सुर्खेत, वीरेन्द्रनगरको ‘भ्याली मेरसडियन एकेडेमी’ का विद्यार्थीलाई प्रहरीले लागुऔषध दुर्व्यसनसम्बन्धी चेतनामूलक कार्यक्रम गरेका छन्।
साउन १३ गते आइबारका दिन प्रहरी निरीक्षक शंकर श्रेष्ठसहितको टोलीले ८, ९ र १० कक्षाका करिब ६० जना विद्यार्थीलाई लागुऔषध, यसका जोखिम र नियन्त्रणबारे जानकारी गराएका थिए।
यो नेपाल प्रहरीको लागुऔषध नियन्त्रण अभियानअन्तर्गत विद्यालयमा गएर चेतनामूलक कक्षा सञ्चालन गर्ने अन्तर्गतको कार्यक्रम हो।
लागुऔषध दुर्व्यसनीमा लाग्नेमध्ये अधिकांश विद्यालय उमेर समूहका हुने गरेकोले प्रहरीले यस्ता कार्यक्रममा जोड दिएको हो।
यो वर्ष गत बुधबारबाट सुरु कार्यक्रम आइतबारसम्ममा वीरेन्द्रनगर उपत्यकाका पाँच विद्यालयमा गरिसकिएको पनि उनले बताए।
प्रहरी निरीक्षक शंकर श्रेष्ठका अनुसार गत वर्ष विद्यार्थी, शिक्षक तथा सर्वसाधारणसहित चार हजार मानिस यस्ता कार्यक्रममा सहभागी थिए।
अभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालय सुर्खेतले गत आर्थिक वर्ष (०७४/०७५) मा ४१ वटा विद्यालयमा कार्यक्रम गरिसकेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी श्यामसिंह चौधरीले जानकारी दिए।
सुर्खेतमा लागु औषधसम्बन्धी घटना बढिरहेका र यस्ता कार्यक्रमले नियन्त्रणमा सहयोग गर्ने डिएसपी चौधरीले बताए।
‘कर्णाली प्रदेशको हकमा सुर्खेत जिल्ला लागुऔषध हब जस्तै बनिसकेको छ,’ डिएसपी चौधरीले भने, ‘न्युनीकरण गर्ने चुनौतीबीच यो कार्यक्रम एक समाधानको कारक बन्नेछ।’
प्रहरीका अनुसार यो प्रदेशका अन्य जिल्लाको तुलनामा सुर्खेतमा लागुऔषध सेवनकर्ता बढी छन्। गत वर्ष सुर्खेतका विभिन्न स्थानबाट लागुऔषध सेवन गर्ने ४६३ जना युवा नियन्त्रणमा लिएर आवश्यक मनोवैज्ञानिक परामर्शपछि अभिभावकको जिम्मा लगाइएको थियो।
राजधानी लागुऔषध ओसारपसारको मुख्य स्थल नबनोस् भनेर निगरानी बढाइएको कार्यालयले जनाएको छ।
यस्ता चेतनामूलक कार्यक्रम ग्रामिण क्षेत्रका विद्यालयमा पनि सञ्चालन गरिएको डिएसपी चौधरीले बताए। उनका अनुसार यो वर्ष उपत्यकाका मात्र ५० विद्यालयमा कार्यक्रम सञ्चालन गरिने छ।