असार २९ गते गोरखाकी गंगामाया अधिकारीले ४५ दिन लामो अनसन तोडिन्। त्यसको तीन हप्तापछि साउन २० गते चार वर्षदेखि ‘बेपत्ता’ उनका जेठा छोरा नुरप्रसादलाई प्रहरीले समात्यो। प्रहरीले सानेपास्थित बाटोबाट समातेको भने पनि नुरप्रसाद यो कुरा इन्कार गर्छन्।
उच्च अदालत पाटनको गेटबाट समातिएको उनी बताउँछन्। किन समातेको? के कसुर? भन्ने नखुलाइकन प्रहरीले नुरप्रसादलाई गंगामायाकहाँ पुर्याएको छ। प्रहरीका अनुसार नुरप्रसादलाई गंगामायाकै अनुरोधमा खोजी गरी जिम्मा लगाइएको हो। उनी कहाँ जाँदै थिए यकिन नभएको प्रहरी बताउँछ।
नुरप्रसाद निवेदक रहेको कृष्णप्रसाद हत्याको बकपत्रका लागि नुरप्रसादलाई झिकाउन जिल्ला अदालत चितवनले दुई पटक आदेश गरिसकेको छ। गत फागुनमा अदालतले नुरप्रसाद झिकाउने आदेश गरेको थियो। आइतबार सोही आदेश दोहोर्याएको छ। नुरप्रसाद सम्पर्कमा नआएकै कारण मुद्दा लम्बिएको प्रहरीको भनाइ छ।
‘गंगामायाले छोरा खोजी गरिदिन सरकारसँग आग्रह गरेकाले हामीले भेटाइदिएका हौं, कसुर त केही होइन,’ महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख एसएसपी धीरजप्रताप सिंहले भने, ‘उहाँको बकपत्र हुन नसक्दा मुद्दा लम्बिरहेको र अदालतले झिकाउन आदेश दिइरहेको पनि छ।’
कृष्णप्रसाद हत्यामा सरकारबाट अनुसन्धान नै फितलो पारिएको दाबी नुरप्रसादको छ। सोही कारण देखाउँदै उनले बकपत्र दिन आनाकानी गर्ने गरेका छन्।
‘उहाँलाई बकपत्रका लागि जानुहोस् भनी सरोकारवालाबाट परामर्श दिने काम पनि भइरहेको छ,’ एसएसपी सिंहले भने।
मंगलबार मानवअधिकारवादी तथा सामाजिक अभियन्ताहरूको समूहले नुरप्रसादसँग छलफल गरेको छ। नुरप्रसादलाई अदालत गएर बकपत्र दिन सुझाव दिएको छ। उनले सोचेर निर्णय गर्ने प्रतिक्रिया दिएका छन्।
छलफलमा सहभागी एक अधिकारीका अनुसार नुरप्रसादले अदालतबाट पनि न्यायको आश नरहेको बताउँदै त्यस्तो प्रतिक्रिया दिएका हुन्।
‘अदालतबाट बोलाइरहेको अवस्थामा गएर आफ्नो यथार्थ दिए कानुनी कारबाहीमा सहयोग पुग्छ, न्याय हुन्छ भनी सुझायौं,’ उनले भने। छलफलमा डा. सुबोध प्याकुरेल, बाबुराम गिरी, चरण प्रसाईं र कनकमणि दीक्षित थिए।
सादा पोशाकको मजबुत सुरक्षा घेरामा वीर अस्पतालस्थित गंगामायाको उपचार भइरहेको ७ नम्बर क्याबिनमा नुरप्रसादलाई राखिएको छ। खानपिन, बाहिर-भित्र, कसलाई भेट्ने-नभेट्ने प्रहरी निगरानीमा छन्।
यतिका समय उनी बाबुआमा भेट्न किन आएनन्? बाबु नन्दप्रसादको मृत्यु हुँदा पनि उनी आएनन्। गंगामाया अनसनमा जीवन-मृत्युको सास फेरिरहेका बेला पनि आएनन्।
२०७० सालयता सम्पर्कमा नआएका नुरप्रसादलाई माओवादीले बेपत्ता पारेको आशंका गरियो।
कृष्णप्रसादका हत्यारालाई कारबाहीसहित करोड रुपैयाँ सरकारले दिने भएपछि उनी ‘नाटकीय’ ढंगमा फेला परेका हुन् कि भन्ने आशंका पनि छन्।
तपाईं क्षतिपूर्तिको भाग खोज्दै आइपुग्नुभएको हो? भन्ने प्रश्नमा नुरप्रसादले भने-म आउन चाहेकै थिइनँ, प्रहरीले पक्रेर ल्यायो। किन ल्यायो भन्दिएको भए राम्रो हुन्थ्यो।
आफूलाई पैसा मोह नभएको नुरप्रसादको दाबी छ।
‘सम्पत्तिको लोभमा मुद्दामा नुनचुक होला, बिर्सिएलान् भन्ने सरकारले सोचेको होला, त्यो भ्रम हो,’ उनले भने।
केही समयअघि सरकारले गंगामायाको खातामा १ करोड २० लाख रूपैयाँ जम्मा गरिदिएको छ।
तर, यतिका संघर्ष गरिरहेकी गंगामायाले सरकारको यो निर्णयबारे प्रतिक्रिया दिएकी छैनन्।
‘उनले पति गुमाइसकिन्। आफ्नै ज्यानको ठेगान छैन। करोड रूपैयाँको के लोभ?,’ वीर अस्पतालमै भेटिएका नातेदार तुलाराम दाहालले भने, ‘त्यस्तो दुःख दिएर मारेका थिए, कसरी भुल्ने? यिनीहरूको सामर्थ्य छैन।’
उनका अनुसार गंगामाया-नुरप्रसादको खासै बोलचाल भएको छैन। गंगामाया तंग्रिँदै गरेकाले त्यति बोल्दिनन्। आमाले के निर्णय गर्छिन् सरोकार नभएको नुरप्रसादको भनाइ छ।
तुलारामका अनुसार नुरप्रसाद मानसिक रूपमा विक्षिप्त छन्। सोही कारण उनी बाबुआमा भेट्न नआएको हुन सक्ने उनको बुझाइ छ।
नुरप्रसाद भने ‘सुरक्षा’को कारण देखाउँछन्। २०७० सालमा बाबुराम भट्टराई प्रधानमन्त्री थिए। बाबुआमा, छोरा दबाब दिन बालुवाटार जान्थे। प्रहरी पक्रिँदै कमलपोखरी ल्याउँथ्यो, छोड्थ्यो। छुटेपछि फेरि गइहाल्थे।
यही सिलसिलामा नुरप्रसाद पक्राउ परे।
बाबुआमाले संघर्षलाई निरन्तरता दिए। सरकारले न्याय दिएन। पक्रेर हायलकायल पार्यो।
त्यसपछि बाबुले अनसन सुरू गरे।
२०७० को फागुन महिनामा नुरप्रसाद पक्राउ परे। हिसिला यमीकी स्वकीय सचिव जानुका पौडेलको जाहेरीले नुरप्रसाद केही सार्वजनिक अपराध मुद्दामा हिरासत लिइए। कसुर खुलाइएन। जिल्ला प्रशासन कार्यालयले धरौटी माग्यो। धरौटी तिर्ने रकम नभएपछि उनी कैद भुक्तानीका लागि केन्द्रीय कारागार चलान भए।
झन्डै तीन महिना जेल परे। छुट्दा अनसन चलिरहेको थियो।
न्याय माग्दै अनसन बसेको त्यो लासझैं मुढो बाबु भेट्न मनले नमानेको उनको दाबी छ।
कतिपयले भने नुरप्रसाद भाइ हत्याको ‘बदला लिने’ भन्दै जुटेको बताउँछन्। तर, नुरको त्यस्तो गतिविधि पनि पुष्टि हुन सकेको छैन।
जानुका, जसलाई कृष्णप्रसाद हत्याको मुख्य व्यक्ति किटान गरिएको छ। उनी पक्राउ परेकी छैनन्। उनैको निवेदनले नुरप्रसाद भने पक्राउ परे।
‘न्यायको लडाइँमा उनीहरू बाधक थिए, मलाई सुरक्षा थ्रेट थियो,’ नुरप्रसादले भने, ‘जहाँ जेसुकै हुने त्रासमा म बाँच्नुपर्ने अवस्था आयो, छविलाल पौडेलले त अदालतबाट छुटेको पाँच मिनेटमै मारिदिन्छु भनेका थिए।’
त्यसैले पनि आफू स्वतन्त्र तरिकाले जिउन खोजेको नुरप्रसाद बताउँछन्। नुरप्रसाद ‘असुरक्षित’ हुनुको अर्को कारण उनी मुद्दाको निवेदक हुन्। निवेदन माओवादीको घाँटीमा पासो लागेको थियो। अहिले माओवादी-एमाले एक भएर बनेको नेपाल कम्युनिस्ट पार्टी र उसको सरकारलाई पनि त्यस्तै छ। गंगामाया अनसन बस्छिन्। थेग्न नसक्ने दबाब सिर्जना गराउँछिन्।
नुरप्रसाद यसबीचमा आफू परिवारको सम्पर्कमा मात्र नआएको बताउँछन्। अड्डा, अदालत, प्रहरी, प्रशासन जता पनि आफू जाने-आउने गरेको बताउँछन्। आफूलाई ‘बेपत्ता’ भनिएकोमा उनको आपत्ति छ।
प्रहरीले समातेसँगै आफू बिथोलिएको उनी बताउँछन्। ‘सोच्न सकेको छैन अब के गर्ने? तर, पूरानै कामलाई निरन्तरता दिने सोच छ,’ उनी भन्छन्।
गंगामाया सुन्निएकी छिन्। शरीरमा शक्ति छैन।
लास बुझ्ने/नबुझ्ने निर्णय लिइसकेकी छैनन्। सरकारले पैसाको प्रलोभन देखाएर लास बुझाउन खोजेको हो कि, शंका उनको छ। यहीबेला हराएको छोरासँग भेट भएको छ। तर, आमा-छोराबीच यसबारे संवाद भएको छैन। न्याय नपाएसम्म लास नबुझ्ने अडानमा दुबै जना छन्।
‘यिनीहरूले सबैथोक गुमाइसकेका छन्, घरबार सब त्यागेका छन्, घर-खेत जंगल भइसकेको छ,’ आफन्त तुलाराम भन्छन्, ‘यही वीरमा गंगामायाको प्राण जान सक्छ।’
नुरप्रसादका भाइ कृष्णप्रसादले २०६१ सालमा एसएलसी दिएका थिए। भैरव आश्रम माविमा पढ्थे। कक्षा १० पढ्दै नेपाल विद्यार्थी संघको इकाइ सभापति थिए।
जानुका सोही ठाउँकी थिइन्। उनकै नेतृत्वमा ‘सैन्य कारबाही’ र चन्दा असुली तीव्र पारिएको थियो।
एसएलसी सकाएर चितवनमा हजुरबुबा र हजुरआमा भेट्न हिँडेका कृष्णलाई २०६१ जेठ २४ गते माओवादीले हत्या गरेका थिए। माओवादीले हातमा साङ्ली कसेर मोटरसाइकलमा घिस्याएका थिए। घिस्याउँदा नमरेपछि गोली हानी हत्या गरेका थिए।
त्यो समूहमा ‘सैन्य कारबाही’ चलाउने जानुकाकै प्रमुख संलग्नता किटान गरी मुद्दा अभियोजन भएको छ।
कृष्णलाई मार्नुपर्ने खास कारण खुलेको छैन। नन्दप्रसादसँग ‘इबी’ थियो भन्ने गरिन्छ। अर्को, राजनीतिक आस्था। कृष्ण कांग्रेस थिए। इतर आस्था–विचारका मान्छे ‘सैन्य कारबाही’को निशानामा थिए।
पैसा नदिनेलाई मारिहाल्थे माओवादीले। यामप्रसाद ढकाल, रामजी तिवारी, जीवनकुमार श्रेष्ठलाई पैसा नदिएकै निहुँमा मारेको दाबी नुरप्रसादको छ।
कृष्ण हत्यामा जानुका पौडेल, छविलाल पौडेल, सीता अधिकारी, अजीव पौडेल, भीमसेन पौडेल, रामप्रसाद अधिकारी (क र ख), मेघनाथ पौडेल, सुभद्रा तिवारी, विष्णु अधिकारी रुद्र आचार्य र कालीप्रसाद अधिकारीमाथि अभियोग छ। कतिपय पक्राउ परिकन छुटिसकेका छन्। मुख्य अभियोगी जानुका हिसिला, बाबुरामको संरक्षणमा बसिन्। पक्राउ परिनन्।