वैज्ञानिक अध्ययनले भन्छ– हामीले बसोबास स्थल वरिपरि १० प्रतिशत मात्र हरियाली बनायौं भने हाम्रो आयु पाँच वर्ष थपिने गरी स्वास्थ्य समस्या घट्ने छन्।
कुनै बेला यथेष्ट चउरले भरिएको काठमाडौं उपत्यकामा भने हरियाली मासिँदै गएको छ। खुला स्थल मिचेर व्यावसायिक कम्प्लेक्स बनाउने लहर बढ्दो छ। स्थानीय पहलमा केही साना पार्क बनेका छन्। तर गुम्सिएको सहरलाई अक्सिजन भर्न पर्याप्त छैनन्।
पशुपति क्षेत्र विकास कोषको प्रस्तावित आध्यात्मिक पार्कले काठमाडौंलाई हरियाली सहर बनाउन थोरै भए पनि भरथेग गर्नेछ।
विश्व सम्पदा सूचीकृत पशुपति क्षेत्रलाई पूर्ण आध्यात्मिक वातावरण दिन कोषले हरियाली पार्क निर्माण सुरु गरेको हो।
कोषका सदस्य–सचिव प्रदीप ढकालका अनुसार यो पार्क करिब १ हजार २ सय रोपनी क्षेत्रफलको हुनेछ। त्रिभुवन विमानस्थल गल्फ कोर्सको केही भागदेखि शिवपुरी बाबा आश्रम र नेपाली सेनाको कालीदल गण हुँदै गुह्येश्वरीसम्म फैलिनेछ।
‘यति ठूलो तीर्थस्थलमा कतै फोहोरको डंगुर छ। कतै धूलो, हिलो, मैलो छ,’ उनले सेतोपाटीसँग भने, ‘हामीले यसलाई हरियालीसहितको सुन्दर र सफा पार्कका रूपमा विकास गर्न खोजेका छौं।’
त्रिभुवन विमानस्थलको मूलगेट छिर्नेबित्तिकै उत्तरपट्टि तारबारभित्र प्रशस्त हरियाली र पातला रूखहरू भएको मैदान देखिन्छ। तिलगंगाबाट एयरपोर्टतिर हिँडेर आउँदा बायाँतिर लमतन्न मैदान र सडकबीच लहरै हरिया रूख छन्। रूख र मैदानबीच हिँड्ने बाटो छ।
झन्डै तीन सय रोपनीको त्यो मैदान छिर्न पाइन्न। फलामे जालीले घेरिएको छ। यो पशुपतिनाथ मन्दिरको सम्पत्ति हो। यसको उपभोग रोयल नेपाल गल्फ कोर्सले गर्दै आएको छ। उच्च वर्गका ५० जना गल्फ सोखिनहरूले यसको लाभ उठाउँदै आएका छन्।
कोषको हरियालीयुक्त आध्यात्मिक पार्क बनेपछि यो मैदान सार्वजनिक उपभोगमा आउनेछ।
गल्फ कोर्सकै उत्तरपूर्वपट्टि पाँच मिनेटमाथि उक्लेपछि ध्रुवस्थली पुगिन्छ। यो शिवपुरी बाबाले आफ्नो जीवनको अन्तिमकालमा तपस्या गरेको ठाउँ हो। काठमाडौंको बीचमा यति बाक्लो र सुन्दर जंगल छ भन्ने त्यहाँ नपुगेकाले कल्पना पनि गर्न सक्दैनन्।
कोषको योजनाअनुरुप यसलाई पनि आध्यात्मिक पार्कभित्र समेटिनेछ।
यहाँ अहिले नै सुलुक्क परेका अग्ला रूख छन्। बाक्लो जंगलमा चराचुरुंगी पनि बाक्लै छन्। शिवपुरी बाबाले आफ्नो जीवनको अन्तिम समय बिताएको कुटी अझै सुरक्षित छ। त्यही कुटीभित्र उनको समाधिस्थल छ।
यो क्षेत्र त्यसै पनि कोषले भनेजस्तै ध्यान गर्नेहरूको निम्ति आध्यात्मिक केन्द्र नै हो। यो २०–२५ रोपनीको छ। शिवपुरी बाबाको आश्रम स्थललाई योग र ध्यान केन्द्रका रूपमा विकास गरिने कोषका सदस्य–सचिव ढकाल बताउँछन्।
पशुपति क्षेत्रको ध्रुवस्थली र मृगस्थली जंगल पहिले जोडिएकै थिए। अहिले बाटोले छुट्टयाएको छ। सम्पदामाथि अतिक्रमण गर्दै पुष्पकमल दाहाल सरकार पालामा यो बाटो बनेको हो।
त्यति बेला पशुपति क्षेत्र विकास कोषले विरोध गरेको थियो। युनेस्कोले पनि बाटो बनाउन हुन्न भन्ने अडान लिएको थियो। बाटो खोले पशुपतिलाई विश्व सम्पदा सूचीबाट हटाउने चेतावनी दिएको थियो। तै रातारात डोजर चलाएर जंगल काटियो, बाटो खुल्यो। बाटो खोल्दा यहाँ ६ सय वटाजति बहुमूल्य रूख काटिएका छन्।
सर्वोच्च अदालतले त्यो बाटो बन्द गर्ने आदेश दिइसकेको छ। बाटो बन्द गरेर गल्फ कोर्स, ध्रुवस्थली र मृगस्थली जोडेपछि झन्डै एक हजार रोपनीको वन क्षेत्र स्थापना हुन्छ। यो क्षेत्रभित्र गुह्येश्वरी, विश्वरुप मन्दिर, किरातेश्वर मन्दिर र शिवपुरी बाबाको आश्रमजस्ता सम्पदा पर्छन्।
मृगस्थली, ध्रुवस्थली र गल्फ कोर्सबाहेक पशुपति मन्दिरमाथि पूर्वपट्टि ६७ रोपनीको कैलाश डाँडो छ। हिउँदमा यो डाँडोबाट उत्तरपट्टि हिमशृंखला देखिन्छ। पशुपतिको शिरमा रहेको यो डाँडोमा फूलबारी बनाउन सकिन्छ।
यी सबैलाई समेटेर विशाल आध्यात्मिक पार्क बनाउने पशुपति विकास कोषको योजना हो। आगामी दुई वर्षभित्र सर्वसाधारणका लागि खुला गर्ने गरी पार्क निर्माण सुरु गरेको ढकालले जानकारी दिए।
‘यी सबै क्षेत्र समेटेर चारतिरबाट कलात्मक पर्खाल निर्माण गर्दैछौं,’ उनले भने, ‘पर्खालले घेरिएपछि पशुपति क्षेत्रका विभिन्न ठाउँमा अहिले भइरहेका मन्दिर र अन्य धार्मिक संरचना मर्मतसम्भार गरिनेछन्। ठाउँ–ठाउँमा नयाँ बनाउँछौं।’
यस क्रममा कोषले मृगस्थलीमा ढुंगा बिछ्याएर बाटो बनाइरहेको छ। वेद विद्यापीठ र कोषको सचिवालय पछाडि पार्क विस्तार गरिरहेको छ।
गौशाला चोकबाट पशुपति छिर्ने बाटोको दुवैतिर पनि धेरै खाली जग्गा छ। बाटो तल ९५ रोपनीको वनकाली क्षेत्रमा बनिरहेको सानो उद्यानबाहेकका जग्गा फोहोरमैला र झाडीले भरिएको छ। बाटोमाथि ८७ रोपनी क्षेत्रको देव उद्यानमा अहिले पनि सुन्दर बगैंचा र पार्क छ।
पशुपति क्षेत्र विकास कोषको कार्यालय रहेको यो ठाउँमा जाने गेट सर्वसाधारणले नदेख्ने ठाउँमा छ। पर्खालले घेरिएको त्यो उद्यानमा जान मिल्ने हो कि होइन भन्ने जानकारी कतै छैन। यी सम्पूर्ण क्षेत्र पार्कमा समेट्ने गरी निर्माण सुरु गरिएको ढकालले जानकारी दिए।
उनका अनुसार सुलेघाट क्षेत्रमा रहेका गुफाहरूलाई ध्यान केन्द्रका रूपमा विकास गर्ने योजना छ।
पशुपति क्षेत्रलाई व्यवस्थित पार्क बनाउन यहाँ प्रशस्त वनस्पति लगाउने योजना पनि छ। कुन ठाउँमा कस्तो वनस्पति लगाउने र कहाँनिर कस्तो धार्मिक संरचना बनाउने भन्नेबारे अध्ययन भइरहेको छ। यसका लागि वनस्पति विभागसँग परामर्श लिइरहेको उनले बताए।
‘यसलाई आध्यात्मिक पार्क बनाउने उद्देश्य भएकाले धार्मिक रूपले महत्वपूर्ण वनस्पतिलाई पहिलो प्राथमिकता दिनेछौं,’ कोषका सदस्य–सचिव ढकालले भने, ‘यसमा बेल, रुद्राक्ष, पारिजात, वर–पिपलजस्ता रूखबिरुवा पर्छन्।’
रूखबिरुवा उमारेपछि वरिपरि चौतारी बनाएर ध्यान गर्ने ठाउँ तयार पार्ने कोषको योजना छ। पूरै क्षेत्रमा हिँड्ने बाटोको सञ्जाल पनि विकास गरिनेछ।
‘पशुपति क्षेत्रलाई बाहिरको ध्वनी र धुवाँबाट मुक्त शुद्ध आध्यात्मिक केन्द्र बनाउने हाम्रो उद्देश्य हो। त्यहीअनुसारको गुरुयोजना बनाउने काममा हामी लागेका छौं,’ उनले भने।
कोषले योजनाअनुसारका सानातिना काम आफ्नो नियमित बजेटबाटै गर्न थालेको छ। विस्तृत लागत भने गुरुयोजना बनेपछि यकिन हुनेछ।
यसरी बन्ने पार्कमा सबैको पहुँच हुने छ। यहाँको आध्यात्मिक वातावरण बिथोल्न खोज्नेमाथि निगरानी बढाउन सुरक्षा उपाय अपनाइने ढकालले जानकारी दिए।
चारतिर पर्खालले घेरिएपछि निश्चित ठाउँमा मात्र प्रवेशद्वार बनाइने छन्। त्यहाँबाट को पस्यो र को निस्क्यो यकिन गर्न सजिलो हुनेछ।
‘पशुपति क्षेत्रमा प्रवेश गर्दा पहिलो दृश्य हरियाली र धूलोमुक्त पार्क हुनेछ, जहाँ मान्छे शान्तिसँग ध्यान र योग गर्न सक्नेछन्,’ ढकालले भने, ‘हामी दुई वर्षभित्र यो योजना मोटामोटी पूरा गरिछाड्छौं।’