेसँग जोडिन्छ।
२०७२ को भुइँचालोपछि काठमाडौंको भित्री सहर र छेउछाउका इलाकामा हाउजिङ, अपार्टमेन्ट र व्यक्तिगत घर बन्ने क्रम तीव्र छ। रिङरोड विस्तार लगायत अन्य सडक निर्माण बढेका छन्। ढुंगा, गिटी, बालुवा तथा इँटा ओसार्न र माटो ल्याउन–फाल्न टिपरलाई भ्याइनभ्याइ छ।
पहिले यस्तो काममा मिनी–ट्रक बढी प्रयोग हुन्थे। ट्रकभन्दा तीव्र र चलाउन सहज भएपछि २०५७ सालयता टिपर संख्या बढ्दै गयो।
यसको अर्को फाइदा, सामान खसाल्न सजिलो हो। मिनी–ट्रकमा ढुवानी गर्दा सामान ‘अनलोड’ गर्न कामदार राख्नुपर्छ। एकट्रिप बालुवा–गिटी झार्न दुई–चार जना कामदार प्रयोग हुन्छ। टिपरबाट सामान झार्न मान्छे चाहिँदैन। ठेकेदारको ढुवानी लागत कम हुन्छ।
यसले काठमाडौं उपत्यकामा टिपर संख्या ह्वात्तै बढ्यो। चालक अभाव हुन थाल्यो। कम उमेरका व्यक्तिलाई पनि टिपर चलाउन लाइसेन्स दिने प्रवृत्ति देखा पर्यो।
दुर्घटना बढेपछि भने लाइसेन्स अनियमितता नियन्त्रण गर्न यातायात व्यवस्था विभागलाई पनि तातो लागेको छ।
विभागले लाइसेन्स वितरण मापदण्ड संशोधन गर्न मन्त्रालयमा प्रस्ताव पठाएको प्रवक्ता तुलसीराम अर्यालले जानकारी दिए।
उनका अनुसार ठूला सवारीनिम्ति चालकको उमेरहद बढाउने र अनुभव तोक्ने प्रस्ताव मन्त्रालय पठाइएको छ। यसअनुसार दुईपाङ्ग्रेका लागि १८ वर्ष, साना सवारीनिम्ति २१ र ठूलानिम्ति २५ वर्ष सिफारिस गरिएको छ।
अहिले यातायात ऐनले दुईपाङ्ग्रे चलाउन १६ वर्ष, साना सवारीनिम्ति १८ र ठूलानिम्ति २१ वर्ष उमेर तोकेको छ।
‘चालकको उमेरले जिम्मेवारीबोध निर्धारण गर्छ,' उनले भने, 'धेरैको ज्यान जोखिममा पार्ने ठूला सवारीका हकमा यो निकै महत्वपूर्ण हुन्छ।’
अनुभवका हकमा पहिले टिपर–ट्रक चालकको लाइसेन्स लिन दुई वर्ष साना सवारी चलाएको अनुभव हुनुपर्ने प्रावधान थियो। धेरै अनुभवी चालक वैदेशिक रोजगारमा गएर यहाँ अभाव भएपछि व्यवसायीले यो प्रावधान हटाउन दबाब दिए। अनुभवै नभएकाले पनि भनसुन गरेर भटाभट टिपर र ट्रकको लाइसेन्स निकाल्न थाले।
यसरी साना सवारीको अनुभवै नलिई टिपर हाँक्दा दुर्घटना बढेको निष्कर्षपछि नयाँ मापदण्ड सिफारिस गरिएको अर्यालले बताए।
उनका अनुसार अब टिपर चालकको अनुमति लिन विभागबाट स्वीकृतिप्राप्त प्रशिक्षण केन्द्रबाट ४५ दिन तालिम लिएको वा वर्कशप, कार्यशाला, निर्माणस्थलमा एक वर्ष सम्बन्धित सवारी चलाएको अनुभव र प्रमाणपत्र हुनुपर्नेछ।
‘ऐन संशोधन भएपछि विस्तारै ठूला सवारीमा व्यवहारिक र कुशल चालक आउने हामीले अपेक्षा गरेका छौं,’ उनले भने।
काठमाडौं महानगरीय ट्राफिक प्रमुख वसन्तकुमार पन्त भने सवारी दुर्घटना बढ्नुमा टिपर चालक सँगसँगै अन्य सवारी चालकको लापरबाहीलाई पनि कारण मान्छन्।
आफ्नो लेनमा मात्र हिँड्ने, ओभरटेक गर्दा ऐना हेरेर दायाँबाट मात्र गर्ने, क्रस गर्दा साइड लाइट दिने, साँघुरो–घुमाउरो बाटोमा ओभरटेक नगर्नेजस्ता सामान्य ट्राफिक नियमसमेत विरलै पालना हुनुले दुर्घटना बढेको उनको भनाइ छ।
पन्तका अनुसार टिपर दुर्घटनाका अधिकांश घटना यस्तै स्थितिमा भएका छन्।
‘नयाँ चालकलाई त सिकाउन–सम्झाउन सक्छौं। सडकमा जथाभाबी कुद्ने पुराना चालकको बानी सुधार्न गाह्रो हुन्छ,’ उनले भने, ‘आफ्नो जीवन जोखिममा पार्ने काम चालक आफैंले गरिरहेका हुन्छन्। यो चेतना नआउञ्जेल र नियम पालना नहुञ्जेल जे–जति कडाइ गरे पनि दुर्घटना भइरहन्छन्।’