छाडा चौपायाका कारण दुर्घटना र नगरपालिका कुरुप बन्दै गएपछि तिलोत्तमा नगरपालिकाले छाडा चौपायाको व्यवस्थापन गर्ने अभियान सुरू गरेको छ।
किसानले दूध दिउञ्जेल चौपाया घरमा पाल्ने तर दूध दिन छोडेपछि सडकमा छोड्ने प्रवृति बढेपछि नगरपालिकाले चौपाया बेवारिसे छोड्ने व्यक्तिलाई जरिवाना गर्ने अभियान सुरू गरेको हो ।
नगरपालिकाले छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन कार्यविधि २०७४ जारी गरी छाडा चौपाया व्यवस्थापनमा लागेको हो।
स्थानीय तहमा पहिलो पटक यो कार्यविधि बनाएर लागू गरिएको नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले जानकारी दिए।
छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन कार्यविधि २०७४ मा चौपाया बेवारिसे छोड्ने व्यक्तिलाई जरिवाना गर्ने नियम बनाइएको छ।
कार्यविधिमा घरपालुवा चौपाया बेवारिसे छाडा छोड्नेलाई पहिलो पटक बढीमा ३ हजार रुपैयाँसम्म जरिवाना गर्न सकिने उल्लेख छ। गाई, गोरु, बाच्छाबाच्छी बेवारिसे छोडिएमा ३ हजार, राँगा, भैंसी, पाडापाडीको ७ सय र बाख्रा, खसी, बोका, भेंडा, सुंगुर, बंगुरको ५ सय रुपैयाँ जरिवाना तोकिएको छ।
छाडा पशु चौपायाका कारण नगरभित्रका किसानहरुको बाली नोक्सान भएको गुनासो बढेपछि नगरपालिकाले यो कार्यविधि ल्याएको नगरप्रमुख घिमिरेले जानकारी दिए।
‘नगरपालिका क्षेत्रभित्र जथाभावी छोडिने बेवारिसे पशु चौपायाले सडक एवं सार्वजनिक स्थलमा पुर्याइरहेको अवरोधले हुनसक्ने दुर्घटना, कृषि बालीको नोक्सानी तथा क्षति नियन्त्रण गर्दै ‘ग्रिन तिलोत्तमा, क्लिन तिलोत्तमा’ नारालाई व्यवहारमा उतार्न पनि कार्यविधिले सघाउ पुग्ने छ,’ उनले भने।
पशुलाई छाडा छोड्ने पशु धनीको सूचना दिने व्यक्ति, संघ संस्थालाई पशुधनीबाट असुल गरिएको जरिवानाको ५० प्रतिशत रकम पुरस्कार स्वरूप उपलब्ध गराउने व्यवस्था गरिएको नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्री ले बताए।
किसानहरुले पालेका पशु चौपायाको विमा समेत गर्दै आएकोले पशुमा लगाएको ट्यागको आधारमा सम्बन्धित पशुधनी पहिचान गर्न पनि सकिने उनले बताए।
नगरपालिकाले नगरभित्रका ८ सय पशुको बीमा समेत गरेको छ। कुनैपनि किसानले आफूले पालेको पशुको बीमा गर्न चाहेमा नेपाल सरकारले ७५ प्रतिशत अनुदान दिँदै आएको र बाँकी २५ प्रतिशतको ५० प्रतिशत रकम नगरपालिकाले उपलब्ध गराउँदै आएको छ। २५ प्रतिशतको पनि बाँकी ५० प्रतिशत मात्र सम्बन्धित पशुधनीले बेहोर्नु पर्ने छ।