बूढीगण्डकी जलविद्युत आयोजना मुआब्जा निर्धारण तथा वितरण समितिले डुवान क्षेत्रभित्र नपर्ने जग्गा धनीलाई पनि मुआब्जा रकम दिएको छ।
गोरखाका साविक तीन गाविस (बुंकोट, नाम्जुङ र बोर्लाङ) का २१ जना जग्गा धनीलाई प्रमुख जिल्ला अधिकारी नेतृत्वको मुआब्जा समितिले बैंकमार्फत् मुआब्जा रकम दिएको खुलेको हो।
पानीको सतहले नडुब्ने ३५ रोपनी जग्गाको मुआब्जा जग्गाधनीको खातामा गइसकेको छ।
एकै व्यक्तिले ४६ लाख मुआब्जा बुझेका छन् भने २१ जनाले कूल ३ करोड मुआब्जा पाएका थिए।
नपाउनुपर्ने जग्गाधनीले मुआब्जा लिएको भन्ने देखिएपछि मुआब्जा फिर्ता गर्न ती जग्गाधनीलाई स्थानीय प्रशासनले आग्रह गरेको छ।
'पत्र पठाएरै मुआब्जा रकम फिर्ता गर्न भनेका छौं' प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले सेतोपाटीसँग भने, 'अहिलेसम्म १० जनाले फिर्ता गर्नुभयो। अरु प्रक्रियामै हुनुहुन्छ।'
मुआब्जा पाउनेको सूची पत्रिकामा निकाल्दा नै त्रुटी भएकोले जग्गा नडुब्नेहरूले पनि मुआब्जा पाएका हुन्। मुआब्जा दिनुअघि जिल्ला नापी कार्यालयमा फाइल रुजु गरेर मुआब्जा समितिमा लैजानुपर्नेमा सिधै मुआब्जा समितिमा फाइल लैजाँदा त्रुटी भएको थियो।
मुआब्जा बुझेकाहरूले साउन २५ सम्म मुआब्जा रकम फिर्ता गर्नुपर्ने भएको छ। नडुब्ने जग्गाको मुआब्जा पाएका एक जनालाई प्रजिअ भट्टराईले साउन ९ गते आवश्यक सोधपुछ गरी मुआब्जा फिर्ता गर्ने सर्तमा छाडेको स्रोत बताउँछ।
मुआब्जा लिन आउने सूचीमा नाम निस्केपछि आफूहरूले मुआब्जा बुझे पनि अहिले प्रशासनले दु:ख दिएको जग्गाधनी बताउँछन्।
कागजातमा डुवानभित्र पर्ने देखिएको जग्गा डुवान हुने सीमा छुट्टाउन गाडेको किला बाहिर परेपछि मुआब्जा फिर्ता गर्नुपर्ने भएको हो।
मुआब्जा बुझेका ती जग्गाधनीको लालपूर्जा रद्द भइसकेको थियो। उनीहरूले मुआब्जा फिर्ता गरेपछि पुर्जा पाउनेछन्।
आयोजना पुर्नस्थापना तथा पुर्नवास एकाइका अनुसार आयोजनाकै असावधानीले गर्दा जग्गाधनीले दु:ख पाएका हुन्।
'मुआब्जा पाउने सूचीमा नाम निस्केको, निवेदन पनि माग गरिएको र सबै कागजात हेरेरै मुआब्जा दिइएको हो। तर डुवान क्षेत्र बाहिरका जग्गा रहेछ। मुआब्जा फिर्ता गर्नुपर्छ' एकाइका एक कर्मचारीले भने।
अहिलेसम्म गोरखा र धादिङमा गरी १५ अर्ब मुआब्जा वितरण गरिसकेको समितिले गोरखाको आरुघाट र धादिङको खहरे बजारको भने मुआब्जा नै निर्धारण गरेको छैन।
पहिलो चरणमा मुआब्जा बाँडेको गोरखा घ्याल्चोक, भुम्लिचोक र दर्वुङ गाविसमा मुआब्जा बाँड्दा यस्ता खालका समस्या देखिएको थिएन।