काठमाडौंमा अहिले एसिया प्रशान्त क्षेत्रीय सम्पत्ति शुद्धिकरण सम्बन्धमा बैठक चलिरहेको छ।बैठकमा पाँच सय प्रतिनिधि छन्।
अर्थका अधिकारीहरूका अनुसार पाँच सय बढी सहभागी कार्यक्रम गर्न सरकारी हल नपाएपछि सोल्टी होटलको मेघा हलमा बैठक राखियो।
मेघा हलमा पनि सबै प्रतिनिधि सजिलो गरी बस्न पाएका छैनन्। सहभागीहरू कोचाकोच गरी ‘मिलेर’ बस्नु परेको छ।
यही साता भारतीय चलचित्रको प्रतिष्ठित जी सिने अवार्ड नेपालमा हुने घोषणा गरियो।
प्रधानमन्त्री केपी शर्मा ओलीले अवार्ड आयोजनाको तयारी गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन र गृह मन्त्रालयलगायत निकायलाई निर्देशन दिइसकेका छन्।
नेपाली सिनेमाको पनि एउटा क्याटगोरी राख्ने भनिएको उक्त अवार्डबाट नेपालको विश्वव्यापी प्रवद्र्धन अपेक्षा गरिएको छ।
पाँच सय जनालाई एकै ठाउँमा राखेर कार्यक्रम गर्न सकिने हल नभएको काठमाडौंमा १ सय ९५ देशका निम्तालु हुने अवार्ड कार्यक्रम गर्ने हल भने हामीसँग छैन।
मंसिरमा आयोजना हुने उक्त समारोह कहाँ गर्नेे भन्नेमा अधिकारीहरू अहिले अन्यौलमा छन्।
सहरमा भएका निजी तथा सरकारी भवनमा कार्यक्रम गर्न मिल्ने हल नभएपछि सरकारले नयाँ भवन बनाउने सोच बनाएको छ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन र गृह मन्त्रालयका सचिवले हल बनाउन सकिने सम्भावित ठाउँको अवलोकन गरेका छन्।
निर्णय भइसकेको नभए पनि आवश्यक भएकोले ठाउँको खोजी गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन सचिव कृष्ण देवकोटाले जानकारी दिए।
‘यसबारे निर्णय भइसकेको छैन तर हामीले त्यस्ता सम्भावित ठाउँ हेरेका छौ,’ देवकोटाले सेतोपाटीसँग भने,‘तत्काल प्रिफ्याव संरचनाको हल र स्थायी पार्किङ बनाउने सोचाइ छ।’
अहिले बनाएको संरचना ८/१० वर्ष टिक्ने र त्यसबाट लगानी पनि उठ्ने उनको भनाइ छ।
लुम्बिनीमा ३८ दिनमा यस्तै संरचना बनेको र यहाँ पनि छिट्टै बनाउन सकिने भए पनि अहिले तयारीकै क्रममा रहेको उनले बताए।
भक्तपुरमा नेपाल ट्रष्टको जग्गा, भैंसेपाटी आवास क्षेत्रको जग्गा र रेडियो नेपालको जग्गामा हल बनाउन सकिने अधिकारीहरूले बताएका छन्।
जग्गा, भवनको लागत र प्राविधिक पक्षको अध्ययन भएपछि त्यसको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइने र त्यसपछि संरचनाको निर्माण गर्ने निर्णय हुनेछ।
भवन विभाग, गृह, पर्यटन मन्त्रालयलगायत सबै निकायको सहभागिता हुने भएकोले सामूहिक प्रयास हुनुपर्ने सचिव देवकोटाले बताए।