स्थानीय तहमा परिचालन भएका सामाजिक परिचालकहरूले पुनर्बहालीको माग गर्दै आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।
नेपाल सामाजिक परिचालक कर्मचारी संघ गण्डकी प्रदेश पोखराले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी सरकारलाई ५ दिनभित्र आफ्नो माग सम्बोधन नगरे चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।
जागिरमा पुर्नबहाली, सेवा सुविधा बढाउनु पर्ने, पदमा म्याद थप गरी निरन्तरता दिनुपर्ने, योग्यताका आधारमा उमेरको हद नलाग्ने गरी दरबन्दी सृजना गनुपर्ने, स्थानीय तहका कर्मचारीमा समायोजन गर्नुपर्ने लगायतका माग रहेको संघका केन्द्रीय महासचिव तेजप्रसाद शर्माले जानकारी दिए।
सरकारले मागको बेवास्ता गरे देशव्यापी रूपमा आन्दोलन चर्काउने उनले जानकारी दिए । विकासमा फड्को मार्ननिम्ति सामाजिक परिचालकलाई परिचालन गर्नुपर्ने उनको भनाइ थियो । माग लिएर स्थानीय तहमा जाँदा प्रदेशमा, प्रदेशमा जाँदा केन्द्रमा पठाएको उनले गुनासो पोखे।
‘हाम्रो रोजी रोटी नै खोसियो,’ उनले भने ‘सम्बन्धित निकायसँग पटकपटक भेटघाट र छलफल गर्दा पनि माग पूरा गर्छौं भनेर आश्वासन मात्र दिएका छन्।’
माग पूरा नभए प्रदेश सभा र मुख्यमन्त्रीको कार्यालयमा धर्ना दिने कार्यक्रम तय गरेको उनले बताए।
कामको मूल्याकंन नगरी अवकाश दिएको विरोधमा संघले देशव्यापी रूपमा विरोधका कार्यक्रम गर्दै आइरहेको छ।
देशभर ४ हजार ६ सय ६४ जना सामाजिक परिचालक छन् भने गण्डकी प्रदेशमा मात्रै ४ सय ८५ जना छन्।