जाजरकोटमा महामारीका रूपमा २०६६ मा फैलिएको झाडापखालाका कारण रामीडाँडाकी धनकली पुनको ३१ वर्षको उमेरमा नै मृत्यु भयो। धनकलाको मृत्युपछि उनका श्रीमान नरबहादुर पुनको सरकारले झाडापखालाबाट प्रभावित परिवारलाई अनुदान दिएको चामल लिन जाँदा भिरबाट खसेर मृत्यु भयो।
श्रीमती धनकलीको मृत्यु भएको केही महिनापछि ३९ वर्षीय नरबहादुरको समेत मृत्यु भएपछि उनीहरूकी १ वर्षीया छोरी टिकालक्ष्मी पुन अनाथ भइन्।
२०६५ असार ९ गते जन्मिएकी टिकालक्ष्मीले १ वर्षको हुँदा २०६६ साउन २ गते आमा गुमाइन्। त्यसको केही महिनापछि बाबा पनि गुमाइन् । बाबा र आमाको मृत्यु पछि उनका जेठो बाबा (ठूलो बुवा)ले गाउँकै सरकारी विद्यालयमा भर्ना गरिदिए । उनले त्यहाँ ३ कक्षासम्म अध्ययन गरिन्।
पढ्दापढ्दै उनका ठूलोबुवालाई खर्च धान्न गाह्रो भयो। आफ्नै ६ छोरी र २ छोरासहित ८ सन्तान भएका टिकालक्ष्मीका ठूलोबुवाले निःशुल्क रूपमा भाइको अनाथ छोरीको व्यवस्थापन गर्ने ठाउँ खोजे। उनी टिकालक्ष्मीलाई लिएर सुर्खेतस्थित एसओएस हर्मन माईनर विद्यालयमा पुगे । जहाँ आवश्यक प्रक्रिया पुर्याए अनाथ बालबालिकाहरूलाई निःशुल्क आवाससहितको शिक्षा दिइन्छ।
‘मेरै ८ भाइबहिनी छोराछोरी छन्, उनीहरूलाई पाल्नै धौ–धौ भएको छ’ टिकालक्ष्मीका ठूलोबुवा लालबहादुर पुनले भने, ‘यहाँ अनाथ बुवाआमा नभएको बालबालिकालाई निःशुल्क पढाइ र अरु सबै हुन्छ भन्ने सुनेपछि, यसलाई यहाँ लिएर आएको हुँ।’
भौगोलिक विकटतासँगै गरिबीका कारण समस्या खेप्नुपरिरहेका बेला टिकालक्ष्मीको बाबा/आमा दुवैको मृत्यु भएपछि उनको सबै थोक गुमेको छ।
अहिले ९ वर्ष पुगेकी टिकालक्ष्मीलाई पढ्ने धोको भने निकै छ। उनी प्रमाण नपुगेका कारण एसओएसमा भर्ना हुन भने पाएकी छैनन् । एसओएस हर्मन माईनरले प्रक्रिया पुर्याएर आउन भन्दै उनी र उनको ठूलोबुवालाई फर्काएको छ।
‘यहाँ पढ्न पाएँ भने त म पढ्ने हुँ,’ वीरेन्द्रनगरमा भेटिएकी टिकालक्ष्मीले भनिन्, ‘हब्र (माथि) स्कूल जानै धौ हुन्छ, पढाइ पनि असल हुँदैन, यहाँ त हुन्छ रे ।’
टिकालक्ष्मीलाई सबै व्यवस्थापन निःशुल्क गर्नेगरी भर्ना हुनका लागि उनको प्रमाण नपुगेकोले फिर्ता गराइएको एसओएस हर्मन माईनर विद्यालय सुर्खेतका प्रिन्सिपल मुकुन्द कुमार गिरीले बताए । त्यसका लागि चाहिने केही प्रमाण आएपछि उनको नबालक परिचय पत्र, जिल्ला प्रशासन कार्यालयद्वारा अनाथ भएको सिफारिस र स्थानीय तहबाट अनाथ भएको भनी मुचुल्का नआएकोले भर्ना गर्न नसकिएको बताए।
उक्त प्रमाण केही दिनभित्र बनाएर ल्याएमा टिकालक्ष्मीलाई भर्ना गराइने पनि प्रिन्सिपल गिरीले बताए।