ईलाका प्रहरी कार्यालय बुटवलले गत आर्थिक वर्ष २०७४/७५ मा आचरणविपरीत काम गर्ने एक जनालाई निलम्बन गरेको छ भने उच्च आचरण भएका एक जनालाई पदोन्नति गरेको छ।
कार्यालयका अनुसार राम्रो काम गरेर पुरस्कृत हुने र नराम्रो काम गरेर कारबाहीमा पर्नेहरूको संख्या करिब एउटै पाइएको छ।
ईलाका प्रहरी कार्यालय मातहत रहेका विभिन्न प्रहरी चौकी तथा कार्यालयमा गरी २३ जना प्रहरी कर्मचारी कारबाहीमा परेका छन् । त्यस्तै, राम्रो काम गरेर २२ जना प्रहरी कर्मचारी पुरस्कृत भएका छन्।
एक जना प्रहरी हवल्दार पदोन्नति भइ प्रहरी सहायक निरीक्षक भएका छन् भने एक जना प्रहरी जवान निलम्बनमा परेको कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले जानकारी दिए।
२१ जना प्रहरी कर्मचारी नगदसहित पुरस्कृत भएका छन्। नगदसहित पुरस्कृत हुनेमा दुई जना प्रहरी निरीक्षक, ४ जना प्रहरी नायब निरीक्षक, २ जना प्रहरी सहायक निरीक्षक, ४ जना प्रहरी हवल्दार र ९ जना प्रहरी जवान रहेका छन्।
कारबाहीमा पर्नेमा १२ जना प्रहरी जवान, २ जना प्रहरी हवल्दार, २ जना प्रहरी सहायक निरीक्षक र ३ जना प्रहरी नायब निरीक्षकलाई कडा चेतावनी दिइएको छ।
एक जना प्रहरी नायब निरीक्षकलाई चालचलनसम्बन्धी प्रतिकूल राय लेखिएको र एक/एक जना प्रहरी हवल्दार प्रहरी नायब निरीक्षकलाई नसियत दिइएको मल्लले जानकारी दिए।
नागरिकस्तरबाट प्रहरी व्यवहारमा सुधार ल्याउनुपर्ने, मानव अधिकारको संरक्षण र आर्थिक प्रलोभनमा नपर्न सुझाव आउने गरेको उनले बताए।