एक वर्षको अवधिमा लुम्बिनी अञ्चल अस्पताल बुटवलमा आएका सर्पदंशका १२ जना व्यक्तिको मृत्यु भएको छ।
सर्पले डसेर उपचारका लागि आएका १२ जनाको उपचारको क्रममा मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ।
अस्पतालमा एक वर्षको अवधिमा सर्पले टोकेका १ हजार १ सय ३ जनाले उपचार गराएका छन्। तीमध्ये १ सय ६५ जनालाई विषालु सर्पले डसेको पाइएको अस्पतालका मेडिकल रेकर्डर अधिकृत लक्ष्मीराज रेग्मीले जानकारी दिए।
अघिल्लो वर्षको साउनदेखि गत असारसम्म उक्त संख्यामा सर्पले डसेका बिरामी आएको उनले बताए। सर्पदंशमा परी मृत्यु हुनेमा अधिकांश ग्रामिण क्षेत्रका विपन्न वर्गका रहेका छन्।
तराई क्षेत्रमा खेतबारी, गोठ, परालको टौवा, झाडी तथा माटो तथा फुसको घर भएका स्थानमा समेत सर्पले बासस्थान बनाउने भएकोले सर्पले डस्नेमा धेरैजसो किसान एवं ग्रामीण क्षेत्रका विपन्न वर्गका व्यक्ति पर्ने गरेका छन्।
नेपालमा ८० प्रजातिका सर्प पाइने भए पनि त्यसमा २१ प्रजातिका मात्र विषालु सर्प हुने गरेको सर्प विज्ञ एवं अनुसन्धानकर्ता कमल देवकोटाले बताए। धेरैजसो सर्प विषालु नहुने भएकाले सर्प देख्ने बित्तिकै आत्तिनु नपर्ने उनको भनाइ छ।
सर्पलाई जिस्काउने र चलाउने नगरेमा मानिसलाई नडस्ने उनले बताए। अहिलेको सिजनमा तराईका जिल्लामा गोमन र करेत सर्पबाट बच्नुपर्ने उनको सुझाव छ।