त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो एक महिनामा प्रहरीले भन्सार छलीको करिब १२ किलो अवैध सुन बरामद गरेको छ।
पछिल्लो एक महिनामा १३ भारतीय नागरिक र २ जना थाई नागरिकले विमानस्थल प्रयोग गरी अवैध १२ किलोभन्दा बढी सुन नेपाल भित्र्याउने क्रममा विमानस्थल प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
भारतीय नागरिकले विभिन्न जुक्ति लगाएर सुन भित्र्याउन खोजे पनि प्रहरीले उनीहरूको सुन तस्करी गर्ने तरिका पत्ता लगाएर सुन बरामद गर्दै आएको छ।
बुधबार दिउँसो १२:३० बजे थाई एयरलाईन्सको टिजी ३१९ बाट बैंककदेखि काठमाडौं आउँदै गरेका थाई नागरिकबाट प्रहरीले उक्त परिणाममा सुन बरामद गरेको हो।
पर्यटक भिसामा नेपाल आएका उनीहरूले बाला, बेल्डको बक्कल, घडीको कभर, सिक्का र जाबी बनाएर सुन नेपाल ल्याएका थिए।
विषेश सूचना पछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा सो मात्रामा सुन बरामद भएको बिमानस्थल प्रहरीका प्रवक्ता एसपी दिनेशराज मैनालीले सेतोपाटीलाई बताए।
यस बाहेक बाँकी सबै सुन भारतीय नागरिकले नेपाल भित्र्याएका थिए।
यस अवधिमा १३ भारतीय नागरिकले ८ किलो भन्दा बढी सुन नेपाल भित्र्याउने क्रममा पक्राउ परेको बिमानस्थल प्रहरीले जनाएको छ।
असार २१ गते दुबईबाट काठमाडौं आउँदै गरेका २ भारतीय नागरिकलाई प्रहरीले त्रिभुवन विमानस्थलबाट करिब २ किलो सुनसहित पक्राउ गर्यो।
भारतीय नागरिक जलालुदिन मोहम्मद र अरसद चोलाइले मलद्वारमा लुकाएर ल्याएको १ हजार ८ सय ६४ ग्राम अवैध सुन बिमानस्थल प्रहरीले बरामद गरेको हो।
उनीहरूलाई विमानस्थलबाट बाहिँरिदै गर्दा प्रहरीलाई शंका लागेर नियन्त्रणमा लिई खानतलासी गर्दा मलद्धारमा सुन लुकाइरहेको अवस्थामा उक्त परिणामको सुन फेला परेको हो।
साउन २ गते युएईको सारजाहबाट काठमाडौं आउदै गरेका ३ भारतीय नागरिकलाई बिमानस्थल प्रहरीले आधा किलो सुनसहित पक्राउ गर्यो।
एयर अरेबियाको फ्लाइट नम्बर जी ९५३९ बाट सारजहाँबाट काठमाडौं आउदै गरेका भारतीय नागरिक फैजन खान, आदिल र सैयद मोहम्मद कासिफका साथबाट प्रहरीले ५ सय ५९ ग्राम भन्सार छलिको अवैध सुनसहित पक्राउ गर्यो।
सटको बटम जस्तै बनाएर उनीहरूले जिब्रो मुनि लुकाएर सुन नेपाल भित्र्याएका थिए।
प्रहरीलाई शंका लागि उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा सुन फेला परेको हो। उनीहरू बाहिर निस्कँदा त्यती बोलेका पनि थिएनन्।
त्यसैगरी गएको साउन ५ गते बैंककबाट काठमाडौं आउदै गरेका २ भारतीय नागरिक विमानस्थलबाट २ किलो ६ सय ७० ग्राम भन्सार छलीको अवैध सुन सहित पक्राउ परे।
थाई एयरको फ्लाइट नम्बर टिजी ३१९ देखि बैंककबाट काठमाडौं आउदै गरेका भारतीय नागरिक इमरान र आरिफ अलीका साथबाट प्रहरीले उक्त सुन बरामद गरेको हो।
बिमानबाट ओर्लिए लगतै विशेष सूचनाको आधारमा प्रहरीले उनीहरूलाई निगरानी गरेको थियो।
नियन्त्रणमा लिएर हेर्दा बेल्ड जस्तै बनाएर मलद्वारमा लुकाएर राखेको अवस्थामा २ किलो ६ सय ७० ग्राम सुन फेला परेको हो।
त्यस्तै साउन ७ गते थाईल्याण्डबाट काठमाडौं आउँदै गरेका ५ जना भारतीय नागरिकबाट ३ किलो ३६ ग्राम अवैध भन्सार छलीको सुन बरामद भयो।
थाई एयरको फ्लाइट नम्बर टिजी ३२० बाट बैंककदेखि काटमाडौं आउँदै गरेका भनरतीय नागरिक ईश्वर दास, अमृत पल सिंह, हरमिन्द्र सिंह, अवतार सिंह र रिजवत अन्सारीका साथबाट प्रहरीले ३ किलो ३६ ग्राम सुन बरामद गरेको थियो।
बरामद भएको सुन उनीहरुले सुड्केसको पाङ्ग्रा बनाएर ल्याएका थिए। विषेश सूचनाका आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो।
‘पछिल्लो समय विमानस्थलबाट हुने सुन तस्करीमा प्रहरी निकै कठोर भएर लागेको छ,’ विमानस्थल प्रहरी प्रवक्ता एसपी दिनेश मैनालीले सेतोपाटीसँग कुरा गर्दै भने, ‘तस्करीको सुन बाहिर जान नदिन हामीले केही कदम चाल्ने गरेका छौं, सुन बोकेर आएका ब्यक्ति पत्ता लगाउने हामीसँग केही उपाय छ।’
जस्तो सुकै जुक्ति लगाएर सुन भित्र्याउन खोजे पनि उनीहरूलाई नियन्त्रणमा लिएरै छाड्ने प्रवक्ताको दाबी छ। ‘पछिल्लो समयमा भारतीय नागरिक पक्राउ परेका छन्, उनीहरुले विभिन्न जुक्ति लगाएर अवैध सुन भित्र्याउँदै आएका छन्, सुन बोकेर त आउँछन् तर हामी बाहिर जान दिदैनौं,’ उनले भने।
विमानस्थलबाट हुने कुनै पनि प्रकारको तस्करी नियन्त्रण गर्ने प्रहरी तयार रहेको उनले बताए।
‘विमास्थलबाट हुन सुन तस्करी मात्र होन हामीले अन्य बस्तुलाई गैर कानुनी र भन्सार छलीका बस्तुलाई रोख्न विषेश उपाय अपनाएका छौं,’ प्रवक्ता मैनाललीले भने।