मंगलबार बिहान जाजरकोटकी टिकालक्ष्मी पुनलाई एसओएस बालग्राम सुर्खेतका निराजन शाहीले एक महिलासँग भेट गराए। ती महिला बालग्राममै कार्यरत सुशीला चौधरी थिइन्। सुशीलालाई देखाउँदै निराजनले 'अब तिम्रो आमा उहाँ हो' भन्दा टिकालक्ष्मी मुस्कुराइन्। टाउको हल्लाएर सहमतिको संकेत दिइन्।
‘अब तिम्रो आमासँगै गएर बस,’ टिकालक्ष्मीलाई निराजनले भने। उनी सुशीला बसेको कुर्सिमा गएर बसिन्। टिकालक्ष्मीकी आमाको जिम्मेवारी पाएकी सुशीलाले उनलाई अँगालोमा राखिन्।
बालग्राममा टिकालक्ष्मी जस्तै केटाकेटी हेरचाह गर्न आमाहरु छन्। समूह विभाजन गरेर जिम्मा लगाइएका छोराछोरीहरुको ती आमाहरुले हेरचाह गर्छन्।
टिकालक्ष्मी १० वर्षकी भइन्। उनी एक वर्षकी हुँदै अनाथ बनेकी थिइन्।
उनकाे घर जाजरकोट, रामीडाँडा हो।
२०६६ सालमा झाडापखालाका कारण टिकालक्ष्मीकी आमा धनकली पुनको मृत्यु भयो। केही महिनामै बाबु नरबहादुर पुनको पनि भिरबाट खसेर मृत्यु भयो। त्यो बेला टिकालक्ष्मी एक वर्षकी थिइन्। अनाथ भइन्। र, जेठाबुबाको परिवारसँग रहिन्।
उनका जेठाबुबा लालबहादुरका ६ छोरी र २ छोरा छन्। टिकालक्ष्मीसहितको पढाइ खर्च धान्न मुश्किल थियो। भाइकी छोरीको निम्ति निःशुल्क व्यवस्थापन गर्ने ठाउँ खोजे। यही क्रममा मंगलबार लालबहादुरले टिकालक्ष्मीलाई बालग्रामको संरक्षणमा छाडेका हुन्।
सुर्खेतको एसओएस बालग्राममै उनले अध्ययन गर्न पाउने छिन्। उनलाई बालग्रामले १८ वर्ष हुँदासम्म सबै जिम्मा लिएर आफ्नै निगरानीमा राख्ने भएको छ।
कक्षा ३ सम्म गाउँकै सरकारी विद्यालयमा पढेकी टिकालक्ष्मीलाई बालग्रामले १० कक्षा पढ्दासम्म राख्ने बालग्रामका निमित्त निर्देशक सुशीलमणि ज्ञवालीले बताए। दस पासपछि उनलाई बाहिरी वातावरणमा घुलमिल हुन सहज होस् भनेर नेपालगञ्ज पठाइनेछ। त्यहाँ टिकालक्ष्मीले चाहेको शिक्षा लिन पाउने पनि ज्ञवालीले जानकारी दिए।