रुपन्देहीकी समिक्षा ठकुरीलाई जिउँदै जलाएर हत्या गरिएको अभियोगमा रुपन्देही जिल्ला अदालतले चार जनालाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको छ।
अदालतको आदेशसँगै बाबु तेजबहादुर, फुपु अमृता र हजुरआमा हरिकला ठाकुरी थुनामा गए पनि अर्की फुपु मधु ठकुरी थापा भने फरार रहेको प्रहरीले जनाएको छ।
गत असार ९ गते राती सुतिरहेकै अवस्थामा शरीरमा मट्टीतेल खन्याएर जलाइएकी रुपन्देहीको कञ्चन गाउँपालिका वडा नं. ५ पिपरीचापा निवासी १५ वर्षीय समिक्षा ठकुरीको असार २० गते उपचारको क्रममा मृत्यु भएको थियो।
समिक्षाको मृत्यु भएपछि आमा मायाले परिवारकै सदस्यले आगो लगाएर छोरीको हत्या गरेको किटानी जाहेरी दिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।
प्रहरीको सोही अनुसन्धानपछि रुपन्देही जिल्ला अदालतका न्यायाधीश सारदाप्रसाद कोइरालाको एकल इजलासले समिक्षाका बुवा तेजबहादुर ठकुरी र फुपुहरू अमृता ठकुरी राना र मधु ठकुरी थापालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।
कर्तव्य ज्यान मुद्दामा भएको सुनुवाइमा बादीको तर्फबाट जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका सहायक जिल्ला न्यायाधिवक्ता आनन्द शर्मा र प्रतिवादीका तर्फबाट अधिवक्ता लिलाधर मरासिनीले बहस गरेका थिए।
समिक्षाकी आमा माया थापाले छोरीको हत्यामा बाबु तेजबहादुर, हजुरआमा हरिकला र फुपुहरु मधु र अमृता विरुद्ध किटानी जाहेरी दिएकी थिइन्।
समिक्षा तेजबहादुर र मायाकी छोरी हुन् । समिक्षा जन्मिएको ९ महिनापछि तेजबहादुरले दोस्रो विवाह गरेपछि आफूलाई कुटपिट गर्न थालेपछि मायाले छोरी लिएर माइतीमै बस्न थालेकी थिइन्।
माइतीमै बसाईको क्रममा मायाले २०७२ सालमा कञ्चन गाउँपालिका निवासी मोहन थापासँग दोस्रो विवाह गरेपछि समिक्षालाई बाबु तेजबहादुर ठकुरी र हजुरआमा हरिकला ठकुरीले जिम्मामा लिएर घरमा राखेका थिए।
समिक्षा बुवा र हजुरआमासँग बस्न थालेको ६ महिना मात्रै भएको आमा मायाले बताईन् । समिक्षा स्थानीय पिसल्याण्ड भुपू सैनिक पब्लिक स्कुलमा १० कक्षामा पढ्दै थिइन् ।