भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा भएको घटनाको विषयमा समाचार संकलन गर्न पुगेका पत्रकारहरूमाथि भएको हातपात र सञ्चारसामग्री तोडफोडको घटना छानबिनको लागि समिति गठन गरिएको छ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा सोमबार भएको छलफलपछि घटनामा संलग्न व्यक्तिहरूको छानबिनको लागि जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विष्णु ज्ञवालीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो।
छानबिन समितिमा पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डे, लुम्बिनी प्रेस क्लबका अध्यक्ष माधव ढुंगाना, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उमेशराज जोशी र युनिभर्सल मेडिकल कलेजबाट एक जना प्रतिनिधि रहेका छन्।
समितिलाई घटनाको छानबिन गरी एक साताभित्र प्रतिवेदन बुझाउने समय दिइएको छ। छानबिन समितिको प्रतिवेदनपछि सोही प्रतिवेदनको आधारमा घटनामा संलग्नलाई कारबाही प्रकृया अगाडि बढाइने रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिए।
नितम्बमा पिलो आएपछि उपचारको लागि अस्पतालमा भर्ना भएका बिडिएस अन्तिम वर्षमा अध्ययनरत जनकपुर निवासी २४ वर्षीय महादेव शाहको आइतबार मृत्यु भएपछि विद्यार्थीहरू तोडफोडमा उत्रिएका थिए।
विद्यार्थीहरूले अस्पतालमा तोडफोड गर्दै नाराबाजीमा उत्रिएपछि सञ्चारकर्मीहरू समाचार संकलनको लागि अस्पताल पुगेका थिए।
सोही क्रममा आक्रोशित विद्यार्थीहरूले भैरहवाका पत्रकारहरू राधेश्याम विश्वकर्मा र दीपक घिमिरेको क्यामेरा तोडफोड गर्नुको साथै विश्वकर्मा, घिमिरे र सलमान खानमाथि दुव्र्यवहार गरेका थिए।
उक्त घटनाप्रति नेपाल पत्रकार महासंघ रुपन्देही, लुम्बिनी प्रेस क्लब लगायतका संघसंस्थाले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। उनीहरूले उक्त घटनाबाट भएको क्षतिको पूर्ति र आक्रमणकारीको तत्काल पहिचान गरी कानूनी दायरामा ल्याउन जिल्ला प्रशासन कार्यालयसहित विद्यार्थी आबद्ध युनिभर्सल मेडिकल कलेज व्यवस्थापन पक्षसँग माग समेत गरेका छन्।
यसैबीच उपचारमा भएको लापरबाहीले शाहको मृत्यु भएको भन्दै आफन्तले शव बुझ्न मानेका छैनन्।
आफन्तले चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै शव नबुझ्ने बताएका छन्। आफन्तले शव नउठाएपछि शाहको शवलाई अस्पतालको शव गृहमै राखिएको छ।
अस्पताल प्रशासन र मृतकका आफन्त तथा आन्दोलनरत विद्यार्थीबीच सोमबार पनि छलफल भएको थियो। छलफलमा सहमति नजुट्दा आफन्तले शव बुझ्न नमानेको प्रहरी उपरीक्षक ज्ञवालीले जानकारी दिए।
अस्पतालका जनसम्पर्क अधिकारी सुशील गुरुङले मृतकका भाइ, मामासहितका नातेदार र आन्दोलनरत विद्यार्थीबीच छलफल भइरहे पनि निचोडमा नपुगेको बताए। आफन्तले अस्पतालले क्षतिपूर्ति दिनु पर्ने माग गरेका छन्।